• मंसिर ७ २०८१, शुक्रबार

उपत्यकाको चोकचोक पेट्रोलपम्प, विष्फोटको उच्च जोखिममा

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौै । आइतबार टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट भयो । सडकसँगै जोडिएको सो प्रेट्रोलपम्प विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए ।

घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह छन् । प्रहरीका अनुसार जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा उक्त विष्फोट भएको हो । यसअघि पनि २०७३ भदौ ९ गते बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा विद्युत् सर्ट भई आगलागी हुँदा तीन कामदार, प्रहरी र गाडी चालक घाइते भएका थिए। २०७४ असारमा लोकन्थलीको सिद्धार्थ पेट्रोल पम्पमा आगलागी हुँदा चारजना घाइते भएका थिए। आगलागीका कारण ठूलो मात्रामा सम्पत्ति क्षति भएको थियो।

यि त एक उदाहरण मात्रै हो । उपत्यका यि बाहेक अन्य धेरै पेट्रोलपम्प सडकसँग जोडेर राखिएको छ । जो न मापदण्डमा छन् न त कुनै सुरक्षाका उपायहरु । यस्तै सडकसँग जोडिएको काठमाडौंको बालाजुचोकबाट सोह्रखुट्टेतर्फ केही मिटर हिँडेपछि कोतःधुकु आयल स्टोर्स छ । यो पेट्रोल पम्प सडकसँगै जोडिएको छ । यो पेट्रोल पम्पको ट्याङ्की भने चार तले घरको भूइ तलामा छ । पेट्रोल नजिकै छ इलेक्ट्रोनिक पसल । जुन सुकै बेला पनि यो पेट्रोल पम्पले खतराको घण्टी बजाइरहेको हुन्छ । तर पनि पेट्रोल पम्पका कामदार सतर्क भएर पेट्रोल हालिरहेका भेटिन्छन् । तेल चुहिएर भुँइ चिसो हुदाँ समेत सुरक्षा सतर्कता देखिदैन । यदि कुनै पनि बेला आगलागी भए विष्फोट भए ति क्षेत्रमा धेरै घर जोखिममा पर्न सक्ने छन् ।

नेपाल आयल निगमकोे आधिकारिक बिक्रेताको बोर्ड झुन्ड्याएर सडकमा अति प्रज्वलनशील पदार्थ बिक्री गरिरहेको यो पम्पको आफ्नो ‘कम्पाउन्ड’ छैन। यसको अर्थ, यहाँ पेट्रोलियम पदार्थ कारोबार गर्दा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधार र सुरक्षा प्रबन्ध केही छैन । ६० लाख नागरिक बसोबास गर्ने उपत्यकामा धेरै जस्तो पेट्रोल पम्प घर र सडक पेटीमै जोडिएर बनेका छन् । जहाँ घनाबस्ती छ । पेट्रोलपम्पले नजिकैकै बस्तिमा खतराको घण्टी त बजाइरहेको छ नै बाटोमा हिड्ने पैदल यात्री समेत त्यसको जोखिममा छन् । किन कि कुनै पनि बेला बिष्फोट हुने खतरा छ ।

कोत: धकु आयल स्टोर्सलाई नेपाल आयल निगमले बन्द गर्नका लागि पटक पटक निर्देशन नै दिएको थियो तर सर्वोच्चबाट आदेश लिएर अहिले सो पेट्रोल पम्प चलिरहेको छ । आयल निगमले आदेश दिएपछि पम्प सञ्चालक उत्तमदास मानन्धरले आफ्नो जग्गा सरकारले अतिक्रमण गरेको भन्दै मुद्दा हालेपछि सर्वोच्चले ‘तत्काल पेट्रोल पम्प नहटाउन’ आदेश दिएपछि निगम निरिह बनेको हो ।

कोतःधुकु आयल स्टोर्सको ठीक पल्लोपट्टि छ– चक्रपथ फ्युल सेन्टर। नेपाल आयल निगमका अनुसार, कोतःधुकु आयल स्टोर्सभन्दा चार वर्षपछि २०४७ सालमा रामनाथ डंगोलले सडक किनाराबाट केही भित्र ‘फ्युल डिस्पेन्सर’ राखेर ‘चक्रपथ फ्युल सेन्टर’ सञ्चालनमा ल्याएका हुन्। यो पम्प पनि सडककै छेउमा आइपुगेको छ । सँगै छ ठूलो घनाबस्ती । विष्फोट भए जोखिम उत्तिकै छ । व्यस्त टेकु–कालीमाटी सडकअन्तर्गत टेकु नजिकैको कनक ट्रेड कन्सर्न वा कलंकी चोकमा रहेको श्यामा आयल तथा एकान्तकुनास्थित गायत्रीदेवी आयल स्टोर; सबै सडक किनारामै सञ्चालन भइरहेका छन् ।

