• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने बृटिश रक्षामन्त्रीको भनाई

जेष्ठ २९ २०७९, आईतवार

बृटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेका विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाल बेलायतको भ्रमणमा रहनुभएका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि बृटिश रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् ।शनिबार उनिहरुबीच भएको भेटकाक्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।

अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बृटिश रक्षामन्त्री वालेसले जानकारी दिएका हुन् ।अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका हुन् ।

युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बृटिश रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका हुन् । त्यस भ्रमणका क्रममा बृटिश प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १।६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।