• असार २० २०८१, बुधबार

जमिन्दारको घरबाट निकालिए तर पैसाको अभावमा पढाई छोड्दै मुक्त कम्लरी

जेष्ठ २१ २०७९, शनिबार

दाङ, २० जेठ ।
नेपालमा कम्लरी मुक्त घोषणा गरिएको वर्षौं भएको छ तर पनि यो समस्या ज्यूका त्यू रहेको छ । उनीहरु जमिन्दारका घरबाट निकालेर खुला समाजमा ल्याइएका त छन् तर उनीहरुको शिक्षा, स्वास्थ्य, खानपान तथा रोजगारीको कुनै ग्यारेन्टी राज्यले नगरिदँदा उनीहरुको हालत पहिला भन्दा झन खराब बन्दै गएको छ । यस्तै अवस्थामा गुज्रिरहेको छ दाङकि एकजना पूर्वकम्लरी आशा चौधरीको जीवन पनि ।

को हुन् कम्लरी ?

जमिन्दार तथा साहुहरुको घरमा काम गर्न राखिएका थारु समुदायका छोरीहरु नै वास्तविक कम्लरी हुन् । तर रोजगारी तथा पेशाका हिसावले अन्य जातका छोरीहरु पनि जमिन्दारका घरमा राखिएका हुनसक्छन् वा निकै कम ज्यालामा काममा लगाइएका हुनसक्छन् ।

सामान्य अर्थमा बुझ्दा किसानले जमिन्दार वा साहुको जमिन खेती लगाउन लिए वापत उत्पादन भएको आधा अन्नका साथै सित्तैमा काम गरिदिने छोरीपनि दिनुपर्ने एकखालको परम्परा नै कम्लरी प्रथा हो ।

आशा चौधरी मुक्त कमलरी हुन् । उनले अहिले स्नातक तहको दोस्रो वर्षमा अध्ययन गर्छिन् । व्यवस्थापन विषय लिएर दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा उनले अध्ययन गर्दै आइरहेकी छिन् तर, पैसाको अभाव हुँदा पढाइ छुट्ने होकि भन्ने चिन्तामा उनी छिन् । पैसा नहुँदा उनले पुस्तक किन्न सकेकी छैनन् । परीक्षा हुने समय आउन लागिसकेको छ । परीक्षा फारम खुलेको छ । सिंगल दस्तुरमा यही जेठ २० गतेसम्म मात्र फारम भर्ने मिति छ । पैसा  नभएपछि आशा अहिले चिन्तामा छिन् ।

कक्षा १२ सम्म सरकारले मुक्त कमलरी छात्राहरुलाई छात्रावृत्ति दिने गर्छ । आशाले पनि सोही छात्रावृत्तिले १२ कक्षासम्मको अध्ययन सहज रुपमा गरिन् । बस्ने, खानेदेखि पढाइ खर्च सबै सरकारले नै दिएको उनले बताईन् । लमही नपा–१ नर्तीमा रहेको लावाजुनी छात्राबासमा बसेर उनले १२ कक्षासम्म अध्ययन गरेकी हुन् । १२ कक्षा पास भइसकेपछि उनलाई बस्नेदेखि पढाइ गर्नसम्म निकै समस्या भएको छ । सरकारले १२ कक्षा पास भएपछि छात्रावृत्ति दिँदैन जसले गर्दा उनलाई समस्या भएको हो ।

“घरमा कमाउने कोही छैन, छात्रावृत्ति आउन छाडेपछि समस्यामा छौं, अरुभन्दा पनि पढाइ रोकिने होकि भन्ने चिन्ता छ” आशाले भनिन् । आशाको घर तुलसीपुर उपमहानगरपालिका– १७ जिनुवा गाउँमा छ । घरमा बुवा, आमा र बहिनी छन् । बुवा विरामी भएको लामो समयदेखि अछ्यानबाटै उठ्न नसक्ने आशाले बताइन् । “बुवाको दिसा, पिसाव समेत ओछ्यानमा हुन्छ, आमाले बुवालाई हेर्नुपर्छ, आफ्नो खेतबारी पनि छैन, आमाले अरुको घरमा काम गरेर घरमा खाने खर्च जोहो गर्नुहुन्छ” उनले भनिन् ।

आशा जस्तै समस्यामा छिन, रुमा चौधरी पनि । उनको घर गढवा गाउँपालिका–४ मा पर्छ । उनले पनि आशाले जस्तै ‘लावाजुनी छात्राबास’मा बसेर १२ कक्षा पास सहज रुपमा गरिन् तर, अहिले उनलाई पनि स्नताक पढ्न निकै समस्या भएको छ । आशा र रुमा एउटै विद्यालयमा, एउटै विषय अध्ययन गर्छन् । रुमाले पनि पैसा नहुँदा परीक्षा फारम भर्न सकेकी छैनन् । पुस्तक समेत किन्न सकेकी छैनन् । पढ्ने सपना अधुरो हुने हो कि भन्ने उनलाई पनि चिन्ता हुने गरेको छ ।

