• चैत्र २५ २०८१, मंगलवार

ओली सरकारतिर संकेत गर्दै थापाले भने, ‘पूर्वाधार कर कसले लगायो ? भनौं भने धेरै कुरा खुल्छ, त्यतातिर नलागौं’

जेष्ठ २० २०७९, शुक्रबार

काठमाडौं । कांग्रेस सांसद गगन थापाले पेट्रोलियम पदार्थमा थप सहुलियतको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । संसद्मा एमाले सांसद विशाल भट्टराईले प्रस्तुत गरेको महंगीविरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अहिलेको पूर्वाधार कर छुटले मात्र जनताको समस्या समाधान हुन नसक्ने बताए ।

“कोभिड र रुस युक्रेन युद्धको प्रभावले पेट्रोलियम पदार्थका मूल्यवृद्धि भएको छ । आउँदा दिनहरू अझ चुनौतीपूर्ण छन्, यसलाई हल्कारूपमा नलिनका लागि म प्रधानमन्त्रीलाई आग्रह गर्दछु,” थापाले भने, “यसले अझै अस्तव्यवस्ता आउन सक्छ । युद्धको जस्तो सोच राखेर ‘वार स्पीरिट’मा काम गर्नुपर्ने आवश्यकता छ ।”

उनले पूर्वाधार कर हटाएको भन्दै त्यसबाहेक पनि मूल्य घटाउन र सहुलियत दिने काम गर्न आग्रह गरे । “पूर्वाधार कर हामीले हटायौँ, पूर्वाधार कर कसले लगायो ? भन्यो भने धेरै कुरा खुल्छ, त्यतातिर नलागौँ,” थापाले भने, “सडक निर्माण कर छ । अन्य के–के कुरा हुन सक्छन् । तर, अहिले तत्काल जनताले सहुलियत महसुस गर्नेगरी मूल्य घटाउन आवश्यक छ ।”
उनले अहिलेसम्म एक हप्ताका लागि मात्र स्टोरेज क्यापासिटी रहेको भन्दै क्रड आएर किनेर प्रशोधन गर्दा थप महँगो पर्नेतर्फ पनि सचेत गराए ।

“क्रुड आयल किनेर भारतबाट ल्याउँदा, प्रशोधन गर्दाभन्दा थप महँगो पर्नसक्छ, अन्यत्र कतै डिपो राखेर पनि गर्न सकिन्छ कि भनेर लाग्नुपर्यो,” उनले भने, “तर, पेट्रोल, डिजेल, एलपीजी मुक्त देश बनाउन आजैदेखि लागौँ । १० वर्षका लागि महत्वाकांक्षी घोषणा गरौँ ।”