• मंसिर ११ २०८१, मंगलवार

अधिकार मागेर विद्रोह गरेको समूहलाई दबाएर र बहिष्करण गरेर अछुत बनाइएको हो : आहुति

जेष्ठ २१ २०७९, शनिबार

(२१औं सताव्दीको विज्ञान र प्रविधिको युगमा पनि मानिसहरुका बिचमा जातीय विभेद तथा छुवाछुत भइरहेको छ भन्दा मानिसलाई नै अपराधबोध महसुस भइरहेको हुन्छ । विभेद र छुवाछुत हुनुलाई आज सामान्यरुपमा लिइन थालिसकिएको छ । यो समाजको प्रगती होइन बरु हो दुर्गती र मानिसको दिमागको अमानवीयकरण । सधैं झैं आज पनि जातीय भेदभाव उन्मूलन तथा छुवाछुत  उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । यस्ता दिवस आजसम्म धेरै मनाइएका छन् तर विभेद र छुवाछुत हटिसकेको छैन । राज्यले संविधानमा जातीय आधारमा कुनैपनि विभेद वा छुवाछुतलाई अस्वीकार गरिदिएको छ तर राज्यले नै विभेद र छुवाछुत गरिरहेको छ । राज्यको माथिल्लो तहमा बसेर ढुकुटीमा तर मारिरहेकाहरुका लागि त विभेद उन्मूलन गर्ने विषय कहिल्यैपनि प्राथमिकतामा परेन । त्यसैकारण ०७ सालदेखि यता धेरै पार्टीहरुले विभेद समाप्त पार्नका लागि युद्ध र आन्दोलन गर्दै आए । पलस्वरुप केही परिवर्तन त आयो तर त्यसमा निरन्तरता नहुँदा पाइएका उपलब्धिहरु पनि गुम्ने खतरा विद्यमान छ । यसै सन्दर्भमा आज नेपालमा जात प्रथा के हो र यो कस्तो अवस्थामा छ ? भन्ने विषयमा दलित अभियन्ता तथा मार्क्सवादी सौन्दर्य चिन्तक विश्वभक्त दुलाल ‘आहुति’सित केही समयअघि गरिएको कुराकानीलाई सान्दर्भिक ठानेर प्रकाशन गरेका छौं : सम्पादक । )

प्रश्न : वास्तवमा जात व्यवस्था भनेको के हो ?

वर्ण व्यवस्था के हो ? वर्ण व्यवस्थाको उत्पत्ति भयो ? धेरैजसो साहित्यमा वर्णको अर्थ रंगसँग सम्बन्धित छ, भनिन्छ । वर्ण व्यवस्थामा चारवटा वर्ण हुन्छन् । वर्णको अर्थ रंग मात्रै थियो भन्ने मान्ने हो भने वर्ण व्यवस्थामा चार वर्ण हुन्छन् । वर्णको अर्थ रंग मात्रै थियो भन्ने मान्नुपर्ने हुन्छ । तर आजसम्मको मानवशास्त्रले भारतमा चार रंगका मान्छे थिए पनि भन्दैन । त्यसकारण वर्ण शब्द खास काम गर्ने मानिसहरुको समूहका निम्ति प्रयोग भएको देखिन्छ । अहिले पनि यस्तो प्रचलन छ । जस्तै : वर्णमाला । वर्णमाला भनेको रंगहरुको माला होइन अक्षरहरुको समूह हो ।

जनसंख्या वृद्धि भएसँगै संसारका सबै भागमा श्रम विभाजन अनिवार्य बन्यो । किन कि एउटै मानिसले सबै काम गर्न भ्याउँदैन्थ्यो र सक्दैन्थ्यो । त्यसकारण संसारका सबै भागमा आ–आफ्नै किसिमले श्रम विभाजन भएको इतिहास पाइन्छ । दक्षिण एसियाको भारतमा पनि ३५ सय वर्ष अगाडी चार प्रकारका श्रम क्षेत्र विभाजन भएको देखिन्छ । तिनै चार प्रकारका श्रम क्षेत्रको विभाजनलाई नै सुरुमा वर्ण व्यवस्था भनिएको हो । यसको उल्लेख ऋग्वेदको दसौं मण्डलमा विराट पुरुषको विभिन्न अंगबाट चार वर्णका मानिस उत्पन्न भए भन्ने उल्लेख छ ।

