• असार २५ २०८१, सोमबार

दाङका कम्प्युटर व्यवसायी किन क्यान विरुद्ध गए ?

जेष्ठ १८ २०७९, बुधबार

घोराही, १८ जेठ ।
कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ दाङ शाखा कोषाध्यक्ष मदन खनाल र सदस्य शिवराज भूषालले सोमवार पदबाट राजिनामा दिए । कम्प्युटर व्यवसायीले घोराहीमा आयोजना गरेको भेलामा उनीहरु दुवैले क्यान कम्प्यूटर व्यवसायीको बन्न नसकेको आरोप लगाए । उनीहरुका अनुसार खास व्यवसायी क्यानमा छैनन् ।

‘दर रेटदेखि हरेक कुराको एकरुपता ल्याउन खोजेका छौँ’ घोराहीका कम्प्युटर व्यवसायी सुभाष देवकोटाले भन्नुभयो,‘व्यवसायी क्यानमा नभएकाले बसेर छलफल गर्ने थलो पाईनौं ।’

उहाँका अनुसार जिल्लामा एक सय ५० बढि व्यवसायी छन् । एकजुट हुन सकिएको छैन । उहाँले जस्तै भेलामा सहभागि धेरैले आफ्नो बन्न नसकेको बताए । कम्प्युटर सम्बन्धी व्यक्ति र व्यवसायीको हकहितको लागि क्यान हुन नसकेको उहाँको भनाई थियो । उहाँका अनुसार व्यवसायीहरु मिलेर क्यान गठन हुनुपर्छ । त्यसो नहुँदा व्यवसायी अभिवावक विहीन जस्ता छन् । अरु जिल्लामा क्यानले धेरै काम गरेको सुनिन्छ । उनीहरुले दाङमा के गर्नुभयो भनेर सोध्छन् । हाम्रोमा क्यान ख्वै ? भने प्रश्नको व्यवसायीसँग जवाफ छैन ।

व्यवसायीका पिरमर्का सुन्ने निकाय नै भएन । उनीहरुका अनुसार कोरोना महामारीले सिर्जीत लकडाउनका समयमा अरु पसल व्यवसायीले संस्थागत निर्णय गरेर सेवा ग्राहीलाई सुविधा दिए । पसल खोले, मूल्य तल माथि गराए । सेवा दिने समय निर्धारण गरे । राहत वितरण गरेका थिए । त्यसबेला पनि व्यवसायीले भूमिका देखाउन पाएनन् ।

व्यवसायीको मृत्यु भयो, समवेदना दिएर परिवारलाई सहानुभूति दिन सकेनन् । यसरी भावनात्मक रुपमा जोडिन नपाउँदा व्यवसायीलाई मर्माहत बनायो । कम्प्युटर व्यवसायीको समिति भन्न सकिने अवस्थै रहेन । क्यान राम्रो भए आइटी राम्रो बनाउन सकिने मदन खनालको भनाई छ ।

अहिलेसम्म सूचना प्रविधि सम्बन्धि कुनैपनि कार्यक्रम गर्न नसक्नु नै क्यान महासंघ दाङको कमजोरी रहेको उहाँको भनाई छ । त्यसैले त्यो पद भन्दा व्यवसायी ठूलो ठानेर कोषाध्यक्ष पदबाट राजिनामा दिएको बताउनुभयो । ‘फलफूल वितरण, रक्तदान गरेर क्यानको जिम्मेवारी पुरा हुँदैन’ उहाँले थप्नुभयो, ‘यसले सूचना प्रविधि र व्यवसायमा सहयोग गर्दैन ।’

उहाँका अनुसार विद्यालय, सरकारी कार्यालय र सूचना प्रविधिसँग जोडिनुपर्छ । त्यस सम्बन्धि धेरै कार्यक्रम क्यानले गर्नुपर्दथ्यो । उहाँसँगै शिवराज भुषालले पनि क्यन कार्यसमितिबाट राजीनामा दिनुभएको छ । क्यान व्यागमा, गोजीमा भएर व्यवसायीको हकहितमा नहुने उमेशराज भण्डारीले बताउनुभयो । त्यसका लागि व्यवसायीको साझा संस्था निर्माण गर्नुपर्छ ।

कुनै डकुमेन्ट अपुग भयो भने खोज्न आउने अरु बेला वास्ता नगरी क्यान भएकाले असन्तुष्टि बढाएको भुवनेश्वर पाण्डेयको भनाई छ । उहाँका अनुसार समस्या पर्दा नभेटिने भएकाले क्यान आफ्नो महशुस भएन । यति बेलाको सूचना प्रविधिको जमानामा कम्प्युटर सर्वोउत्कृष्ट व्यवसाय मानिन्छ । त्यसको कुनै आधिकारीक समिति छैन ।

‘व्यवसायीहरु प्रतिष्पर्धा भन्दा पनि साझेदार हौँ भन्ने महसुस भएको छ’ पाण्डेयले भन्नुभयो, ‘कुनै बेला एकले अर्को व्यवसायीलाई दुश्मन ठान्थ्यौँ ।’ उहाँका अनुसार अहिले पनि व्यवसायी बिच समन्वय छैन । भावनात्मक सम्बन्ध र मिलाप छ ।

राप्ती इन्जिनियरीङ कलेजबाट क्यान बाहिर निस्कन नसकेकाले संघर्ष समिति बनाएको संयोजक धिरज पौडेलको भनाई थियो । उहाँका अनुसार यहाँको अवस्था महासंघमा जानकारी गराइएको छ । शिक्षक, विद्यार्थी र मोबाईल व्यवसायीबाट प्रतिनिधि आउँछन् । कम्प्युटर व्यवसायीबाट छैनन् ।

एकसय जना व्यवसायी सम्मिलित छन् । कयान महासंघले समेटेन, सकेन भनेपनि कम्प्युटर व्यवसायी महासंघ बनाएर अघि बढ्ने पौडेलको भनाई छ । ‘हामी धेरै पीडामा छौँ’ पौडेलले भन्नुभयो, ‘करीब २० वर्ष अघि क्यान इन्फोटेक लाग्यो त्यसपछि कुनै गतिविधि हुन सकेनन् ।’ उहाँका अनुसार कम्प्युटर व्यवसायी एकताबद्ध हुने बाटोमा अघि बढेका छन् ।