• असार २० २०८१, बुधबार

वडा कार्यालय सफा गर्ने चन्द्रबहादुर सोही वडाको वडाध्यक्ष बनेपछि छायो अचम्मको रौनक

जेष्ठ १४ २०७९, शनिबार

दाङ, १४ जेठ ।
करिव दुई महिना अघिसम्म राप्ति गाँउपालिका वडा नं ८ का चन्द्रबहादुर गुरुङ आफ्नै वडाको कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । विहान ९ बजे कार्यालय जाने, कार्यालय सरसफाई, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानीको व्यवस्था गर्नेदेखि बचेको समयमा सेवाग्राहीलाई समेत सहयोगीको रुपमा सहजीकरणको काम उनले गर्ने गरेका थिए ।

तर वैशाख ३० को चुनावपछि उनको भूमिका फेरिएको छ । वडा कार्यालय आउने सेवाग्राहीलाई कुन काममा आएको सोध्ने र त्यही अनुसार कर्मचारीलाई काममा सहयोग गर्ने चन्द्रबहादुर गुरुङ त्यही वडामा वडा अध्यक्षमा निर्वाचित भएपछि उनको भूमिका फेरिएको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका चन्द्रबहादुरले जनताको चाहनाअनुसार वडाको विकासको काम गर्ने बताउँछन् । “वडाको विकासका लागि कुन आवश्यकता पहिलो हो त्यो पहिचान गरेर विकास निर्माणका काम गर्नेछु, पाँच वर्षको अवधिलाई गर्व गर्न लायक बनाउने मेरो प्रयास हुनेछ” चन्द्रबहादुरले भने ।

उनले दोस्रो तलामा भएको वडाअध्यक्षको कार्यकक्ष आफू निर्वाचित भएपछि पहिलो तलमा झारेको बताए । “वडा जनताको घरदैलोको सरकार हो, यहाँ सबै प्रकारका सेवाग्राही आउनुहुन्छ, माथिल्लो तलामा कार्यकक्ष हुँदा अपांगता भएका व्यक्तिहरु र ज्येष्ठ नागरिक माथिल्लो तलासम्म जान सक्ने अवस्था थिएन, त्यसलाई हटाउनका लागि कार्यकक्ष तल्लो तलामा सारेको हुँ” वडा अध्यक्ष गुरुङले भने ।

जसले गर्दा वडामा आउने सबै सेवाग्राहीले वडाध्यक्षलाई भेट्न सकिन भन्ने उनको अपेक्षा छ । ३२ वर्षीय गुरूङ वडाध्यक्ष जित्नुभन्दा अघि करिब पाँच वर्ष करार सेवामा कार्यालय सहयोगीको रूपमा काम गरेका थिए । राजनीतिदेखि परिवार समेत टाढा रहेको बताउने गुरुङले कार्यालय सहयोगीका रुपमा काम गर्दागर्दै आफूलाई राजनीतिले तानेको बताए ।

“समाज सेवामा सानैदेखि रूची थियो तर, राजनीति गर्ने मन थिएन, त्यही भएर अहिलेसम्म पार्टीमा लागेको पनि थिएन तर, एमाले निकट कर्मचारी संगठनमा आवद्ध थिए, जसले गर्दा उम्मेदवार हुँदै वडाध्यक्ष बन्न मद्दत गर्यो” उनले भने ।

स्थानीय तहको निर्वाचनको चर्चा सुरू भैसकेको थियो तर चुनाव लड्ने उनको सोच थिएन । तर कार्यालय आउने सेवाग्राहीदेखि घरदेखि वडा कार्यालयसम्म आउँदा–जाँदा धेरैले चुनाव लड्न सुझाव दिन थालेपछि उनको मन बदलिंदै गयो । सबै काम जानेको र युवा उठ्नुपर्छ भनेर हौसल्ला दिन थालेपछि चैत महिना कार्यालय सहयोगीबाट राजीनामा दिएर चुनावी तयारीमा लागेको गुरुङले जानकारी दिए । तर वडाध्यक्षका लागि चन्द्रबहादुर लगायत पाँचजनाको नाम सिफारिस थियो ।

निर्वतमान अध्यक्ष गोकर्णबहादुर रानामगर सहितका नाम थिए । जसले गर्दा टिकट पाउनै मुस्किल थियो तर, अन्तिममा पार्टीले विश्वास गरेर उनलाई नै उम्मेदवार बनाउने निर्णय गर्यो । पाँच वर्ष कार्यालय सहयोगीका रुपमा काम गरेका गुरुङको नाम वडावासीको मनमा थियो ।

त्यसैको परिणाम वडाध्यक्षमा गुरुङले ९५० मत प्राप्त गरेर विजयी भए । २०६२ सालमा एसएलसी उत्तीर्ण गरेका गुरुङ गरिबीका कारण तीन वर्ष वैदेशिक रोजगारीका क्रममा साउदी अरब र मलेसिया बसेका थिए । “पढ्न मन थियो तर, सानैमा बुबा बितेपछि आर्थिक अभावका कारण पढ्न सकिनँ” उनले भने ।

पढ्न छोडेपछि कामका लागि विदेश गएर घर फर्किएको थिए उनी । घर फर्किएर पुनः विदेश जाने तयारीमा रहेका बेला निवर्तमान वडाअध्यक्ष गोकर्ण राना मगरले वडामा करार सेवामा कार्यालय सहयोगीको रुपमा चन्द्रबहादुरलाई राखेपछि विदेश जाने योजना त्यागेर वडाको काममा लागेका थिए ।

उनका अनुसार कार्यालयको सरसफाइदेखि चिया, पानी पुर्याउनु, हाकिमको आदेशमा मागेको फाइल पुर्याएर सहयोग गर्नु, कार्यालय सरसफाइ देखि सबै कर्मचारीलाई सहयोग गर्दै आएका थिए । “म बिहान ९ बजेतिर कार्यालय खोल्न पुगिसक्थे र बेलुका कार्यालय समयपछि मात्रै घर फर्किन्थे” उनले भने ।

जनप्रतिनिधिदेखि कर्मचारीहरूले कार्यालयको हितभन्दा पनि व्यक्तिगत लाभ लिन चाहने हुँदा त्यो रोक्न कदम चाल्ने गुरुङको अठोट छ । कार्यालयहरूमा तल्लो तहका कर्मचारीलाई गरिने व्यवहार थप सम्मानजनक बनाउन पहल गर्ने, हरेक नागरिकलाई समान व्यवहार गर्ने योजना उनको छ ।

“ठूलो होस् वा सानो सेवाग्राही सबैलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ, कसैलाई कार्यालयमा विभेद गर्नुहँुदैन” उनले भने । उनले वडाको विकासका लागि जनताको आवश्यकता अनुसार विकास गर्ने र त्यसका लागि निर्वतमान वडाध्यक्षले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।

“पहिला कार्यालय सहयोगीको रूपमा जहाँ काम गरे आज म त्यही कार्यालयको प्रमुख पदमा पुगेको छु, मैले हिजोका दिनहरुमा तल्लो तहबाट काम गर्दा धेरै कुरा महशुस गरेको छु, अबको कार्यकाल त्यही तथ्यलाई आत्मसात् गरी जनताको काम गर्नेछु” वडा अध्यक्ष गुरुङले भने ।