• असार २५ २०८१, सोमबार

मेयरमा उठेका कांग्रेस पूर्वसांसद गिरीलाई तुलसीपुरबासीले पत्याएनन्

जेष्ठ ११ २०७९, बुधबार

दाङ, ११ जेष्ठ ।

‘खोलाको खोस्रेर, बाउबाजे पालादेखिका मुहानबाट निकालेर पानी खाने गरिन्छ’, गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा भिड्दै गर्दा चुनावी प्रतिबद्धतामा उम्मेदवार गेहेन्द्र गिरीले पत्रकार सामु भन्नुभयो,‘पानी छान्ने व्यवस्था समेत छैन ।’

उहाँलाई विपक्षीले उपल्लो स्तरको आरोप लगाउँथे । माथिल्लो वर्गकोले निम्न स्तरकालाई वास्ता गर्दैन भनेर जनस्तरबाट कटाउन अनेक प्रयास भएका देखिन्थे । एक कार्यकाल ‘सांसद भएर केहि गरेन’ भन्नेहरु पनि थिए । गत बैशाख ३० गते हुने मतदानका लागि २३ गते नेपाल पत्रकार महासंघ दाङले चुनावी एजेण्डा सम्बन्धि बहस कार्यक्रममा भने त्यस्तो देखिएन । उनको बोलीमा तल्लो वर्गकै प्रतिनिधित्व हुन्थ्योे । ‘महाभारतको जस्तो कथा सुनाउन चाहन्न । गर्न सकिने जति मात्रै बोल्छु’ भन्दै उम्मेदवार गिरीले मन्तव्य शुरु गर्नुभयो ।

त्यो घुमाउरो पारामा विपक्षी (एमाले) लाई घोँचपेच गरेको अनुमान गर्न सकिन्थ्योे । उहाँले अझै पनि यातायात नहुँदा बिरामीलाई डोकामा, खटौलीमा उपचारमा ल्याउने गरेको बताउनुभयो । ‘खेतमा उत्पादन गरेको वस्तु बजारमा ल्याउने व्यवस्था छैन’, उहाँले भन्नुभयो, ‘परिश्रम खेर गएको छ ।’

उहाँले अघिल्ला मेयर घनश्याम पाण्डेको कार्यकाललाई पटक पटक कोट्याउने प्रयास गर्नु भएको थियो । ‘फुसका छाना प्रसस्तै छन्, हटाउन सक्नु भएन विचरा (घनश्याम) त्यहाँ आफ्ना आफ्नालाई दिए, हाम्रो नापे मात्रै भने’, उहाँले थप्नुभयो, ‘म गर्छु भन्या छु । गठबन्धनले गर्छ ।’ उहाँले सरकारले दिने भनेको ३७ वटा औषधि दिन नसकेको, थप गर्ने ठाउँमा सरकारले दिएको सुविधा समेत नदिएको आरोप लगाउनुभयो ।

‘भुईमा बसेर पढ्ने अवस्था छ तिनले के सिक्छन् ?’ उहाँको प्रश्न थियो, ‘विद्यालय जिर्ण अवस्थामा छन् । शैक्षिक गुणस्तर भएन ।’ उहाँका अनुसार भौतिक पूर्वाधारमा ध्यान दिइनेछ । त्यसमार्फत् विद्यालयलाई पढ्दा रमाइलो लाग्ने बनाई गुणस्तर बृद्धि गरिनेछ । ‘वर्षौंदेखि बस्या छाप्रो छ, जोतभोग गरेको छ तर स्वामित्व छैन’ उहाँले भन्नुभयो, ‘न बैंकले पत्याउँछ, न साहुले ऋण दिन्छ ।’

उहाँले अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने भन्नुभयो । सुकुम्वासी समस्या सामाधान गर्न लागि पर्ने बताउनुभयो ।
‘ठेला नगरपालिकाले लगेको छ, हामीले जितेपछि जजस्को हो लैजाउ भन्छौँ’ उहाँले थप्नुभयो, ‘स्मार्ट सिटी कल्पना भयो कार्यन्वयन गरिएन ।’

उहाँले ‘जहाज पनि ल्याइदिन्छौँ । ग्याँस पनि बाल्दिन्छौँ भनेर मात्रै हुँदैन । एक सय वर्षपछि हुने कुरा अहिले किन गर्ने ? गर्न सक्ने गरौँ नसक्ने कुरा गरिने छैन’ भन्नुभयो ।

‘खेती गर्दैन, पूर्जा छ उसले सरकारका अनुदान पाउँछ’, गिरीले भन्नुभयो, ‘घस्रेको छ, लोटेको छ, काम गरेको छ मेहनत गर्छ उसले पाएको छैन ।’ उहाँका अनुसार पशुपन्क्षी पालेको छ भने राज्यले प्रोत्साहन दिनुपर्छ । ढुकुटी रित्याउन नक्कली किसानलाई पैसा दिनु हुँदैन । ‘हलोले जोतेर मात्रै हुँदैन’ उहाँको भनाई थियो, ‘जेटिएहरुलाई तालिम दिन गाउँ गाउँ पठाउनुपर्छ । मल बिऊ र हलो अनुदान दिनुपर्छ ।’

