• मंसिर ७ २०८१, शुक्रबार

बजार भाउ छुन नसक्ने गरी वृद्धि, सरकार निरीह, गरिबलाई चुल्हो बाल्नै धौँ-धौँ !

जेष्ठ २८ २०७९, शनिबार

काठमाडौँ । बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ । महँगी बढ्दा उपभोक्ता मारमा परेका छन् । दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका गरिब परिवारलाई भान्सा चलाउन सकस भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ ।

यो पोहोरको भन्दा शतप्रतिशत बढी हो । गत वर्षको वैशाखमा ३.६५ प्रतिशत रहेको मुद्रास्फीति बढेर यो वर्षको वैशाखमा ७.८७ प्रतिशत पुगेको छ ।

युक्रेन–रुस युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलर सटही दरमा वृद्धिलगायत कारणले बजारमा महँगी बढेको हो । खाने तेल, चामल, दाल, मासु, डिजेल, पेट्रोल, निर्माण सामग्री लगायत सबै क्षेत्रमा मूल्य बढेको छ ।

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको मारमा उपभोक्ता छन् । विशेषगरी विद्यार्थी, निम्न आय भएका परिवार र दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न कठिन भएको छ ।

मूल्यवृद्धिले गरिबलाई दैनिक व्यवहार चलाउन हम्मे परेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । ‘बजारमा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढेको छ,’ उनले भने, ‘महँगी बढ्दा विपन्न परिवार थप समस्यामा परेका छन् ।’

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशतले बढेको छ भने सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ, तेल, फलफूल, दुग्ध पदार्थ, अन्डा, दाल, गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत छ । यो समाचार नागरिक दैनिकमा छ ।