मनसुन आइसक्यो । वर्षा सुरु भइसक्यो । खोलानाला र नदीहरूमा जलको सतह माथि आउँदै गएपछि कुला र नहरहरू भरिभराउ हुन थालिसके ।
किसानले राखेका धानका ब्याडमा बिउ हलक्क बढेर रोपाइँ गर्ने बेला हुन थालिसक्यो । तर सरकारले कृषकलाई एक किलो रासायनिक मल पनि उपलब्ध गराउन सकिरहेको छैन ।
मनसुन सुरु भएपछि असार–श्रावण महिनामा नेपालको धान खेती गरिने कूल क्षेत्रफलको ८० प्रतिशत क्षेत्रमा धान रोपाइ गरिन्छ । असार लाग्न एक हप्ता पनि बाँकी छैन, तर किसानले धान खेतीका लागि कतै पनि मल पाउन सकिरहेका छैनन् ।
उता मकै खेती पनि घोगा लगाउने बेला भैसक्यो, तर मकैको बोटबोटमा छर्नका लागि पनि रासायनिक मल पनि छैन । रासायनिक मलको अभावका कारण यस वर्ष धान खेती भित्र्याउन नपाइने भयो भनेर किसान चिन्तित छन् ।
प्रमुख खेती धानको सिजन सुरू भइसकेको छ । खेतमा पानी जलाम्य हुन थालिसकेको छ । खेत जोतबाह गर्नका लागि समय आइसकेको छ । तर खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको हाहाकार छ ।
किसान खेतबारीमा काम गर्नुको सट्टा हातमा हलो, जुवा, कुटो, कोदाली र लाठी लिएर सडक प्रदर्शनमा उत्रिन थालेका छन् । तर मन्त्रालयभित्र गमलामा धान रोप्ने मन्त्री तथा कर्मचारीहरू भने यस कुराको सुइँकोसम्म नपाएको बहाना गर्दै मन्त्रालयको चार दिवारभित्र हाइ काढ्दै दिन बिताइरहेका छन् ।
सरकार सिंहदरवारको गेटभित्र छ । सरकार प्रदेश सिंहदरवारको गेटभित्र छ । सरकार स्थानीय सिंहदरवारको कोठामा छ । तहतहका सरकारका कृषि मन्त्रीहरु हरिया ग्लास राखिएका चस्मा लगाएर सिसाको झ्यालबाट बाहिर चियाइरहेका छन् ।
बारीमा मकै पसाउन थालिसकेका छन्, धानका ब्याडमा धानका बिऊ आली नाघेर धेरै माथि आइसकेका छन् । तर न त बजारमा रासायनिक मल छ, न त कृषि ज्ञान केन्द्रमा ? हुन पनि ज्ञानकेन्द्रबाट त ज्ञान मात्र लिने हो । काम गर्ने बजारबाटै हो ।
दुर्भाग्य ! बजारमा पनि रासायनिक मल छैन । मलका दुकान बन्द छन् । काठमाडौं उपत्यकाभित्र समेत किसानहरू हातहातमा धानको बिउका मुठा लिएर सडक प्रदर्शन गरिरहेका छन् । धन्य, कृषिप्रधान देशका शासक र प्रशासकहरु !
नेपालको सबैभन्दा ठूलो खेतीका रूपमा रहेको धान खेतीमा रासायनिक मल प्रयोग गर्न पाइएन भने यो वर्ष धानखेती उत्पादनमा निकै ठूलो ह्रास आउने छ । सरकारले भर्खरै वार्षिक बजेट ल्याएको छ, ‘मलको अभाव हुन नदिने’ आश्वासनको गन्ध मिसाएर ।
रोपाइँको चिन्ता एकातिर छ, अर्कोतिर कृषि सामग्री कम्पनीको कार्यालयमा जनताको दैनिक धर्ना र नाराबाजी जारी छ । त्यसैले सरकार किसानलाई धान खेती गर्नका लागि रासायनिक मल उपलब्ध गराइदेऊ । मलको मूल्य सदा झैँ जनजताले तिर्न तयार छन् ।