रुमाको घरमा आमा र २ जना बहिनी छन् । रुमा अघिकी एक दिदीको बिहे भइसक्यो । रुमा र उनकी एक बहिनी छात्राबासमा बसेर पढ्दै छन् । घरमा भएकी कान्छी बहिनीले एक संस्थाको सहयोगमा बढ्दै आइकी छन् । एक बहिनीले पढाई छाडिसकिन् । घरमा कमाउने कोही नभएपछि रुमाको पढ्ने सपना पनि अधुरो बन्दै गइरहेको गरहेको छ । आशा र रुमा मात्रै होइन, ‘लावाजुनी छात्राबास’मा बसेर बढ्दै गरेका १७ जनालाई पढ्न समस्या भइरहेको छ ।

‘लावाजुनी छात्राबास’की सुपरीवेक्षक बिर्जा चौधरीले सरकारले छात्रावृत्ति दिन छाडेपछि स्नातक पढ्ने १७ जना मुक्त कमलरी छात्राहरु समस्यामा रहेको बताइन् । स्नातक पढ्ने छात्राहरु गाडि भाडा समेत नहुँदा नियमित क्याम्पस जान नसकेको सुपरीवेक्षक चौधरीले जानकारी दिइन् ।

लावाजुनी छात्राबास लमही–१ नर्तीमा रहेको विद्यालय सूर्यविनायक माध्यमिक विद्यालयको हो । उक्त छात्राबासमा बसेर पढ्नका लागि केन्द्रीय सरकारले नै छात्रावृत्ति दिने गरेको छ । हाल ३६ जना यस छात्राबासमा मुक्त कमलरी छात्राहरु छन् । जसमध्ये १२ कक्षा पास गरेका १७ जना छात्राहरुलाई छात्रावृत्ति आउँदैन । १९ जना छात्राहरुलाई आएको छात्रावृत्तिबाट ३६ जनाले बस्ने खाने गर्नु परेको छ ।

“घरमा पठाउने कहाँ पठाउने, घर छैन, कमैया बसेका, बुवाआमा नभएकालाई लिएर यहाँ राखिएको छ तर, विद्यालयले छात्राहरुलाई घर जाउ भनेर मानसिक यातना दिइरहेको छ” मुक्त कमलरी विकास मञ्च दाङकी कार्यवहाक अध्यक्ष हरिमाया चौधरीले भनिन् । यस छात्राबासमा कमैया बसेका छात्राहरुलाई मुक्त गरेर २०६७ सालदेखि पढाउने भनेर राखिदै आइएको छ ।

कक्षा १२ पास गरेका छात्राहरुलाई स्थानीय सरकारले सहयोग गर्ने भनेपनि सहयोग नगरेको छात्राबासकी सुपरीवेक्षक विरजा चौधरीले बताइन् । लमही नगरपालिका र घोराही उपमहानगरपालिकाले सहयोग गर्ने निर्णय गरेको बताउँदै उनले सहयोग गर्न ढिलाइ गरिरहेको जानकारी दिइन । १२ पास गरेका छात्राहरुका लागि केन्द्रीय सरकारले छात्रावृत्ति नदिएपछि जुन स्थानीय तहका हुन् ।

सोही स्थानीय तहले छात्रावृत्ति दिने गरी कुरा भइरहेको भएपनि स्थानीय तह सकारात्मक नदेखिएको उनले बताइन् । मुक्त कमलरी विकास मञ्च दाङले मुक्त कमैयाहरुलाई उच्च शिक्षा लिनबाट बञ्चित नगर्न आग्रह गरेको छ । मञ्चले यस्तो आग्रह गर्दै प्रदेश सरकार र प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।

‘लावाजुनी छात्राबास’मा बसेका घरबास नभएका १० जना छात्राहरु निकै समस्यामा रहेको भन्दै उनीलाई उच्च शिक्षा लिनबाट बञ्चिन नगर्न ज्ञापन पत्रमा आग्रह गरिएको छ ।

शिक्षाबाट बञ्चित नगर्न आग्रह गर्दै ज्ञापन पत्रमा भनिएको छ :– ‘स्नातक तहमा अध्ययन गरिहेका १० जनाको अवस्था अब कहाँ जाने के खाने भन्ने चिन्ताले सताउन थालेको छ । २०७९ असार मसान्त पश्चात् खान र बस्नको स्पष्ट प्रवन्ध नहुने हो भने त्यहाँ रहेर अध्ययन गरिरहेका १० जना मुक्त कमलरी छात्राहरु घर न घाटको हुने अवस्था देखिन्छ । यदि उनीहरुको उचित व्यवस्थापन हुन नसके मुक्त कमलरीहरु पुनः कमलरी बस्न जानुपर्ने बाध्यात्मक परिस्थितिको सृजना हुने निश्चितप्राय रहेको छ ।’