ऋग्वेदको दसौं मण्डल ३५ सय वर्ष अगाडि लेखिएको मानिन्छ । त्यसैका आधारमा वर्ण व्यवस्था सुरुवात भएको ३५ सय भयो भनिएको हो । चार वर्ण वा चार श्रम समूहभित्र राज्यको नीति नियम बनाउने, ज्ञान आर्जन र ज्ञान वितरण गर्ने र ईश्वरसँग मानिसको सम्बन्ध कायम गराउने कामको जिम्मा ब्राह्मण वर्णलाई तोकियो । निश्चित क्षेत्रमा बनेको राज्यको रखवारी गर्ने शासन र प्रशासन चलाउने क्षेत्रपालका रुपमा क्षेत्रीय वर्णलाई श्रम क्षेत्र तोकियो । त्यतिबेलाको सेवामूलक व्यापार गर्ने र कृषिको व्यवस्थापन गर्ने काम वैश्यका निम्ति तोकियो । कृषिमा श्रम भौतिक विज्ञान र प्रविधि लगायतका भौतिक रुपमा कठिन काम र अरु तिनवटै वर्णका मानिसको सेवा गर्ने श्रम शुद्र वर्णका निम्ति तोकियो ।

वर्ण व्यवस्थाका पक्षपातीहरु वर्ण व्यवस्था अनिवार्य र साधारण श्रम विभाजन मात्रै थियो भन्ने गर्छन् । यो सत्य होइन । वर्ण व्यवस्थामा भएको श्रम विभाजनको संसारमा अन्त कतै नभएको एउटा मुख्य विशेषता थियो । अनुल्लङ्घनियता ।
एउटा वर्णका निम्ति तोकिएको श्रमको क्षेत्र त्यसका सन्तान–दरसन्तान कसैले पनि उल्लङ्घन गरेर अर्को श्रमको क्षेत्र वा पेशा अपनाउन नपाउने बन्देज नै वर्ण व्यवस्थाको सार हो ।

यस्तो प्रकारको श्रम विभाजनले अनिवार्य रुपमा विशिष्ट प्रकारको वर्गीय समाजको रुप लियो । ज्ञान राज्य सञ्चालनको अधिकार तथा प्रशासन र सम्पत्ति माथिको अधिकार मुख्य गरी ब्राह्मण र सँगसँगै क्षत्रीय वर्णका मानिसमा केन्द्रित भइरहने त्यसपछि वैश्यमा थोरै केन्द्रित हुने र शुद्रहरु चाहिँ राजनीतिक अधिकार आर्थिक अधिकार र औपचारिक ज्ञानको अधिकारबाट सधैंभरि बञ्चित भइरहने सिलसिला सुरु भयो । त्यसकारणले वर्ण व्यवस्था दक्षिण एसियामा बन्न पुगेको विशिष्टता सहितको वर्गीय व्यवस्था नै थियो ।

वर्ण व्यवस्थाको आरम्भदेखि नै छुवाछुत प्रथा सुरु भएको हो ?

वर्ण व्यवस्थाको सुरुवात हुँदा र केहि सय वर्षसम्म पनि छुवाछुतजस्तो प्रथा भेटिँदैन । वर्ण व्यवस्थाको रुप चलेको त्यस वर्गीय व्यवस्थामा ब्राह्मण र क्षत्रीय वर्णका मानिसहरुको जीवन सबै दृष्टिले सधैंभरी सुविधा सम्पन्न भइरहने अनि वैश्य र मूलतः शूद्रहरुको जीवन पुस्तौं पुस्तादेखि लगातार नारकीय बनिरहने अवस्थाले गर्दा स्वाभाविक रुपमा उनीहरुमा विद्रोह भाव जन्मिनु अनिवार्य थियो । शुद्रहरुले कतै गर्न हुन्न भनिएको तपस्या गरेका वा कतै खुला विद्रोह गरेका सन्दर्भ विभिन्न शास्त्रमा पाइन्छन् । जसै शुद्रहरुले राज्य विरुद्व विद्रोह गर्थे । राज्यले विद्रोह दमन गरेपछि उनीहरुलाई दण्डित गर्नु स्वाभाविक थियो । दण्डित गर्दाखेरी त्यतिबेलाको ठूलो सजाय भनेको कि मृत्युदण्ड हुन्थ्यो, कि बस्तीबाट निकाल्नु वा धपाउनु हुन्थ्यो ।

