काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’ विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुनमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो ।
‘हाम्रो संसारमा दुष्टताको अस्तित्व कानुन पालन गर्ने नागरिकहरूलाई निःशस्त्र गर्ने कारण होइन… कानुन पालन गर्ने नागरिकहरूलाई हतियार दिने सबैभन्दा राम्रो कारणहरूमध्ये दुष्टको अस्तित्व हो’, राष्ट्रिय राइफल संघका सदस्यहरूसँगको कुराकानीमा उनले भने ।
टेक्सासको एक प्राथमिक विद्यालयमा एक १८ वर्षीय पुरुषले अन्धाधुन्ध गोली प्रहार गरेर २१ जनाको नरसंहार गरेपछि अमेरिकामा बन्दुक नियन्त्रण बारेमा पुनः बहस हुन थालेका छन् ।
अमेरिका आफू हतियार उत्पादन र विक्री गरेर वर्षेनी खरबौं डलर कमाउँछ तर आत्मसुरक्षाका लागि हतियार राख्दा सबैलाई आतंककारी देख्छ ।
अमेरिकी शासकहरुको यही रवैयाका कारण संसारले आज उसलाई साम्राज्यवादीको आरोप लगाइरहेको छ । भनिन्छ अमेरिकीहरुको अर्थतन्त्र हतियार व्यापारमा टिकेको छ र त्यो अब विस्तारै ओरालो लाग्दैछ ।
आफूले हतियार राख्न र मान्छे मार्न पाउने र अरुलाई भने प्रतिबन्ध लगाउने यही परिभाषालाई नै उसले प्रजातन्त्र भनिरहेको छ । उनीहरुको यस्तो खाले व्यवहारको आज संसारभर विरोध भइरहेको छ ।