• असार २५ २०८१, सोमबार

जनप्रतिनिधिहरु चुनाव जितेको भोजमा झुमिरहँदा सदरमुकामको मुख्य बजार भने जलमग्न

जेष्ठ १६ २०७९, सोमबार

घोराही, १६ जेठ ।
‘हामी डुबानमा परिरहँदा वडाअध्यक्ष रमेशकुमार पाण्डेयलाई फोन गरेको त उहाँ पार्टीको सम्मान कार्यक्रममा हुनुहुँदो रहेछ फोन उठेन । त्यसपछि स्थानीय सरकार प्रमुख नरुलाल चौधरीलाई फोन गर्यौं, उहाँको पनि फोन उठेन, उहाँ पार्टीको पिकनिक कार्यक्रममा हुनुहुँदो रहेछ । त्यो सबै हामीले अर्को दिन मात्र थाहा पायौँ । यो घरघरमा बाढी पस्ने आजको समस्या होइन । बिगतमा पनि हामीले नगरपालिका नधाएको होइन ।’ घोराही १५ मुख्य बजार क्षेत्र मेरोडका विपिन श्रेष्ठ भन्नुहुन्छ ।

बल्वका पार्टसहरु फुक्दै, पुच्छदै सुकेका जतिलाई जोडजाम गर्दैमा टिकाराम खनालको आईतवार बित्यो ।
उहाँको घोराही १५ मेनरोडमा रहेको खनाल इलेक्ट्रोनिक्समा शनिवार दिउँसो पानी पस्यो । त्यसले भुइँमा भएका र केहि र्याकका सामान पनि डुबायो ।

‘परार पानी पस्यो, पोहोर पनि अलि अलि नोक्सान गर्यो’ खनालले भन्नुभयो, ‘यस पटक खतमै बनायो ।’
उहाँका अनुसार पंखा र बल्बका आइटम धेरै डुबेका छन् । पुछेर बन्ने हो कि बिग्रिने हो थाह छैन । केहि काम लागिहाल्छ कि भन्ने आशले प्रयास गरेको हो ।

हरेक पटक डुब्दाखेरी सूचना दिएको तर स्थानीय सरकारले सुनुवाई नगर्दा तिन वर्षदेखि पीडित रहेको उहाँको भनाई छ । उहाँका अनुसार यस वर्ष सबैभन्दा धेरै डुब्यो । अहिले सम्मकै धेरै क्षति गरेको छ । समयमै गुनासो सुनेर सुधार गरेको भए यति धेरै नोक्सान नहुने खनालको भनाई छ । शुरुमै बाटोको ठेकेदारलाई समेत आग्रह गरिएको हो ।

भ्याटका कागजात देखि सम्पूर्ण चिज डुबेपछि दामोदर बुढाथोकी छट्पटिनु भएको थियो । उहाँका अनुसार गत्तामा भएका पेयपदार्थहरु सबै डुबे । कार्पेटदेखि सबै कुरा जलमग्न भित्र थिए । विपी चोक शहिद गेट नयाँ कालोपत्रै बनेपछि समस्या शुरु भएको हो । नयाँ नाला बन्यो, नयाँ पिच भयो त्यसै वर्षदेखि पसल डुबान शुरुभयो ।

डुबेको तोरी र पिना उठाउन पाँच छ जना मानिसलाई आधा दिन लागेको टंकप्रसाद पोख्रेल फुलेदाईको भनाइ छ । उहाँको घोराही तुलसीपुर निर्माणाधिन सडकले इत्सा तेलमिल डुबाइदिएको हो । नालाको पानी पश्चिमतर्फ निकास नभएपछि मिल नजिकैका दिनमणि योगीको कोठा पनि पस्यो । लगातार तिन वर्षदेखि क्षति गरेकाले अब व्यवसाय छोड्ने निष्कर्षमा पुगेको तेल मिल सञ्चालक पोख्रेलको भनाई छ ।

अघिल्लो वर्ष पानी पसेपछि ओम अनुज इलेक्ट्रिकल्सका लेखनाथ काफ्लेले अग्लो डिल बनाउनु भएको थियो । यस पटक सडकबाट उर्लेको छालले त्यसलाई पनि नाघेर सटर भित्र पस्यो । क्षति पुर्यायो । यसैगरी स्वस्तिक टेडर्समा डिल भत्काएर सटर भित्र पोखरी बनेको पानी निकास गराउनुभएको थियो । आचार्य टायरका ऋषि आचार्यले पनि सटरभित्रको पोखरीबाट पानी उबाएर बाहिर फाल्नुभएको थियो ।

