• मंसिर २० २०८१, बिहीबार

थोत्रा विमान समयमै हटाऊ

जेष्ठ १६ २०७९, सोमबार

आइतबार बिहान पोखराबाट जोमसोम पुग्दै गरेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित डरलाग्दो भीरमा दुर्घटनाग्रस्त हुन पुग्यो । यो दुर्घटनाले त्यसमा सवार १९ जना यात्रु र ३ जना चालक दलसहित २२ जना सबैको ज्यान लियो ।

बादल लागेको खराब मौसमका कारण दुर्घटना हुन गएको समाचार आयो । आफैमा उच्च पहाडी धरातल त्यसमाथि मौसमी जुवाको खेल ! उसो त आस्मिक अवतरणका लागि एयरपोर्ट, मैदान, सागर वा तलाउको अभाव पनि यसमा जिम्मेवार छ ।

त्यसमाथि सम्पर्क नेटवर्कमा समस्या, टर्मिनल सम्पर्कको समस्या, पुराना विमान र नेपाली भूगोलको विशिष्टताले पनि वारम्वार सताइरहेका छन् । तर पनि यी सबै बाह्य कारक हुन् । आन्तरिक रूपमा विमान कन्डिसनमा थियो वा थिएन भन्ने कुरा प्रमुख हो ।

छोटो समयमा पर्याप्त मुनाफा आर्जन गर्ने मध्यम वर्गीय आर्थिक व्यवसायीको लगानी र ‘सेकेन्ड ह्यान्ड’ विमान खरिद र सञ्चालनले पनि यसमा उल्लेख्य नकारात्मक भूमिका निर्वाह गरिरहेकोछ । यसमा थप वैकल्पिक सञ्चार सेवा नहुनु, स्थानीय सम्पर्क केन्द्र नराखिनु, भूगोलप्रति अनविज्ञ रहनु, स्थानीय जनतासँग सम्पर्क नहुनु आदिले पनि काम गरिरहेको देखिन्छ ।

विमान उडान र अवतरण बीचमा पर्ने दुरी, गर्नु पर्ने ‘अप/डाउन’ र मौसमी खेल आदि सबै यसमा जोडिएको छ । विदेशमा पढ्ने र नेपालमा विमान उडाउने बीचको बेमेलले पनि पर्याप्त काम गरेकोछ । नेपालमा असमान र विषम धरातलीय बनोट भएकाले यो विमान उडानका लागि निकै जोखिमपूर्ण छ ।

विषम भौगोलिक बनावटका कारण उडानमा समस्या आउनु स्वभाविकै हो । क्षणक्षणको मौसम परिवर्तनका कारण ‘भिजिविलिटी’ मा समस्या हुनु स्वभाविकै हो । तर पनि बादल, कुहिरो, हुस्सु आदिका कारण ‘भिजिविलिटी’मा निकै समस्या भएका बेला सुरक्षित अवतरण वा ‘फ्लाइ ब्याक’ अनिवार्य हुन जाँदा त्यति बेला अपनाइने वैकल्पिक सोच र पहलकदमीमा विमान ‘कन्डिसन’ हुनु र नहुनुले ठूलो भूमिका निर्वाह गर्छ ।

विमानमा राखिएको ‘ब्ल्याक बक्स’ को सहारा भनेको ‘टेक्निकल’ विषय हो । विमान मोडिन लाग्दा यसका पाटपूर्जाले काम गरेका हुन्छन् कि हुँदैनन् । विमानमा पहलकदमी सेकेण्डभर लिइ सक्नुपर्छ । विमानको ‘कन्डिसन’ले यसो गर्न सहजता प्रदान गर्छ कि गर्दैन ? यो महत्वपूर्ण कुरा हो ।

विमान मेसिन भएकाले यो मेसिनरी डिजाइन अनुसार चल्छ, यसलाई चालकले चलाउँछ । तर बदलिँदो परिस्थिति अनुसार विमानमा गतिविधि गर्दा विमानको ‘कन्डिसन’ सही भए पाइलटको गतिविधि अनुसार काम हुन सक्छ । यदि बिग्रिएको भए यसले दुर्घटनाजस्तो गलत परिणाममा पुर्‍याउँछ ।

प्रत्येक दुर्घटना पछि छानबिन हुने र दुर्घटनाका कारणबारे सुझाव दिइने गरिएको छ । तर ती कुनै पनि लागू भएका र असल परिणाम दिएको देखिएको छैनन् । विमानहरु पनि पुराना र थोत्रा हुनुका कारण सुविधायुक्त र ढुक्क हुने अवस्थामा छैनन् ।

त्यसैले अन्य कारण र कारक तत्व बाह्य हुन् । सबैभन्दा ठूलो र भरपर्दो कुरा भनेको विमान सही हालत ‘कन्डिसन’ मा हुनु पर्छ । यसका लागि खरिद महंगो भए पनि नयाँ र भरपर्दा जहाज सञ्चालनमा ल्याइनु जरूरी छ । ‘घोडा चढ्ने लड्छ’ भनिन्छ, तर पनि यस विषयमा उड्डयन निकाय निकै गम्भीर बन्नु जरूरी छ । थोत्रा विमान समयमै हटाइनु पर्छ ।