• असार १५ २०८१, शुक्रबार

सेनिटरी प्याडको मूल्य वृद्धि, विदेशी प्याड ल्याउने तयारी, स्वदेशी उद्योग र उपभोक्ता मर्कामा

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छुट दिएपछि राज्य, स्वदेशी उद्योग र उपभोक्ता उल्टो मर्कामा परेका छन् ।

विदेशबाट तयारी अवस्थामा आउने प्याडको भन्सारमा ९० प्रतिशत सहुलियत दिँदा राजस्व स्वतः कम हुने भएको छ भने अर्कोतिर कच्चा पदार्थमा भन्सार यथावत् राखिएकाले स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ ।

त्यसमाथि तयारी प्याडको भन्सार १५ प्रतिशतबाट १.५ प्रतिशतमा झारिएको दुई साता नपुग्दै सबैजसो विदेशी प्याडको मूल्य झन् बढेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करिब २० दिन बजारमा प्याडकै अभाव भएको औषधि पसलका सञ्चालकहरू बताउँछन् ।

खासमा भन्सारमा सहुलियत दिने घोषणा हुँदै छ भन्ने सूचना पाएपछि प्याडको आयात नै रोकिएको उनीहरूको भनाइ छ । तर, बजेट प्रस्तुत भएपछि एकाएक बजार मूल्य बढाइएको छ । ‘पहिले २० दिनजति प्याड अभाव भयो । अहिले ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म बढेर आएको छ ।

प्याडमा अधिकतम खुद्रा मूल्य ९एमआरपी० तोकिएको छैन, त्यसैले मूल्य बढाएर बेच्न गाह्रो भएको छ,’ शंखमूलस्थित डायमन्ड फार्मेसीकी रोजिना सुवाल भन्छिन्, ‘प्रतिप्याकेट १४० रुपैयाँ पर्ने स्टेफ्री १५२ पुगेको छ ।

सोफी ब्रान्डको एन्टिब्याक्टिरियल प्याडको मूल्य ५ रुपैयाँ बढेर आएको छ । ७० रुपैयाँमा पाइने ह्विस्पर (नर्मल) अहिले ७८ रुपैयाँ पुगेको छ ।’

भारतीय ब्रान्डका ह्विस्पर, स्टेफ्री र सोफी नेपालमा धेरै बिक्री हुने सेनिटरी प्याड हुन् । नाइन, कम्फी, केयरफ्रीलगायत भारतीय ब्रान्ड पनि नेपालमा पाइन्छन् ।

त्यसो त भारतबाहेक चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकीलगायत मुलुकबाट पनि प्याड आयात हुन्छ ।

संसद्मा बजेट प्रस्तुत हुनुअघिसम्म तयारी प्याड, त्यसको कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लाग्ने गरेको थियो ।

स्वास्थ्यसँग जोडिएको अत्यावश्यकीय सामग्री भएकाले विलासिताको सामग्री मानेर लगाइएको कर खारेज गर्न माग गर्दै गत असोजमा महिलाहरूले आन्दोलन गरेका थिए ।

‘रातो कर माफ गर’ भन्ने ब्यानरमा भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले भन्सार महसुलको ९० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।