• असार २५ २०८१, सोमबार

देउवा र प्रचण्डले गढ ठानेको घोराहीमा एमालेको जित !

जेष्ठ ८ २०७९, आईतवार

८ जेठ । ‘यस्तो एकता कहिँ पनि छैन’ चुनावी सभालाई सम्बोधन गर्दै गत बैशाख २५ गते शहिद मञ्च घोराहीमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भन्नुभएको थियो, ‘यसलाई अगाडि बढाउनुहोला’ । उहाँ बोल्दा सहिद मञ्चमा ठुलो जुलुस थियो । गठबन्धनले शक्ति प्रदर्शनका रुपमा लिएको र विपक्षले अर्थपुर्ण रुपमा हेरेका थिए ।

‘भूमिगत कालमा देउवा प्रम हुँदा फोनमा दाङबाटै शान्तिवार्तामा जाउँ भनेको थिएँ’ गठबन्धनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘अहिले फेरि सहकार्यमा छौँ ।’ उहाँले १२ बुँदे सहमतिले देशमा शान्ति ल्याए जस्तै अर्को कुनै ठुलै परिवर्तनको संकेत गर्नुभएको थियो । घोराहीमा भएको त्यस सभालाई निकै महत्व दिनुभयो । सबै भन्दा बढि चर्चा माओवादी कांग्रेस मिलेकोमा थियो ।

‘मुख्य त कांग्रेस र माओवादीले बडो हार्दिक सम्बन्ध बनाउनुभयो’ उहाँले थप्नुभयो, ‘सहमति र सहकार्यको नमूना बनाउनु भयो । नयाँ उदाहरण प्रस्तुत गर्नुभयो । हार्दिक बधाई छ ।’ उहाँ यसरी बोलिरहँदा मञ्चभरी माओवादी कांग्रेसका नेता र चउरभरी चारतारे र हँसिया–हतौडा अंकित झण्डा बोकेको हजारौँ जनता र कार्यकता थिए । उनीहरु भाषणका शब्द शब्दमा ताली बजाएर खुशी व्यक्त गर्दै उत्साह भर्थे ।

जनमासको समर्थन युक्त प्रतिकृयाले अझै उत्तेजीतहुँदै अध्यक्ष प्रचण्डले भन्नुभएको थियो, ‘सहमती सहकार्यका के हो ? विकास र समृद्धि कसरी हुन्छ, दाङको उदाहरण नजिक बाट हेर्न यसबाट सिक्न अपिल गर्न चाहन्छु । यो उदाहरण निकै प्रशंसनिय छ ।’

यसो भनिरहँदा उपस्थित जनमासले पररररर्र ताली दिएको थियो । मञ्चमा आसिन अगुवाले चेहरा उज्यालो बनाए । कतिपय खिसिक्क हाँसे पनि । चुनाव जितियो भनि खासखुस गरे । तिनको भनाई थियो, अब मतदान र गणना प्राविधिकक कुरा बाँकी छ । त्यो प्रकृया पुरा गर्ने हो ।

चुनाव चाहिँ जितियो । लामो पखाईपछि साँझपख हेलिकप्टरबाट आउनुभएका अध्यक्ष प्रचण्ड र सभापति देउवा जिसस कार्यालयतिरबाट सभास्थलमा भित्रिनुभएको थियो । अदालतदेखि घोराही उपमहानगरपालिकाको कार्यालय सम्मको त्यो बाटो पूर्ण विहानैदेखि रुपमा बन्द गरिएको थियो ।

नेपाली सेना, शसस्त्र, जनपथ प्रहरी र म्यादी प्रहरी राष्ट्र प्रमुखको सुरक्षार्थ खटिएका थिए । प्रचण्ड प्रवेश गर्दैगर्दा मञ्चको दायाँ किनारामा बसेका सहभागिले ताली बजाएर स्वागत सम्मान गरेका थिए । त्यसले प्रचण्डप्रतिको नेता कार्यकर्ताको मोह पनि बलियो छ भन्ने झल्काउँथ्यो ।

त्यसको अघिल्लो दिन बैशाख २४ गते घोराही १५ बेसमेन्ट क्याफेमा बृहत पार्टी प्रवेश कार्यक्रममा माओवादीका प्रवक्ता नेता कृष्णबहादुर महराले चुनाव जित्नेमा निश्चित देखिनुहुन्थ्योे ।

