• फाल्गुन २६ २०८२, मंगलवार

ट्रम्प-किम वार्ताको मध्यस्तकर्ता हुइ बनिन् कोरियाको विदेशमन्त्री

जेष्ठ २८ २०७९, शनिबार

पोङ्याङ । उत्तर कोरियामा पहिलोपटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बन्ने मौका पाएकी हुन् ।

यसअघि, उपविदेशमन्त्रीका रूपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेको अधिकारीहरूले जनाएका छन् । कूटनीतिक सेवावाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अंग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले भनेकी थिइन्, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।”

अरू देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेवारी उनले प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ ।

उत्तर कोरिया र अमेरिका बिचमा तनाव रहिआएको छ । उत्तर कोरियामा अभ्यासमा रहेको समाजवादी राज्य तथा अर्थ प्रणालीलाई अमेरिकाले निरंकुशका आरोप लगाउँदै आएको छ भने आफूहरु आत्मािर्भरताको बाटोमा अघि बढिरहेको भन्दै कोरियाले अमेरिकालाई साम्राज्यवादीको आरोप लगाउँदै आएको छ ।