• मंसिर १४ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवालाई स्यानिटरी प्याड उत्पादक संघको ज्ञापनपत्र

जेष्ठ २८ २०७९, शनिबार

काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेशी उद्योगलाई धराशयी हुनबाट बचाउनको लागि उचित कदम चाल्न नेपाल स्यानिटरी प्याड उत्पादक संघले आग्रह गरेको छ ।

आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  पुगेर संघका पदाधिकारीले प्रधानमन्त्री देउवासमक्ष यस्तो आग्रह गरेका हुन् ।

भर्खरै सार्वजनिक भएको बजेटमार्फत विदेशबाट आयात हुने स्यानिटरी प्याडमा भारी मात्रामा छुट दिने घोषणा गरिएपछि स्वदेशी उत्पादन उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै   आफूहरुको लगानीको पनि जोखिम बढेको यसको लागि तत्काल सरकारले आफ्नो निर्णयमा पूनरावलोकन गरोस भन्ने संघको चाहना रहेको बताएको छ ।

स्वदेशी स्यानिटरी प्याड उद्योगको अरबौं लगानी डुब्न नदिन र सरकार स्वदेशी उद्योगको संरक्षणमा प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न साविककै व्यवस्था कायम गर्नेतर्फ पहल गरिदिन पनि उनीहरुले प्रधानमन्त्री देउवासमक्ष अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवासमक्ष उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ–‘सरकारले तीन वर्षअघिको बजेटमार्फत सामूदायिक विद्यालयहरुमा निःशुल्क स्यानटरी प्याड वितरण गर्ने नीति लिएपछि यस उद्योगमा लगानी गर्न स्वदेशी लगानीकर्ता उत्साहित भएका थिए । गत वर्षको बजेटमार्फत स्यानिटरी प्याड उत्पादन गर्ने नयाँ उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने घोषणा भयो । यी दुवै कदमले लगानीकर्तामाँझ सकारात्मक सन्देश प्रवाह गरेको थियो । सरकारले लगानीकर्तामाँझ उत्साहजनक र सकारात्मक सन्देश प्रवाह गरेको एक वर्ष पनि बित्न नपाउँदै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई गम्भीर धक्का लाग्ने किसिमको निर्णय गर्दा सरकारी नीतिहरु कहिल्यै स्थिर नहुने सन्देश प्रवाह हुन्छ । त्यसले त अल्पकाललाई मात्र नभएर दीर्घकालसम्म लगानीको वातावरण बिगार्ने काम गर्छ ।’

संघका अध्यक्ष डोलराज अधिकारी र पदाधिकारी सूर्य बहादुर थापाको नेतृत्वमा गएको टोलीले आज अपरान्ह प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेर सो ज्ञापनपत्र बुझाएको थियो  ।