• फाल्गुन २६ २०८२, मंगलवार

इमरान खानको अमेरिका विरोधी जुलुस नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन

जेष्ठ १२ २०७९, बिहीबार

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण अशान्ति बढ्न सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको सरकारले ‘रेड जोन’ सुरक्षाका लागि सेना परिचालन गरेको छ । खान पीटीआई नेता हुन् ।

उनी यसअघि त्यहाँका प्रधानमन्त्री थिए । उनको पालामा उनले पाकिस्तानलाई ऋणमुक्त गराउन धेरै राम्रा काम गरेका थिए । हालको सरकारले उनको आन्दोलनलाई दबाउन अदालत, संसद भवन, राष्ट्रपति भवन लगायतका महत्वपूर्ण क्षेत्रमा सेना परिचालन गरेको हो ।

सरकारी सुरक्षा फौजको अवरोधकाबीच खानले नेतृत्व गरेको जुलुस बिहीबार बिहानै राजधानी इस्लामाबाद प्रवेश गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

‘राजधानी इस्लामावाद क्षेत्रको कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै सरकारले इस्लामिक गणतन्त्र पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत् दिइएको शक्तिको प्रयोगमा पर्याप्त संख्यामा सेना परिचालन गर्ने अधिकार दिइएको छ’, पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले ट्वीटरमा पोस्ट गरेको सरकारी आदेशमा उल्लेख छ ।

देशमा बढ्दो तनावका बीचमा इमरान खानले नेतृत्व गरेको जुलुस राजधानी प्रवेश गरेपछि पाकिस्तान सरकारले ‘महत्वपूर्ण सरकारी भवनहरूको सुरक्षा’ गर्न रेड जोनमा सेना तैनाथ गरेको हो । पाकिस्तानको सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय लगायत महत्वपूर्ण सरकारी भवनको सुरक्षाका लागि उक्त निर्णय गरिएको सरकारी आदेशमा उल्लेख छ ।

यसअघि पूर्वप्रधानमन्त्री खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनलाई लक्षित गरी सरकारले बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकमा अवरोध तेर्साएको थियो ।

अमेरिकी योजनामा खानको सरकार अपदस्त गरिएको हो । खानको सरकार चीन र रुस निकट रहेको आरोपमा अमेरिकाले खानकै पार्टीका नेताहरुलाई किनेर उनको सरकारलाई अल्पमतमा पारिदिएको आरोप लाग्दै आएको छ । आफ्नो बहुमतको सरकारलाई शक्ति प्रयोग गरेर ढालिदिएपछि खानको पार्टी आन्दोलनमा गएको हो ।