• फाल्गुन २६ २०८२, मंगलवार

चीनले ताइवानलाई चलाए अमेरिकाले सैन्यशक्ति प्रयोग गर्छ: बाइडेन

जेष्ठ ९ २०७९, सोमबार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे आफूहरुले सैन्य शक्ति प्रयोग गर्ने चेतावनी दिएका छन् ।

उनले जापानी प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । संयुक्त पत्रकार सम्मेलनमा बाइडेनलाई सोधिएको थियो– तपाईं ताइवानको रक्षा गर्न सैन्य शक्ति प्रयोग गर्न इच्छुक हुनुहुन्छ? जवाफमा बाइडेनले भने– ‘हो, हामीले त्यही प्रतिबद्धता गरेका छौँ।’

चीनले बल प्रयोग गरेर ताइवान कब्जा गर्ने प्रयास गरे युक्रेनमा जस्तै अवस्था आउने पनि बाइडेनले बताए। ‘ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्न सकिन्छ भन्ने विचार अनुपयुक्त छ। त्यसले यो समग्र क्षेत्रलाई अस्तव्यस्त तुल्याउनेछ र युक्रेनमा जे भयो, त्यस्तै यहाँ पनि हुनेछ,’ बाइडेनले भने।

बाइडेनको अभिव्यक्ति अमेरिकाले ताइवान सम्बन्धमा दशकौँदेखि अपनाउँदै आएको ‘रणनीतिक अस्पष्टता’को नीतिसँग बाझिएको छ। जुन नीतिअन्तर्गत अमेरिकाले चीनद्वारा आक्रमण भए ताइवानको रक्षा गर्छ या गर्दैन भन्ने स्पष्ट पार्दैनथ्यो।