• असार २० २०८१, बुधबार

संघीय बजेटबाट बनेका दाङका चिल्ला सडकहरु बने भाइरल !

जेष्ठ १९ २०७९, बिहीबार

दाङ, १६ जेठ ।
सघन शहरी तथा भवन निर्माण आयोजना दाङले ३ वर्षको अवधिमा ४८ किलो मिटर सडक कालोपत्रे गरेको छ । आयोजना सुरु भएदेखि हालसम्म ठूला प्रोजेक्ट मार्फत् ४८ किलोमिटर निर्माण गरेको र साना काम पनि भइराखेको आयोजनाले जनाएको छ । ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने ६ किलोमिटर अन्तिम अवस्थामा रहेको आयोजनाले जनाएको छ ।

जिल्लामा २०७५ भदौबाट आयोजना सुरु भएको हो । आयोजनाले सडक कालोपत्रेसँगै फुटपाथसहित नाला निर्माण गरेको छ । त्यसका लागि करिब २ अर्ब बजेट खर्च भएको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिए ।

प्याकेज नं. १ अन्र्तगत १४.३ किलोमिटर बाटो कालोपत्रे भएको छ । जुन नारायणपुर नारेवाङ र सर्रा–सौडियार सडक खण्ड रहेको छ । जसमा २८.६ किलोमिटर पक्की नाला र फुटपाथसमेत निर्माण गरिएको छ ।

प्याजेज २ अन्र्तगत ९.२ किलोमिटर सडक कालोपत्रे भएको छ । जुन घोराही बाँसबोट–हापुरहुँदै रक्षाचौर सडकखण्ड रहेको आयोजना प्रमुख चौधरीले बताए । रुकुमपूर्वमा १.७४ किलोमिटर कालोपत्रे गरिएको छ । प्याकेज ३ अन्र्तगत १३.६ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

जसमा २५.३ किलोमिटरमा फुटपाथसहित पक्की नाला निर्माण गरिएको आयोजनाले जनाएको छ । प्याकेज ३ अन्र्तगत घोराही ल्याण्डफिल साइड हुँदै बाहुनडाँडा, झिँगौराहुँदै स्वर्गद्वारी आश्रम, रतनपुर चोकबाट भटेरेनरी अस्पताल, प्रहरी बोर्डिङदेखि खिरटिया, मालपोत कार्यालयदेखि भरतपुरको सिमानासम्म र रामपुरको बालिम खोलादेखि सिमलतारासम्मको सडक रहेको आयोजना प्रमुख चौधरीले बताए ।

प्याकेज १ र ३ अन्र्तगतका काम सकिएका छन् भने प्याकेज नं. २ को काम अन्तिम अवस्थामा छ । त्यसैगरेर पर्सेनी–खाद्रे सडकखण्ड अन्र्तगत १.५३ किलोमिटर कालोपत्रे गरिएको छ । नारायणपुर सडकखण्ड अन्र्तगत २.६५ किलोमिटर कालोपत्रे गरिएको छ ।

तुलसीपुरको टरिगाउँ सडकखण्ड अन्र्तगत १.६ किलोमिटर कालोपत्रे गरिएको छ । दुधरास सडकखण्ड अन्र्तगत १.८ किलोमिटर कालोपत्रे गरिएको आयोजनाले जनाएको छ । “भौगोलिक स्थान अनुसार फुटपाथसहितको नाला निर्माण गरिएको छ, अहिले बनाएका सडकका नाला र फुटपाथ कम्तीमा ५० वर्ष भत्काउन नपर्ने खालका छन्” आयोजना प्रमुख चौधरीले भने ।

आयोजनाले निर्माण गरेका सडकहरु अन्य सडकभन्दा फरक रहेकोसमेत नागरिकले बताएका छन् । यसले पैदल हिंड्ने तथा सवारीका साधन चलाउने नागरिकहरुलाई सहजता समेत भएको छ । सहरी सघन मार्गको मापदण्डअनुसार आफूहरुले सडक निर्माण गरेको आयोजनाका प्रमुख चौधरीले बताए ।

स्थानीय सरकारको सिफारिसमा सघन शहरी तथा भवन निर्माण आयोजना दाङले निर्माण गरेको सर्रादेखि सौंडियार सडक केही समयअघि सामाजिक सञ्जाल तथा टिकटकमा भाइरल भएको थियो । नारायणपुर हापुर–नारेवाङ सडक भाइरल बनेको थियो ।

अहिले बाँसबोट हापुरहुँदै  रक्षाचौर आँखा अस्पताल जाने सडक भाइरल भएको छ । अहिले उक्त सडकमा नागरिकहरु टिकटक बनाउने भीड हुने गरेको छ । त्यसैगरेर बालिम खोला सिमलतारा खडक पनि हेर्न जाने नागरिकहरुको संख्या पनि उल्लेख्य छ ।