जरिवाना तिराउनका लागि त शुद्रहरुसँग सम्पत्ति हुँदैनथ्यो । त्यतिबेला स्थायी जेलको व्यवस्था पनि थिएन । विद्रोही सबै शूद्रहरुको हत्या गर्न पनि सम्भव थिएन किन कि उनीहरु त्यस्तो काममा थिए जुन काम गर्ने मान्छे घट्दा ब्राह्मण र क्षेत्रीद्वारा सञ्चालित राज्य नै चल्न सक्दैनथ्यो । त्यसैगरी स्थायी जेल नभएकाले विद्रोहीहरुलाई लामो समयका निम्ति बन्दी बनाउन पनि सम्भव थिएन । त्यस्तो अवस्थाका कारण विद्रोही शूद्रहरुलाई सजायका रुपमा बहिष्कार गर्ने नीति राज्यले लियो । बहिष्कारको सजायका रुपमा सबै बस्ने बस्तीमा बस्न नपाउने बस्तीबाट टाढा अप्ठ्यारो ठाउँमा बस्नुपर्ने अरुले लगाएको जस्तो लुगा लगाउन नपाउने, अरुले खाने मुलको पानी खान नपाउने आदी प्रताडनाहरुको व्यवस्था गरियो । यो नै छुवाछुतको सुरुवाती चरण थियो ।

यसरी विद्रोहीहरुलाई राज्यले सजायका रुपमा बहिष्करण गर्ने जुन रीतिको ढाँचा तयार भयो । त्यसपछि ऋण तिर्न नसकेर टाट पल्टेका र राज्यले अन्य विभिन्न मुद्वामा अपराधि ठानेका रक्तशुद्वता कायम गर्न नसकेको ब्राह्मण, क्षेत्री र वैश्य वर्णभित्रका मान्छे आदिलाई पनि यहि बहिष्कृत समूहभित्र धकेल्दै जाने परम्परा बसालियो । यसरी अछुतहरुको संख्या समाजको एउटा ठूलो हिस्साका रुपमा निर्माण भयो ।

शास्त्रहरुमा अछुतलाई पञ्चम वर्ण वा पाँचौं वर्णका रुपमा पनि चित्रण गरिएको छ । वर्ण व्यवस्थामा छुवाछुत ठ्याक्कै कहिले सुरुवात भयो भन्ने प्रमाण भेटिँदैन । तर राजा जनकले ब्रह्मसभा बोलाएको र गौतम बुद्धले चाण्डाल युवतीको हातबाट पानी खाएवापत समाजमा उनको ठूलो आलोचना भएको प्रसंगलाई हेर्दा २६ सय वर्ष अगाडिसम्ममा वर्ण व्यवस्थाभित्र छुवाछुत पनि व्यवस्थित रुपमा आजको नेपालको भूखण्डमा समेत प्रचलनमा आइसकेको सजिलै बुझ्न सकिन्छ भने वर्ण व्यवस्था सुरुआत भएको आजको भारतको मुलथालोमा त्यसभन्दा अघि नै सुरुआत भैसकेको बुझ्न कुनै कठिनाइ पर्दैन ।

वर्ण व्यवस्था र छुवाछुत प्रथा कहाँ–कहाँ छ ?

सुरुमा ब्राहमण धर्मका रुपमा र त्यसको सामाजिक संगठनका रुपमा स्थापित भएको वर्ण व्यवस्था सिंगो सामाजिक, आर्थिक र राजनीतिक प्रणाली थियो । जसलाई पछि हिन्दु धर्म र हिन्दु समाजका रुपमा बुझ्न थालियो । यस्तो वैचारिक र सामाजिक संगठन विश्वका अन्य सभ्यतामा थिएन । त्यसकारण वर्ण व्यवस्था विश्वको अन्य सभ्यतामा थिएन छैन । तर विविध प्रकृतिका छुवाछुत भने संसारका विभिन्न सभ्यतामा विभिन्न कालखण्डमा भेटिन्छन् । जस्तैः जापानका बाराकुमी समुदायमाथि छुवाछुत गरिन्छ । तर ती हिन्दु समाजमा बन्न पुगेको वर्ण व्यवस्थाको सिंगो आर्थिक, राजनीतिक र साँस्कृतिक प्रणालीसँग सम्बन्धित होइनन् ।

जात व्यवस्था र वर्ण व्यवस्थामा के भिन्नता छ ?

