• मंसिर ७ २०८१, शुक्रबार

यी हुन् आफैसँग विवाह गर्ने स्वप्रेमी क्षमा बिन्दु !

जेष्ठ २९ २०७९, आईतवार

भारत गुजरातकी एक कन्याले आफैंसँग विवाह गरेकी छन् । २४ वर्षीया क्षमा बिन्दुले आफैंसँग रीतिरिवाजपूर्वक विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातको बडोदरास्थित आफ्नै घरमा बुधबार साँझ ‘हल्दी र मेहन्दी’को रीतिरिवाजका साथ उनको विवाह भएको हो । यसअघि जुन ११ मा आफैंसँग विवाह गर्ने योजना उनले बनाएकी थिइन् । तर विवाद आउने सक्ने भएकाले उनले तीन दिनपहिला विवाह गरेकी हुन् ।

भविष्यमा कोही मन पर्‍यो भने जीवनसाथी बनाउनुहुन्छ भन्ने प्रश्नमा उनले आफू कसैकी पत्नी भएर रहन नसक्ने बताइन् । उनको विवाहमा कुनै पण्डितको उपस्थिति थिएन, निश्चित आफन्तजन मात्र थिए ।

विवाह उत्सवमा ब्लुटुथ स्पिकरबाट विवाहमा पढिने मन्त्र बजाइएको थियो । उनी आफैंले वरमाला, सिन्दूर र मंगलसूत्र लगाएकी थिइन् । उनी एक्लै विवाहमण्डपको हवनकुण्डमा सातपटक घुमेकी थिइन् ।

विवाहको कार्यक्रम सकिएपछि उनले आफूले आफैंसँग विवाह गरेको सञ्चारमाध्यमलाई बताएकी थिइन् । उनले पुरुषसँग विवाह गर्न नचाहेको तर बेहुली बन्ने इच्छा भएकाले आफैंसँग यस्तो कर्म गरेको बताएकी छन् । यो समाचार नागरिक दैनिकमा छ ।