काठमाडौं । नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन)बाट हुने गरेको अध्ययनले देखाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानविन समितिले मृत्युदरका तीन कारणमध्ये विमान बादलभित्र छिरेर पहाडमा ठोक्किएर हुने सबैभन्दा बढी रहेको तथ्य औंल्याएको हो ।
विमान बादल भित्रछिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन)बाट हुने दुर्घटनाको मृत्युदर ७७ प्रतिशत छ ।
यस्तै, चालकले विमान उडानको क्रममा विभिन्न कारणले सन्तुलन गुमाएर हुने दुर्घटना (लस अफ कन्ट्रोल इन फ्लाइट) मा २० प्रतिशत र उडान वा अवतरणको समयमा रहेको विमान धावन मार्गबाट चिप्लिएर (रन–वे एक्सकर्सन)मा हुने ३ मृत्यु प्रतिशत औंल्याइएको छ ।
सन् २०११ देखि २०२० सम्ममा भएका ३५ वटा दुर्घटनामध्ये १९ वटा दुर्घटना घातक भएकोमा १३५ जनाको मृत्यु भएको छ ।
१० वर्षमा भएका दुर्घटनाको प्रकृतिलाई अध्ययन गर्दा धावन मार्गबाट बाहिर गएर ५० प्रतिशत तथा नियन्त्रित वायुयान पहाडमा ठोक्किएर हुने दुर्घटना ३३ प्रतिशत रहेको छ । उदाउड्दै नियन्त्रण गुमाएर (लस अफ कन्ट्रोल इन फ्लाइट) १७ प्रतिशत रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।