काठमाडौं । पार्टीभित्रका असन्तुष्ट मत ‘दबाएर’ चितवन महाधिवेशनबाट दोस्रोपटक एमालेको शक्तिशाली अध्यक्ष बनेका केपी शर्मा ओलीको कार्यकालको पहिलो ६ महिना निराशाजनक देखिएको छ ।
मंसिर दोस्रो साता सौराहामा भएको दसौं महाधिवेशनमार्फत अध्यक्ष चुनिएका ओलीले चुनावमार्फत सत्ता–राजनीतिमा फर्कने चाहना राखे पनि उनका रणनीतिहरूमा एकपछि अर्को धक्का लागेको छ ।
तत्कालीन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितले पार्टी विभाजन गरी एकीकृत समाजवादी बनाएपछि एमालेमा ओली थप शक्तिशाली भएका थिए ।
सांगठनिक र हैसियत दुवै तरिकाले आफूलाई टक्कर दिने नेता नहुँदा ओलीको एकल वर्चस्व थियो । यतिसम्म कि ओलीकै निर्णय एमालेको निर्णय हुँदै आएको छ ।
पार्टीभित्र उनलाई चुनौती दिने र उनको प्रस्तावलाई अस्वीकार गर्ने कोही नेता छैनन् । उनलाई चुनौती दिने नेताहरू भीम रावलदेखि घनश्याम भुसालसम्म अहिले भूमिकाविहीन छन् ।
एमालेकै पदाधिकारीहरूका अनुसार गएको ६ महिनामा पार्टी अध्यक्ष ओली मूलतः चारवटा विषयमा असफल भएका छन् ।
०७८ माघ १२ मा भएको राष्ट्रिय सभा निर्वाचन, गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन, संसद् अवरोध, पार्टीभित्रका असन्तुष्ट मतलाई सम्बोधन र अन्य पार्टीसँगको सम्बन्ध सुधारमा ओलीको रणनीति कमजोर देखिएको छ ।
आफ्नो रणनीति एकपछि अर्को असफल हुँदा दबाब बढ्दै गए पनि उनले एक्लै जित निकाल्ने अभिव्यक्ति दिन छाडेका छैनन्, संसद विघटन, सत्ताबाट बहिर्गमन र स्थानीय निर्वाचनमा हारसम्मको समग्र समीक्षाका लागि पनि तयार देखिएका छैनन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।