• मंसिर १२ २०८१, बुधबार

२० दिनदेखि बेहोस शर्मीला मगरको उपचारका लागि सहयोग गरिदिन अपील

जेष्ठ १८ २०७९, बुधबार

काठमाडौं । गत बैशाख ३० गते घरमै लडेर बेहोस भएकी उदयपुरकी शर्मीला मगर जीवन र मृत्युको दोसाँधमा अस्पतालको बेडमा छिन् ।

बैशाख ३० गते सबैलाई स्थानीय चुनावको माहोलले छोएको थियो । सपरिवार काठमाडौंको स्वम्भूमा बस्दै आएका उनीहरुलाई चुनावको माहोलले खासै छोएको थिएन । किन कि उनका श्रीमान ज्याला मजदूरी गर्थे र काममै व्यस्त रहन्थे । सबै चुनावको माहोलमा भुलिरहेका बेला शर्मीलालाई भने अचानक त्यस्तो अवस्था आइलाग्यो, जुन अवस्थाले उनलाई अहिले पनि छोपिरहेको छ ।

उदयपुर जिल्लाकोलेकगाउँ गाउँपालिकाको वडानम्बर ७ घर भएकी ४८ वर्षीया शर्मीला एकाएक घरको सिंढीबाट लडिन् । लड्दा उनको टाउकोमा गहिरो चोट लागेको उनका श्रीमान बताउँछन् । शर्मीलालाई उच्चरक्तचापको बिमार रहेको र सोही बिमारले एक्कासी च्यापेपछि उनी लडेको हुनसक्ने अनुमान रहेको छ ।

लडेपछि बेहोस् अवस्थामै रहेकी शर्मीलाको आज २० दिन भइसक्दा पनि होस् खुलेको छैन । उनको उपचारमा लाखौं खर्च भइसकेको छ तर उनी होसमा आउने हुन् वा हैनिन् न त डाक्टरलाई थाहा छ, न त उनका श्रीमानलाई नै थाहा छ । उनका श्रीमान आजभोलि शर्मीलाको उपचारका लागि चाहिने पैसा खोज्न मै व्यस्त रहेका छन् ।

हाल उनको उपचार काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा इमरजेन्सी वार्डमा भइरहेको छ । केएमसीसीको १४८ नम्बर बेडमा उपचार भइरहेको अवस्थामा उनका श्रीमान र उनका आफन्त मनोज मगर हामीकहाँ आएर शर्मीलाको उपचार खर्च जुटाउनका लागि अनलाइन मिडियामा समाचार प्रकाशन गरिदिनु पर्यो भन्ने आग्रहलाई स्वीकार्दै हामीले यसलाई आफ्नो कर्तव्य ठान्यौं ।

उनीहरुले समाचार बनाएर मिडियामा राखेर सहयोगको अपील गर्न सजिलो हुने बताए । उनीहरुका अनुसार शर्मीलाको टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुले शर्मीलाको उपचार भइरहेको तस्विर पनि हामीलाई देखाए । उनीहरुले आर्थिक सहयोगका लागि ९८०३३४४२५७ नम्बरको मोबाइल नम्बरपनि उपलब्ध गराएका छन् ।

साथै शर्मीलाको उपचारमा आर्थिक सहयोग गर्न चाहने आफन्त तथा सहयोगदाताहरुका लागि सिटीजन्स बैंकमा रहेको विनोद गिरीको नामको खातानम्बर पनि उपलब्ध गराएका छन् । खातानम्बर यसप्रकार रहेको छ ।

०८५०१०००००२९१०१० । उनलाई सहयोग गर्न चाहने मनकारी तथा सहयोगी मन भएका आफन्तहरुले माथि उल्लेखित फोननम्बरमा सम्पर्क गरि माथि उल्लेखित खातानम्बरमा रकम पठाइदिन सक्नुहुनेछ ।