• बैशाख ६ २०८२, शनिबार

भारतको अनुदानमा पर्वतको कुश्मामा कम्प्युटर भवनको उद्घाटन

जेष्ठ १८ २०७९, बुधबार

काठमाडौं । भारत सरकारको अनुदान सहायतामा पर्वत जिल्लामा निर्मित एक विद्यालयको कम्प्युटर भवनको उद्घाटन गरिएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित श्री पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उद्घाटन गरेका हुन् ।

भारत सरकारको अनुदान सहयोगमा सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत १ करोड ७५ लाख नेपाली रुपैयाँ लागतमा सो भवन निर्माण गरिएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

श्री पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो । विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न गरिसकेको छ । यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु गण्डकी प्रदेशमा रहेका छन् ।