• मंसिर १० २०८१, सोमबार

बल्ल भयो भेट, छाङ्गरुमा फोरजी आयो तिङ्कर एनटिसेट

जेष्ठ २६ २०७९, बिहीबार

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तिमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर र चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएपछि सुदुर पश्चिमका सुदूर गाउँहरु पनि नेपालको सञ्चार सम्पर्कमा आएका छन् । यसको खुशीयालीमा स्थानीय गीत पनि बनिसकेको छ, ‘बल्ल भयो भेट, छाङ्गरुमा फोरजी आयो तिङ्कर एनटिसेट ।’

आफ्नै देशको सञ्चार सम्बन्धबाट सुदूर रहेको व्यासको तिङ्कर गाउँमा सशस्त्र प्रहरी र स्थानीयवासीका लागि भन्दै भिसेट एनटिसेट जडान गरिएको छ । त्यहाँका स्थानीय जनताले बल्ल राज्यको उपस्थितिको महसुस गरिरहेका छन् ।

स्काई फोन सञ्चालनमा आएसँगै अब छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको प्रक्रिया सुरु हुन थालेको छ । सामरिक महत्वको स्थान हुँदा हुँदै पनि तदनुरुपको व्यवस्था हुन नसकेको छाङ्गरु र तिङ्कर अब घरेलु सञ्चारको पकडमा आएका छन् ।

त्यहाँ सशस्त्र प्रहरी बल नेपाल ५० नम्बरको गुल्म कार्यरत छ । तिङ्कर गाउँमा अहिले ल्यान्डलाइन सञ्चालनमा छ । त्यहाँ ९९४९३००५० र ९९४९३००५१ नम्बर सञ्चालनमा ल्याइएको छ । यस अघि फोन सेवाबाट बञ्चित भएका स्थानीय अहिले हर्षित छन् ।

स्थानीयको आशा छ, छाङ्गरु र तिङ्करमा फोन सुविधा भएपछि अब कालापानी, कुटी, गुञ्जी र नाभी लगायतका गाउँ तथा क्षेत्रहरुमा पनि स्थानीयवासीबीच सम्पर्क हुने छ ।

हाल टावर जडान गरिएको ज्याक्ति डाँडाबाट कालापानी, गुञ्जी, कुटी, नाभीका गाउँ र बस्तीहरु छर्लङ्ग देख्न सकिन्छ ।