सुरुमाचार वटा श्रम क्षेत्रमा चारवटा मानव समूहलाई विभाजन गर्दा त्यो चतुरवर्ण व्यवस्था थियो । अथवा त्यसमा चारवटा मात्रै वर्ण थिए । चारवटा मात्रै वर्ण अथवा श्रम समूह किन थिए भने त्यतिबेला समाजमा गर्नुपर्ने आधारभूत कामका क्षेत्र नै त्यति मात्रै थिए । सभ्यताको विकास सँगसँगै प्रविधिमा विकास भयो, जनसंख्या थपिँदै गयो र मानिसका आवश्यकता पनि तीव्र गतिमा बढ्दै गए । यो सिलसिलाले कामका क्षेत्र पनि व्यापक मात्रामा थपिन थाले ब्राहमण वर्णका शासकहरुले आफ्ना सुविधाका लागि पहिलेदेखि गर्दै आएका काम मात्रै जारी राखी अन्य क्षेत्रमा थप जिम्मा लिएनन् । त्यसकारण ब्राह्मणभित्र विभिन्न जात पनि थपिएनन् ।

तिन हजार वर्षका बिचमा उपाध्याय सवालाखे जैसी, कुमाईजस्ता ब्राह्मणभित्र सामान्य भेद भए पनि ब्राह्मणभित्र विभिन्न जात थपिएनन् । क्षेत्री वर्णका निम्ति तोकिएको शासन र प्रशासन अनि क्षेत्रको रक्षाको जिम्माबाहेक कामका अरु क्षेत्र आफ्ना निम्ति नथप्न क्षेत्रीहरु स्वतन्त्र थिए किन कि उनीहरु पनि शासक नै भए । त्यसैले क्षत्रीयभित्र पनि धेरै जात थपिएनन् । तिन हजार वर्षको बिचमा क्षेत्रीभित्र झर्रो, खत्री, ठकुरी, घर्ती लगायत सामान्य भेद जन्मिन पुगे पनि व्यापकरुपमा क्षेत्रीभित्र फरक–फरक जातहरु बनेनन् ।

यस बिचमा जति पनि कामका क्षेत्र थपिए ती सबै कामका क्षेत्रको जिम्मा वैश्य शूद्व र अछुतहरुमा थपिँदै गयो । त्यसरी थपिने क्रमसँगसँगै जुन खलकले जुन पेशा गर्न थाल्यो । त्यो एउटा पेशागत समूह अर्थात् जातका रुपमा चिनिँदै गयो । समाजको आवश्यकता अनुसार कुनै नयाँ काम वा पेशा जन्मिन्थ्यो त्यो काम वा पेशा शुद्र अछुत वा वैश्यभित्रको कुनै खलकले गर्न थालेपछि त्यो नयाँ जातका रुपमा विकसित हुन्थ्यो । त्यो पेशागत जात किन बन्थ्यो भने वर्ण व्यवस्थाको नियम अनुसार पुस्तौं पुस्तासम्म त्यो पेशा अनुल्लङ्घनीय अर्थात् उल्लंघन गर्न नपाइने हुन्थ्यो । यसरी वैश्य, शूद्र र पञ्चम वर्णका रुपमा रहेका अछुतभित्र हजारौं जात बन्न पुगे ।

यसरी हजारौं जात बन्ने सिलसिलामा चार वर्ण व्यवस्था मात्रै अब रहेन, किन कि फरक–फरक श्रम गर्ने मानिसहरुको समूह चारवटा मात्रै रहेन बरु हजारौं जातमा विभक्त भए । वर्ण व्यवस्थाको नियमानुसार कुनै पनि जात अर्को जातसँग बराबर नहुने र उनीहरुबिच कुनै न कुनै प्रकारको छुवाछुत पनि अनिवार्य रुपमा परम्परा लादिँदै जाँदा समाजमा विकसित भएका सबै जात उचनीचको तहगत सम्बन्धमा आधारित हुन पुगे ।

आज तिम्रो वर्ण के हो ? भनेर कसैले सोध्दैन । र ब्राहमणदेखि आजको कथित अछुतसम्म कसैले पनि आफू ब्राह्मण वा शूद्व वा पञ्चम वर्णको भनि परिचय दिँदैन । बरु त्यसको सट्टा आफ्नो परिचय जातको रुपमा दिने गरिन्छ । ब्राह्मण पनि अहिले एउटा जातको रुपमा बुझिन्छ । यसर्थ वर्ण व्यवस्थाको नाममा सुरु भएर आजसम्म पुग्दा त्यो व्यवस्था विस्तारित भएर जात व्यवस्था बन्न पुगेको छ । यो व्यवस्थालाई अहिले जात व्यवस्थाको रुपमा बुझ्न नै सहि हुन्छ र यसलाई बदल्न प्रयास गर्नुपर्दछ ।