नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट उत्कृष्ट आएको बताएका छन् । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताएका हुन् ।
यस्तै, उनले पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘गत वर्ष संसद्भन्दा बाहिरबाट बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’ रिजालले एमाले नेता पौडेलले बजेटमाथि राखेको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै यस्तो बताएका हुन् ।
विदेशी ऋण र सार्वजनिक ऋण तथा विदेशबाट भित्रिने रेमिट्यान्को चाप गठबन्धन सरकार बनेपछि मात्रै नभएको समेत उनले उल्लेख गरे । ‘यो सरकार बनेपछि ९ महिनायता मात्रै यी समस्या आएको हो र ?,’ रिजालले भने, ‘आफ्नो सरकार बदलिनासाथ बोली फेर्न हुँदैन ।’
यस्तै, यो सरकारले ल्याएको जस्तै अघिल्ला सरकारले ल्याएका बजेटहरू पनि निश्चित लक्ष्य र प्राथमिकता पहिल्याउन असफल रहेको रिजालको भनाइ छ ।