• मंसिर १४ २०८१, शुक्रबार

डेढ महिनामा १३ अर्ब पैसा केमा खर्च गर्लान् बालेन्द्रले ?

जेष्ठ २० २०७९, शुक्रबार

देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिकामध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तको कुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ । हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको १४ प्रतिशत मात्र खर्च गर्न महानगरले सकेको विवरण प्राप्त भएको छ ।

वैशाख महिना पालिकाको निर्वाचनमै केन्द्रित भएकाले विकास बजेट खर्च हुन सकेन । महानगरद्वारा सार्वजनिक तथ्यांकमा ९ महिनाको खर्चको अवस्था १४ दशमलव १ प्रतिशत मात्र रहेको स्पष्ट हुन्छ ।

महानगरमा नव निर्वाचित मेयर बालेन्द्र शाहले चालु आर्थिक वर्षको बाँकी अवधिमा ८० प्रतिशत भन्दा बजेट कसरी खर्च गराउन सक्नुहुन्छ यो निकै चुनौतिपूर्ण देखिन्छ ।

महानगरका एक वरिष्ठ कर्मचारीका अनुसार काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यले विकास कार्यक्रमहरूलाई गतिशील बनाउन कुनै चासो दिनु भएन । महानगरमा श्रोत थुप्रिएर बसेको छ, अर्कोतर्फ महानगरको विकासको समस्या पनि बढ्दै गएको छ ।

महानगरद्वारा सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षमा महानगरको बजेट १६ अर्ब २५ करोड ६६ लाख ७८ हजार छ तर नौ महिनामा दुई अर्ब ३० करोड मात्र खर्च भएको छ ।

महानगरको खर्च विवरण हेर्दा पूर्वाधार विकासमा खर्च निकै कमजोर देखिन्छ । अहिले पनि ठोस योजनाहरू कार्यान्वयनमा गैरहेका छैनन् । कतिपय योजनाको टेन्डर समेत भएको छैन भने वडाहरूबाट उपभोक्ता समिति मार्फत् गरिने पूर्वाधारका कामका लागि सम्झौता पनि भएका छैनन् ।

महानगरका ती वरिष्ठ कर्मचारी भन्छन्–नव निर्वाचित मेयरले बजेट र विकास कार्यक्रम बारे त आजसम्म पनि ब्रिफिङ लिएका छैनन् । जबकी पहिलो बैठकमा उहाँले यसबारे चासो दिनु होला भनी हामीले तथ्यांक अद्यावधिक गरेका थियौं ।

महानगरले आफ्नो वेबसाइटमा स्वतः सार्वजनिक गरेको विवरण सूची अनुसार पूर्वाधार विकासमा ८ अर्ब ३१ करोड १६ लाख २४ हजार बजेट विनियोजन गरिएको छ तर, चैतसम्ममा १ अर्ब पनि खर्च हुन सकेको छैन ।

एकातर्फ विनियोजित कार्यक्रमहरूलाई कार्यान्वयन गर्नुपर्ने छ, अर्कोतर्फ ती कार्यक्रमहरू कार्यान्वयनमा हुने भ्रष्टाचारको व्यापक समस्यालाई नियन्त्रण गर्नु छ । नवनिर्वाचित मेयर बालेन्द्र साहका अगाडि आगामी आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने दायित्वसँगै ती चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिन्छ ।

सामाजिक विकासको क्षेत्रमा विनियोजित रकम ३ अर्ब २६ करोड र आर्थिक विकासका लागि छुट्टाएको १ अर्ब ४३ करोड बजेट त झन कार्यान्वयन जानै सकेको छैन । महानगरका विभिन्न कोषहरूको नममा विभिन्न बैंकमा थुप्रिएको रकमको त जानकारी नै पारदर्शी छैन । अघिल्लो मेयर विद्यासुन्दरको चासो नै बजेटको रकम बैकहरूमा जम्मा गर्नेमा मात्रै थियो, ती कर्मचारी सुनाउँछन् ।

महानगरमा सेवाप्रवाह र सुशासनको अवस्था त झन गएगुज्रेको छ । सुशासन प्रर्वद्धन गर्न यो वर्षको बजेटमा विनियोजित ९२ करोड रुपैयाँ मध्ये १६ करोड खर्च भैसकेको छ । यो रकमको सदुपयोग रचनात्मक विधिहरू कार्यान्वयन गरी सुशासनको अवस्था सुधार ल्याउन सकिन्छ । तर हालसम्म आगामी बजेटको तयारीका लागि टोलबस्तीमा नागरिक सहभागितामा छलफल गर्नुपर्ने काम अगाडि नै बढेको छैन ।

वर्षमा २ अर्ब भन्दा बढी प्रशासनिक खर्च हुने काठमाडौं महानगरपालिका केवल कर्मचारी पाल्न र जनप्रतिनिधिलाई सेवा–सुविधा वितरण गर्न मात्र सीमित रहेको उसको खर्च व्यवस्थापन क्षमताको अवस्थाले छर्लङ्ग हुन्छ ।

स्वतन्त्र रुपमा नवनिर्वाचित युवा मेयर बालेन्द्र शाहले काठमाडौंको यो निष्कृय ढुकुटीलाई चलायमान गराएर विकासको लागि परिवर्तनको अभियान हाँक्ने मौका पाउनु भएको छ । महानगरको अर्का वरिष्ठ अनुभवी कर्मचारी भन्छन्–काठमाडौं महानगर अल्छीहरूको अखडा जस्तो प्रशासनिक केन्द्रका रुपमा मात्र सीमितहुँदै आएको छ । जबकी विकासका लागि जिम्मेवारी पनि छ, श्रोत पनि छ । ratopati