बलात्कार र यौन हिंसाका घटनाहरू आदिकालदेखि नै, जुनबेला फिल्म तथा इन्टरनेटजस्ता माध्यमहरू थिएनन् । तर हरेक समाज र संस्कृतिमा यस्ता घटनाहरु घट्दै आएको देखिन्छ ।
तर प्राचीन समयमा भन्दा आधुनिक कालमा यस्ता घटनाहरू निकै बढ्दै गएका छन् । अतः बलात्कारका घटनाहरू यसरी बढ्नुका पछाडि स्वयम् हाम्रो समाज पनि दोषी छ ।
थुप्रै सामाजशास्त्रीहरूले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाज, जहाँ महिलामाथि डरधाक देखाउने तथा महिलालाई अनादर गर्ने गरिन्छ, को लक्षण पनि हो भनेका छन् ।
अर्को कुरा, हाम्रो जस्तो समाजले यस्ता घटनाहरूलाई लुकाउन छिपाउन नै ठीक ठान्छ । यसरी बलात्कार तथा यौनहिंसाका घटनाहरूलाई लुकाउने छिपाउने दबाउने प्रवृत्तिका कारण एकातिर बलात्कारीको मनोबल बढ्ने गर्छ भने अर्कोतिर बलात्कारको आघातले पीडितलाई आँसु पिएर आतंकित जीवन बाँच्नु पर्ने हुन्छ ।
कतिपय पीडितमा यस्तो आतंक यति भयवाह हुन्छ कि यसले गम्भीर मानसिक समस्या पैदा हुन्छ । कतिपयले त पीडा सहन नसकेर आत्महत्या नै गर्छन् ।
बलात्कार किन हुन्छ ?
बलात्कारका अनेक कारणहरू हुन्छन् । तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरणले पनि बलात्कारीलाई बलात्कारका लागि उत्प्रेरित गर्ने गर्छ । अध्ययन भन्दछ, ‘पोर्नोग्राफी’ हेर्ने व्यक्तिको मस्तिष्क बढी ‘अब्सेसिव’ हुनुको साथै मन कामुक हुनेगर्छ ।
अधिकांश यस्ता व्यक्तिहरूमा पोर्न भिडियोमा झैं यौनक्रिया गर्ने लालसा पैदा हुन्छ । अनि जब अनुकूल वातावरण पैदा हुन्छ, यस्ता व्यक्तिहरू बलात्कार गर्न पनि पछि पर्दैनन् ।
मनौवैज्ञानिक दृष्टिमा पुरूषमा हुने पुरूषत्वको अहम् तथा महिलालाई यौन सन्तुष्टिको साधन मान्नु पनि बलात्कारको एक प्रमुख कारण हो ।
यस कुरामा जोड दिँदै महिलावादी लेखिका सुशन ब्राउनमिलरले भनेकी छिन्,‘बलात्कार कामुकता (लस्ट) का कारणले होइन कि नियन्त्रण र प्रभुत्वको मनोविज्ञानबाट प्रेरित हुन्छ ।’
बलात्कार एक समान्य घटना होइन । किनभने बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा समेत गहिरो चोट परेको हुन्छ ।
यस्ता महिलाहरूले लोकलाज, अपमानित, भ्रम, भयत्रास, तनाव, क्रोध तथा बदलाको अनुभव गर्छन् । यस्ता लक्षणहरू एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म पनि देखा पर्न सक्छन् ।
तर धेरै बलात्कृत महिला ‘पीटीएसडी’को शिकार बन्न पुग्छन् भने कतिपयले आत्महत्या गर्छन् । मेरो इज्जत लुटियो अब सबै खतम भयो भन्ने मानसिकता हाम्रो समाजले नै सिकाएको हो र यस्तो मनस्थिति सिर्जना गर्न फिल्महरूको पनि प्रभाव छ ।
बलात्कार समाजिक तथा कानुनी रूपमा पनि एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् ।
कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्ड समेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेल सजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने पिट्ने तथा यदाकदा समाजिक रूपमा पनि बहिष्कार गर्ने गरिन्छ ।
हो, कठोर दण्डसजायले केही हदसम्म भए पनि बलात्कारका घटनाहरूमा न्यूनीकरण गर्न सक्षम देखिन्छ । तर कठोर सजाय मात्र बलात्कार रोक्ने उपाय भने होइन ।
न त कुनै देश पोर्न, अश्लिल साहित्य तथा सिनेमा पूर्णतया प्रतिबन्ध गर्न सफल हुन सक्दछ, न त प्रतिबन्ध तथा कडा ‘सेन्सरसिप’ नै यसको समाधान हो ।
बलात्कारजस्तो क्रूर हिंसा प्रायः यौनिकताबाट प्रेरित हुन्छ, त्यसैले यसलाई जीव विज्ञान तथा मनोविज्ञानका स्तरबाट बुझ्न र बुझाउन आवश्यक छ ।
यौन इच्छा, यौन सम्र्पक तथा प्रजननलाई जब वैज्ञानिक तरिकाले बुझ्ने र बुझाउने प्रयास हुन्छ, तबमात्र यौनको रहस्यात्मकता, कौतुहुलता तथा यससँग जोडिएको आक्रामकताको समन हुनसक्दछ ।
इन्टरनेट तथा सोसल मिडियाको विवेकपूर्ण तथा सुरक्षित ढंगबाट उपयोग गर्न सिक्नु र सिकाउनु पनि एक महत्वपूर्ण कडी हो ।
कतिपय चिकित्सक, प्रहरी, वकिल तथा न्यायाधीशहरूको संवेदनहीन रवैया र सहानुभूतिको अभावका कारण बलात्कृतले न्याय नपाउने स्थिति समेत पैदा हुन्छ । यही कारणले कतिपय बलात्कार पीडितहरूले आफ्नो रिपोर्ट फिर्ता लिन्छन्, कतिपयले त रिपोर्ट नै गर्दैनन् ।
वास्तवमा यो अहिंसा, करूणा, सहानुभूति (इम्प्याथी) तथा मानवीय गरिमाप्रति सम्मानको भावना विकसित गर्ने एक महान समाजिक तथा सभ्यतामूलक चुनौती हो ।
बलात्कारका घटनाहरूमा प्रायः पुरूष नै विशेष रूपले अपराधी देखिन्छन् । त्यो किनभने समाजका घटेका अधिकांश बलात्कारका घटनाहरू पुरूषहरूद्वारा नै गरिएको देखिन्छ ।
त्यसैले यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबै भन्दा पहिला पुरूषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरूरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महत्वपूर्ण हुन्छ ।
महिलाहरू पनि बलात्कारप्रति सचेत हुने, यसबाट बच्ने उपायहरू अवलम्बन गर्ने तथा आफू यौन दुव्र्यवहार र यौन शोषणबाट पीडित भएको खण्डमा सम्बन्धित निकायहरूमा उजुरी गर्ने साहस देखाउने र जनमानसहरूले समाजमा प्रेम, आदर र सहानुभूतिको वातावरण सिर्जना गर्ने हो भने घर बाहिर होस् वा घरभित्र होस्, बलात्कारका घटनाहरूमा धेरै कमी आउने पक्का छ ।
हो, प्रेम, आदर, सहानुभूति सिक्ने÷सिकाउने तथा सिर्जना गर्ने सभ्यताको बाटो निश्चितरूपमा बहुत गाह्रो र लामो छ, तर असम्भव चाहीँ छैन ।