• आश्विन १३ २०८१, आईतवार

एक मानिस बराबर १२ गोब्रे सल्ला

जेष्ठ २४ २०७९, मंगलवार

विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमीन रूखविहिन हुने गरेको छ । वातावरण असन्तुलनको यो एक ज्वलन्त उदाहरण हो । एउटा मनुष्यलाई प्राणवायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्दछ ।

त्यसैगरी हुर्किएका एक सय वर्षका भोजपत्रले करीव आठ सय घरपरिवारको एक वर्षका लागि आवश्यक पर्ने हावालाई शुद्ध पार्ने काम गर्दछन् । यसका साथै एक स्वस्थ भोजपत्रको रूखले सात हजार जीवात्मालाई वासस्थान उपलब्ध गराउँछ ।

त्यसै गरी अनुसन्धानबाट थाहा भए अनुसार वायु मण्डलमा भएको करीव २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि छ वटा रूखको जरूरत पर्दछ ।

एउटा स्वस्थ मानिस दिनको २२ सय पटक सास फेर्छ । यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व भनेको मानिसले लिएको भोजनको मात्रा भन्दा झण्डै २० गुणा बढ्ता हुन जान्छ । एक वृक्षले सरदर २.७ किलोग्राम प्राणवायु वायुमण्डलमा फ्याक्ने गर्छ ।

प्रतिवर्ष मानिसबाट ८० लाखदेखि २ करोड हेक्टर जङ्गलको विनाश हुँदै आएको छ । त्यसबाट १३० प्रजातिका जङ्गली चराहरू लोप भइसकेका छन् ।

स्तनधारी जन्तुहरू पनि तीव्र सङ्कटको अवस्थामा छन् । १० प्रतिशत फूल फूल्ने जातका रूखहरू वर्षेनी बग्दै र नष्टहुँदै गएका छन् ।

माटोको विशिष्ट इतिहास सकिन थालेको छ । मरूभूमिकरण बढ्दो छ । प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरूमूमीकरण हुँदै गएको छ ।

यिनी तथ्यहरुले केही वर्ष भित्रमा नै वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्शा नै बदलिन सक्ने सङ्केत मिलेको छ ।

अर्कोतिर सांसारिक सुखभोग वर्तमानमा मानिसको केन्द्र बन्न गएको छ । हाम्रा भावी सन्ततिले समेत समान रूपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हुँदैन भन्ने कुरामा जोड दिइए पनि मानिसको मतिभ्रममा सुधार आएको छैन ।

भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरू विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिरहेको छ ।