काठमाडौं । दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको आज (शनिबार) २३ दिन पूरा भएको छ । उक्त निर्वाचनको मत परिणाम पनि अद्यावधिक भइसकेको छ । तथापि अद्यावधिक परिणामप्रति सत्ता गठबन्धन दलहरू नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल एमाले पूर्णरूपले असन्तुष्ट छन् ।
यी तीन दलले सोचेजस्तो परिणाम नल्याएपछि असन्तुष्ट बनेका हुन् । यद्यपि नेपाली कांग्रेस भने सन्तुष्ट नै छ । किनकि उसले सोचेजस्तो परिणाम ल्याएको निष्कर्ष निकालेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस पहिलो बनेको छ ।
सत्ता र चुनावी गठबन्धन गरेर पनि सोचेजस्तो परिणाम नआएपछि माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट छन् । देशका ७५३ वटै पालिकामा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले चुनावी गठबन्धन गर्दा पनि कांग्रेसबाहेक अन्य पार्टीको परिणाम सन्तोषजनक आएन ।
सन्तोषजनक मत परिणाम नआएपछि कांग्रेसले धोका दिएको भन्दै केही दिनअघि जसपाका अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सुटुक्क भेटवार्ता गर्न पुगेका थिए । यादव र ओलीको भेटवार्ताले गठबन्धनभित्र सामान्य कम्पन आए पनि भूकम्प भने गएन ।
त्यस्तै प्रतिपक्षी दल एमालेको सोचेजस्तो परिणाम नल्याउनु स्वभाविकै हो । किनकि एमालेका तत्कालीन प्रभावशाली नेता माधवकुमार नेपालले पार्टी नै विभाजन गरि एकीकृत समाजवादी गठन गरिसकेका छन् । पार्टीको झन्डै आधा हिस्सा एमालेले गुमाएपछि उसले सोचेजस्तो परिणाम नल्याउनु स्वभाविक ढंगले हेरिएको छ ।
तथापि यो बीचमा एमाले अध्यक्ष ओलीले आफूले चाहेको खण्डमा गठबन्धन चुट्कीको भरमा तोडिने बताएका थिए । उनले यो अभिव्यक्ति दिएको केही दिनपछि प्रचण्ड–नेपालले वाम गठबन्धनको संकेत गर्दै प्रधानमन्त्रीको अफर आएको बताए ।
निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धन गर्ने संकेत गरेका छन् ।
सत्तासाझेदार दल जसपा अध्यक्ष यादवले पार्टीसँग सल्लाह नगरि एमाले अध्यक्ष ओलीसँग भेट्नु, प्रचण्ड र नेपालले एक्कासी प्रधानमन्त्री बन्न अफर आएको कुरा सार्वजनिक कार्यक्रममा बोल्नु र वाम गठबन्धनको चर्चा चल्नुले कांग्रेस झस्किएको छ ।
प्रधानमन्त्री अफर वास्तविक कि प्रोपोकाण्डा ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालले पार्टीका सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री बनिदिन पर्यो भन्दै अफर आएको भन्ने अभिव्यक्ति अभिव्यक्त गर्नु पहिले जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
एक हप्ता पहिले एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेटवार्ता भयो । भेटवार्ताको क्रममा स्थानीय निर्वाचनमा गठबन्धनबाट धोका भएको भन्दै जसपाले वर्तमान गठबन्धनको विकल्प खोजीबारे छलफल गरेको बताइएको छ । तथापि उनीहरूबीच भएको भेटमा खास के ुकुरा भयो ? पुष्टि भने भएको छैन । तर, सत्तासाझेदार दल जसपाका अध्यक्ष यादवले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीसँग भेट्नु अर्थपूर्ण ढंगले हेरिएको छ ।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि केही दिनअघि आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताए । उपत्यका बाहिर भएको पार्टीको सार्वजनिक कार्यक्रममा बोल्दै नेपालले आफूलाई प्रधानमन्त्री बन्न भनेर अफर आएको तर आफू त्यसमा सहमत नभएको बताए । बरु उनले आफू र आफ्नो पार्टी संघ र प्रदेशको निर्वाचनसम्म सत्ता र चुनावी गठबन्धनमै रहने बताए ।
जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि केही दिनअघि विचार नमिल्नेसँग गठबन्धन गर्नु देश र जनताको हितविपरीत हुने तर्क गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका छन् । उनले वाम गठबन्धन गर्नेबारे पनि चर्चा चलाएका छन् । उनले पनि केही दिनअघि एक कार्यक्रममा बोल्दै वाम गठबन्धनका लागि प्रधानमन्त्रीको अफर आएको बताएका हुन् ।
यस विषयमा कांग्रेसका एक शीर्ष नेताका अनुसार माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले गठबन्धन तोड्न नचाहेको तर चुनावी परिणामप्रति असन्तुष्टि पोखेको बताए ।
उनले भने, ‘अन्य पार्टीभन्दा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनबाट कुनै हालतमा बाहिरिन्छन् जस्तो मलाई लाग्दैन । उहाँहरूले चुनावमा कांग्रेसले धोका दिएको भन्दै कांग्रेसमाथि नै असन्तुष्टि देखिनुहुन्छ । कांग्रेस कम्युनिस्ट पार्टीहरू जस्तो अपरिपक्व निर्णय गर्ने पार्टी होइन, पार्टीको नीति र निर्देशनबमोजिक हामी सबै चुनावी प्रतिस्पर्धामा उत्रिएका हौँ । हामीभन्दा पनि उहाँहरूलाई जनताले धोका दिएका हुन् । पार्टीबाट त्यसो भएको होइन ।’
त्यस्तै कांग्रेसकै अर्का नेता भन्छन्, ‘गठबन्धनमा रहेर प्रतिपक्षी दलसँग एक्कासी भेट्नु, शीर्ष नेताले प्रधानमन्त्रीको अफर आएको भन्दै अभिव्यक्ति दिनु स्वभावैले राम्रो होइन । उहाँहरूले यस्ता गलत अभिव्यक्ति पनि दिने र गठबन्धनमा पनि रहनुले जनतामाझ खास राम्रो सन्देश जाँदैन । उहाँहरूको कांग्रेसलाई कमजोर बनाउने प्रोपोकाण्डा मात्रै हो ।’
कांग्रेसलाई कमजोर बनाउने प्रचण्ड-नेपालको रणनीतिमा
स्थानीय निर्वाचनमा कांग्रेसबाहेक अन्य दलको मतपरिणाम निकै कमजोर आएको छ । एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई चुनावी परिणामले सानो आकारमा खुम्च्याएको छ । उनीहरूको आकार खुम्चिएसँगै शीर्ष नेताहरू कांग्रेसमाथि रोष पोख्न थालेका छन् ।
प्रत्यक्ष वा परोक्ष ढंगले कांग्रेसलाई छेडखानी गरिहेका छन् । चुनावी गठबन्धनले सोचेजस्तो परिणाम नदिएपछि सत्ता गठबन्धनमै रहेर वाम गठबन्धनको प्रोपोकाण्डा मच्चाउने, प्रधानमन्त्रीको अफर आएको भन्दै गलत अभिव्यक्ति दिनुले कांग्रेससँग आगामी संघ र प्रदेशको निर्वाचनमा थप बढी सिटको डिमाण्ड गर्नु र कांग्रेसलाई नै कमजोर बनाउने प्रचण्ड–नेपालको रणनीति बाहेक अरू केही नभएको कांग्रेस नेताहरूले टिप्पणी गर्दै आएका छन् ।