‘घोराहीको दाङको विकासमा समृद्धिसँग डाइमण्ड भुपबहादुरसग जोडिनुस् निरन्तर अगाडी बढ्ने कुरामा म तपाईसँग साथ दिने विश्वास व्यक्त गर्दछु ।’ उहाँले केन्द्रबाट साथ दिने र तलबाट मतदाताले जिताउने आशय थियो ।

निर्वाचनमा गठबन्धनको माहोल बनाउन प्रेस युनियन र प्रेस सेन्टरले बैशाख १५ गते संयुक्त पत्रकार सम्मेलन आयोजना गरे । नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली कांग्रेस नेता दिपक गिरीले ‘हात मिलेका मात्र होइन मुटु पनि मिलेका छन्, हिजोका कुरा भुलिदिन अनुरोध गर्दछु ।’ भन्नुभएको थियो ।

त्यसकै अघिल्लो दिन १४ गते घोराही १४ को सभाहलमा भएको गठबन्धन दलको संयुक्त प्रशिक्षण कार्यक्रममा मेयर पदका उम्मेदवार हेमराज शर्मा डाइमण्ड र उपमेयरका उम्मेदवार भुपबहादुर डाँगीले हामी मामाभान्जा भन्दै भावनात्मक उत्तेजना फैलाएका थिए । त्यसले पनि कांग्रेस र माओवादी मिलेको सन्देश आम कार्यकर्तामा दिएको थियोे । गठबन्धनको माहौल सकारात्मक बन्दै गएको भन्दै उत्साहित बने ।

जसै चुनावी परिणाम सार्वजनिक भयो यस अघि जितेका घोराही १२, १४ र १७ माओवादीले गुमायो । त्यहाँ नेकपा एमालेका अध्यक्षले विजय हासिल गरे । मतगणना सकिँदा सम्म नेपाली कांग्रेसले पनि आफूले जितेका घोराही ३, ५ र ६ गुमायो ।

विहीवार अन्तिम मत परिणाम आउँदा मेयर नेकपा एमालेका नरुलाल चौधरी र उपमेयर हुमा डिसी विजयी हुनुभयो । नेकपा एमाले १३ वटा वडा सहित बहुमत प्राप्त सबै भन्दा ठूलो दल बन्यो । कांग्रेस घोराही १३ र १६ मा निकै झिनो मतान्तरले विजयी भयो । कांग्रेसका किल्ला भनिएको १५ मा मत निकै कम खस्यो ।

गठबन्धनबाट १० र १९ मा कांग्रेसका उम्मेदवारहरु विजयी भए । एकिकृत समाजवादी एक ठाउँ पनि आएन । बरु राप्रपाले मेयरमा पाँच हजार बढी मत ल्यायो ।

मेरो श्रीमान मारिदिनेलाई म कसरी भोट दिउँ ? मैले त शुरु देखि नै गठबन्धनलाई भोट दिन्न भन्या हुँ । जनयुद्ध कालमा डाइमण्डले सिग्नेचर गरेका चिठी आउँथे भन्नेहरु पनि छन् । कांग्रेस भित्रको एक पक्षले अर्कोलाई हराउने खेलपनि हावी भएको छ ।

क्षेत्रीय सभापति गिरिराज सुवेदीले घोराही–४ को सदस्य पदमै परायजय भोग्नुभयो । यसैगरी घोराही–१७ मा किरण रेग्मीले सदस्य पदमै पराजय भोग्नुभयो । चुनावको मुखैमा माओवादी इन्चार्ज जीवन गौतम र घोराही नगर अध्यक्ष प्रमोद शर्माले रुँदै पार्टी परित्याग गरेको विषय सामान्य थिएन । त्यसले पनि चुनावी माहोलमा नेताहरुले अनुमान गरेभन्दा बढि नकारात्मक प्रभाव पारेको परिणामले देखाउँछ ।

बाहिर मिलेको देखिएपनि भित्रभित्रै डर लाग्दो अन्तरघात पुष्टि भएको जानकारहरु बताउँछन् । कांग्रेस एक नहुनुनको परिणाम भनेर धेरैले अर्थ लगाएका छन् । आन्तरीक सर्वेक्षण, विभिन्न क्षेत्रबाट संकलित सूचनाहरु र समाधान गर्ने कसरथहरु असफल भएका छन् ।

बागी नउठेर कांग्रेस-माओवादी मिलापको सन्देश दिएको घोराहीले देउवा र प्रचण्डको नमुना शब्दलाई खारेज गरिदिएको छ । गठबन्धनले लज्जास्पद हार व्यहोरेको छ । एमालेले घोराहीमा गठबन्धनलाई गतिलै मतान्तरले पराजित गरेको छ ।