अहिले मङ्कीपक्स भाइरस अर्को महामारी बनेर संसारभर देखा परेको छ । यसलाई कोभिड–१९ महामारी पछिको अर्को भयावहका रूपमा अथ्र्याइँदै छ । हुन पनि यो भाइरस अमेरिका जस्ता अतिविकसित देशहरूमा फैलिइरहेको छ ।
बिरामी १० जनाको अनुपातमा १ जनाको मृत्यु हुने गरिरहेको यो भाइरसको सङ्क्रमण कोभिड भन्दा पनि भयाबह हुने देखिएको जनस्वास्थ्यविदहरूको आँकलन छ । कोभिड–१९ ले थलिएको विश्व मानव समुदायले योसँगसँगै मङ्कीपक्स भाइरसको त्रास बेहोर्न बाध्य हुनु आफैमा अनपेक्षित कुरा हो ।
यसको सङ्क्रमण सूक्ष्म र ढिलाढाला देखिए पनि असर र परिणाम भने निकै बढी छ । हाल विश्वका १४ देशहरूमा फैलिइसकेको यो भाइरसको सङ्क्रमण व्यापक र घातक हुँदै जाने निस्चित हुँदा पनि नेपाल लगायतका अन्य देशहरूमा यस प्रतिको सचेतना र जागरूकता भने कमी नै रहेको देखिन्छ ।
यो भाइरस ज्यानमारा नहुनेमा सबैको मतैक्यता देखिए पनि रोकथामका उपायहरूका बारेमा भने सबैको कम चासो रहेको पाइएको छ । यो भाइरस नयाँ होइन, पहिलेदेखि नै अफ्रिका लगायतका देशहरूमा देखापरिरहेको हो । तथापि यो यति ज्यानमारा र व्यापक बनेर सर्दैजाला भन्ने कसैलाई पनि आशंका थिएन ।
त्यसैले पनि यो भाइरसका बारेमा व्यापक खोज तथा अनुसन्धान गर्न स्वास्थ्यविद तथा वैज्ञानिकहरू जुटिरहेका छन् । अफ्रिकी देशहरूमा देखिएको यो भाइरस सुरूमा बाँदरबाट मानिसमा सरेको पुष्टि हुन आएकाले यसको नाम मङ्कीपक्स राखिएको थियो ।
अनुसन्धानका क्रममा यो भाइरस मुसा र मुसा प्रजातिमा बढी देखिएको वैज्ञानिकहरूको दाबी छ । यो भाइरसको सङ्क्रमण पनि कोरोना महामारीको सङ्क्रमणसँग मिल्दोजुल्दो रहेको छ । भाइरससर्ने प्रक्रिया पनि उस्तै उस्तै छ ।
पहिलो कुरा त यो भाइरस सङ्क्रामक रोगीले प्रयोग गरेका सामान प्रयोग गर्दा सजिलै सर्ने गर्छ । सङ्क्रमित रोगीले हाछ्युँ गर्दा, थुकको छिटा पर्दा, नजिकै बसेर लामो समय बिताउँदा यो भाइरसले आक्रमण गर्ने गर्दछ । साथै, यो भाइरसबाट सङ्क्रमित बिरामीसँग यौन सम्पर्क गर्दा यो भाइरस सर्ने गर्दछ ।
विश्वव्यापी बन्दै गइरहेको यस भाइरसलाई आवश्यक मापदण्ड अपनाएर समयमै रोक्नु जरूरी छ । नेपाल आफैमा मानव आवतजावतको ‘ट्रान्जिट’ हो । हाल विश्वका मङ्कीपक्स सङ्क्रमित देशहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, इजरायल, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनलगायतका देशहरूमा नेपाली पनि रहेका छन् । र, ती देशहरूबाट नेपालमा पर्यटकहरू पनि आवत जावत गरिरहेका छन् ।
सुरक्षाका लागि २ हप्ता होमआइसोलेसनमा बस्न अनुरोध गरिए पनि यसको कार्यान्वयनमा कडाइ हुन सकिरहेको छैन । अनुगमन पनि छैन । अरू भाइरसजस्तो छिट्टै नदेखिने र रोगका लक्षणहरू पनि ढिला गरी देखिने भएकाले यसप्रति हेलच्याक्राइँ देखिन थालेको छ ।
तर यो भाइरसका बारेमा समयमै जनचेतना जगाउनु जरूरी छ ।