गत २०६५ सालमा राखिएको ६० एमएमको सानो ह्यूमपाईपका कारण समस्या आएको व्यवसायीले बताएका छन् । सडक नयाँ पिच गर्दा ठूलो ह्यूमपाइप नहाल्नु नै कमजोरी भएको स्वर्गद्धारी डेकोकार सञ्चालक तारा पोख्रेलको भनाई छ । उहाँको पनि ठूलै नोक्सान गरेको छ । त्यस क्षेत्रका धेरै सटरभित्र पानी पसको छ । उहाँका अनुसार तत्कालै डोजेर लगाएर पुरानो ह्यिूम पाईप निकाल्नुपर्छ । ठूलो ह्यूमपाईप हाल्नु पर्छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी नेतृत्वको टोली आइतवार विहान क्षतिभएका पसल पसल पुग्यो । व्यवसायीसँग सम्पर्क गरेर त्यहाँको क्षतिको विवरण संकलन गर्यो । यो समाचार तयार पार्दा सम्म १६ पसलमा ३१ लाख ६२ हजार क्षति भएको विवरण तयार भएको जानकारी दिइएको छ । वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजकत्वमा गठित विकास वली, जगतप्रसाद आचार्य, जुद्धबहादुर घर्ती र लिलाराम खड्का सदस्य रहेको टोलीले विवरण संकलन गरिरहेको छ ।

त्यहाँ पुगेर क्षतिको विवरण र परिणाम संकलन गरेको संयोजक कार्कीको भनाई छ । उहाँका अनुसार पीडितको अपेक्षा र दिर्घकालिन समाधानको उपाएका बारेमा राय लिइएको छ । अधिकांश पीडितले राहतको आश नगरेको जवाफ दिएका छन् । त्यहि रकमबाट नालाको निकास निकाल्न सुझाएका छन् । अहिलेका नाला नभत्काउँदासम्म समाधान नहुनेमा पीडित व्यवसायीको एक मत छ ।

उनीहरुले तिन वर्षदेखि पीडित रहेको बताएका छन् । त्यति बेलै खतरा हुने आँकलन गरिसकेका थिए । भाडावालाहरुले सुझाव दिएको ठेकेदारले पत्याएनन् । स्थानीय टोल विकास संस्थाले महत्व दिएन । अहिले व्यवसायीको नोक्सान भयो भनेकाछन् ।

यस वर्षकै ठूलो वर्षातको भनेर बजारवासीले विश्लेषण गरेका छन् । घोराही १४ र १५ को सिमाना बैंकरोडमा नाला निर्माण भइरहेको छ । त्यहाँ भत्काउँदा वडा प्रहरी कार्यालय, राँगा मार्केट, सब्जीमण्डीहुँदै बजारको ठूलो क्षेत्रको भल आएको अनुमान छ । त्यसरी जम्मा भएको भल गहिरो क्षेत्र नेत्रलाल अभागी चोक तर्फ केन्द्रत हुँदा केहिबेर सवारी आवागमन पनि रोकिएको थियो । खोलाको भेल जस्तै बनेको थियो ।

घोराही उपमहानगरपालिका र सडक विभागसँग छलफल गरेर निकास निकाल्ने संघका महासचिव महेन्द्र बुढाथोकीको भनाई छ । उहाँका अनुसार घोराही १४ र १५ सँग पनि छलफल गरिनेछ । यो समाचार तयार गर्दासम्म वडाका प्रतिनिधि भने घटना स्थलमा नपुगेको व्यवसायीले बताए । यस्तो व्यवास्था गर्नेहरुबाट आश मरेको तिनको भनाई थियो । चाँडै नाला पास गर्ने उपाए निकाल्न एकमतको सुझाव दिए ।

दोस्रो कार्यकाल आरम्भ गरेका मेयर नरुलाल चौधरी स्वागत सम्मानमा दौड्नुलाई धेरैले उचित मानेका छैनन् । कुनै नयाँलाई मात्रै समस्या दर्साउन र परिचय गराउन लैजानुपर्दछ । बोलाउने चाकडी र सम्मान थाप्न जाने मोह दुवै गलत हुन् भन्ने धारणा राख्छन् । तर, नागरिक दुःखमा परेका बेलामा जनप्रतिनिधिलाई भने स्वागत र सम्मानका कार्यक्रममा सरिक हुन दिनहुँ जसो भ्याई नभ्याईको चटारो छ ।