एकान्तकुना चोकबाट भंैसेपाटीतर्फ ओरालो बाटोमा रहेको गायत्रीदेवी आयल स्टोर्सको पनि ‘कम्पाउन्ड’ छैन। छेउमा जिएस वर्कसप एन्ड अटो पार्टस्मा गाडी मर्मत, वेल्डिङलगायत काम भइरहने भएकाले पम्पमा आगलागी हुनसक्ने जोखिम उच्च छ। जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेसनल इन्क’ पेट्रोल पम्प पनि सडक किनारमै छ। नजिकै ‘युडी मोर्डन डिजाइन मोटरसाइकल वर्कसप’ छ।

ललितपुरको लगनखेल बसपार्कपछाडि रहेको ‘मञ्जुश्री पेट्रो सेन्टर’ असुरक्षित छ । पहुँचको भरमा यो पेट्रोल पम्पले बीच सडकमै पम्प राखेको छ । कुमारीपाटीको महायान पेट्रोल पम्प सडक किनारमै छ। नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा १ सय ३१ वटाभन्दा बढी पम्प सञ्चालित छन्।

निगमको मापदण्डअनुसार सामान्यतः एउटा पम्पमा कम्तीमा २० किलोलिटर डिजल (२० हजार लिटर) र १२ किलोलिटर (१२ हजार लिटर) पेट्रोल भण्डारण गरिन्छ। यसलाई आधार मान्दा काठमाडौं उपत्यकाका १ सय ७० हाराहारी पम्पहरूमा नियमित ३ हजार ४ सय ४० किलोलिटर (३४ लाख ४० हजार लिटर) डिजल र २ हजार ६४ किलोलिटर (२० लाख ४ हजार लिटर) पेट्रोल अर्थात् दुवै गरेर ५४ लाख लिटरभन्दा धेरै इन्धन भण्डारण हुन्छ ।

यसबाहेक यी पम्पहरूलाई तेल बेच्ने नेपाल आयल निगमकोे थानकोट डिपोमा ५ हजार ३ सय १० किलोलिटर (५३ लाख १० हजार लिटर) पेट्रोल, ८ हजार ४ सय किलोलिटर (८४ लाख लिटर) डिजल र ७ सय १० किलोलिटर (७ लाख १० हजार लिटर) मट्टितेल भण्डारण हुन्छ। विमानस्थलनजिकै सिनामंगलमा रहेको हवाई इन्धन डिपोमा ७ हजार किलोलिटर (७५ लाख लिटर) हाराहारी हवाई इन्धन भण्डारण गरिएको हुन्छ। निगम कर्मचारीका भनाइमा, सामान्यतया क्षमताभन्दा १० प्रतिशत कम इन्धन भण्डारण गरिन्छ।

के छ मापदण्ड ?
निगमले तयार पारेको पेट्रोलियम पदार्थ बिक्री–वितरणसम्बन्धी विनियमावली–२०७३ अनुसार पेट्रोल बिक्री स्थलको क्षेत्रफल तराई र भित्री मधेशका जिल्ला (उदयपुर, चितवन, मकवानपुर, दाङ र सुर्खेतका पहाडी क्षेत्रबाहेक) एक बिघा (१३ रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्ने भनिएको छ। यसैगरी बिक्री स्थलको तीन दिशातर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की ‘कम्पाउन्ड’ वा सिमेन्टको पिलरमा काँडेतार लगाएको हुनुपर्छ। ‘रिफ्युलिङ एरिया’ ढाक्ने गरी करिब १८ मिटर र ३० मिटरको छतसहितको टहरो निर्माण गर्नुपर्छ।

यस्तै अपांगमैत्री एकसहित पाँच शौचालय, बिक्री स्थलको ‘कम्पाउन्ड’ भित्र सुरक्षाका लागि ‘फायर रिटारडेन्ट’, बिक्री स्थलमा रहेका ‘अन्डरग्राउन्ड ट्याङ्क’, त्यसको क्षमता र संख्याको नक्शाङ्कन र सर्वसाधारणले देख्ने गरी पेट्रोलियम पदार्थको मौज्दात विवरण राख्नुपर्छ। त्यसबाहेक एक पटकमा कम्तीमा आठ सवारीसाधनमा पेट्रोल भर्नेगरी चारवटा पेट्रोल ‘नोजल’ र चार डिजल ‘नोजल’ राख्नुपर्ने व्यवस्था छ।

यसैगरी पेट्रोलियम पदार्थ बिक्री गर्ने क्षेत्रमा ‘अन्डरग्राउन्ड’ ट्यांकी रहेको क्षेत्र खुला ठाउँमा हुनुपर्ने र बिक्री स्थल क्षेत्रमा कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पर्खाल अनिवार्य हुनुपर्ने प्रावधान छ। तर नेपाल आयल निगम आफंैले जारी गरेका मापदण्ड काठमाडौं उपत्यकामा लागू गर्न सकेको छैन।