काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन् ।
खासगरी एमालेले यसको अगुवाइ थालेको छ । तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन् ।
विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए । अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औँल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ ।
भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छु, एमालेका एक पदाधिकारीले भने । पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ । यो समाचार नागरिक दैनिकमा छ ।