उहाँले बाटो, विजुली, सिचाईलाई मुख्य प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो । उहाँका अनुसार नेपालगञ्जले ६०÷७० सिटे जहाज तुलसीपुर बसोस् भन्ने चाहन्न, किन भने यत्रो जहाज चलेपछि हुम्ला, जुम्ला, डोल्पा यहिँबाट जान्छ, उताको व्यापार व्यवसाय र चल्दैन । त्यसैले तुलसीपुर आफैले पहल गरेर नियमित जहाज ल्याउनुपर्छ । संस्कृतिमा पश्चिमाहरुको अट्याक भइरहेको छ । भाषा, कला र संस्कृति समाप्त भए हामी पनि समाप्त हुन्छौँ ।

नेपाली चिनाएकै संस्कृतिले हो । चमेरे गुफा, कालिका–मालिका मठमन्दिर र गुम्बा प्रवद्र्धन गर्नुपर्छ । अब सरसफाई अभियान चलाउनुपर्छ । सडकका खाल्टाखुल्टी पुर्नुपर्छ । चरीचरण बन्द गरेर वृक्षारोपण गर्नुपर्छ । त्यो हामीले सक्छौं । गठबन्धनले गर्छ ।

चुनावी अन्तिम परिणाम आउन बाँकी छ । त्यहाँ ७४ हजार ३ सय ३६ मत खसेको थियो । यो समाचार तयार पार्दासम्म ७२ हजार तिन सय १२ मत गणना भइसकेको छ । जसमा नेकपा एमालेका टिकाराम खड्काले ३० हजार पाँच सय ६८ मत पाउनुभएको छ । गठबन्धनको तर्फबाट पूर्वसांसद गिरीले २७ हजार ४३ मत ल्याउनुभएको छ । यसले गर्दा टिकारामको जित सुनिश्चित भइसकेको तथ्यांकले देखाउँछ ।

‘तपाईं २०५६ सालमा सांसद हुनुभयो के गर्नुभयो ? पत्रकार गणेश आचार्यले सोध्नुभएको थियो, ‘पाँच वर्ष सांसद हुँदा टरिगाउँ विमानस्थलमा एकदिन जहाज बसेन किन ?’ यसको जवाफमा पूर्वसांसद गिरीले आफू तत्कालीन क्षेत्र नम्बर ५ को सांसद भएकाले आफ्नो क्षेत्रमा नपरेको जवाफ दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर उहाँको क्षेत्रमा पर्दैन्थ्यो । सांसद विकास कोषको खर्च गर्न मिल्दैन्थ्यो । आयल निगमको जग्गा खरीद गर्न टेण्डर भयो, कसैले पनि जग्गा दिन नमानेपछि अघि बढ्न सकेन । जग्गा दिन कोहि तयार भएको भए उसैबेलादेखि इन्धन डिपोको काम अघि बढ्थ्यो । व्यक्तिको स्वामित्वको जग्गा राज्यले अधिग्रहण गर्न मिल्दैन ।

निजी सम्पती राज्यले हरण गर्न नमिल्ने भएकाले काम रोकिएको स्पष्टीकरण दिनुभयो । उहाँले कैयौं जनपक्षीय कुरा उठाएर चुनावी अभियान चलाउनुभयो । धेरैले सांसद भई सकेको व्यक्तिले मेयरमा रहर नगरेको भए हुन्थ्यो भनिरहेका थिए । युवा पुस्ताले तयार छु भनिरहँदा पदको लोभ देखाएको स्थानीय जानकारहरुको आरोप छ ।

उहाँले भने सेवा गर्न भन्दै उम्मेदवारी दिनुभयो । निम्न वर्गका सवाल र समस्या बोकेर भिड्नुभयो । गठबन्धनको उम्मेदवार भएकाले हाहा र होहो पनि निकै ठूलो थियो । अघि पछिको भिडभरोकापनि प्रशस्तै लाग्थ्यो । नेता कार्यकर्ताले साथ दिएपनि मतदाताले पत्याएनन्

। त्यसैको परिणाम पूर्वसांसद गिरी हारको घोषणा पर्खिनुपर्ने हदमा झर्नु भएको छ । तुलसीपुर १७ र १९ मा मत गणना जारी छ । केहिबेरपछि अन्तिम परणाम आउने भएपनि मंगलवार साँझदेखि नै खड्काले बधाई खान शुरु गर्नुभएको हो । गिरीले आफ्नो अन्तिम मत पर्खिनुपर्ने बाध्यतामा झर्नुभयो ।