काठमाडौं । २४ मंसिर २०७८ मा कांग्रेस महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्षलाई लक्षित गर्दै भनेका थिए- ‘भर्खर भर्खरको बाच्छो हिड्न जान्दैन अलि बढि कुद्छ क्या’ ।
भर्खरै राप्रपाको महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्गदेन निर्वाचित भएर राप र तापका साथ अगाडी बढेका थिए । अध्यक्ष जितेका लिङ्देन उर्जाका साथ कांग्रेस महाधिवेशनमा शुभकामना दिन आएका थिए ।
शुभकामना दिन आएका लिङ्देनले मन्तव्यको क्रममा भने- ‘नेताप्रति जनताको विश्वास मरेको अवस्था छ, कुन चोर आएछ त्यहाँ भनेर सम्झन्छन्,’ लिङ्देनले भनेका थिए, ‘हाम्रो अवस्था यो छ, कहाँनेर त्रुटी रह्यो? हामी कहाँनेर चुक्यौ ? यसतर्फ हाम्रो ध्यान जानुपर्छ।’ नेताहरुलाई चोर जनताले किन भने भनेर समिक्षा गर्नुपर्छ भन्ने उनको तर्क थियो । तर, उनको कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मन परेन । महाधिवेशनमै प्रचण्डले कुनै एक नेता भनेर राजेन्द्र लिङ्देनको नाम लिन चाहेनन् ।
माओवादी अध्यक्ष प्रचण्डलाई लिङ्देनको भनाईले च्वास्स बिझायो । त्यसपछि प्रचण्डले शुभकामना मन्तव्यका क्रममा राप्रपा अध्यक्षले बोलेको अभिव्यक्तिलाई लक्षित गर्दै हामी चोर हो त भनेर जनसभामा प्रश्न गरे । जनमानसले ‘हो हो’ भने त्यसपछि उनले कुरा मोडे । प्रचण्डपछि बोल्ने पालो आयो एमाले अध्यक्ष केपी शर्मा ओलीको । ओलीको मनमा पनि राप्रपाका अध्यक्ष लिङ्देनको कुराले भित्रैसम्म बिझेछ । ओलीले लिङ्देनलाई कटाक्ष गर्दै ‘बाच्छो’ सँग तुलना गर्न भ्याइहाले । ओलीको भनाई मनमा लिएका लिङ्देनले पाँच महिनापछि गठबन्धनमा चुनावमा जाने निर्णयमा पुग् । पाँच महिनापछि त्यही भर्खर जन्मेको ‘बाच्छो’ ले आफ्नै गृह जिल्ला झापामा लात्ती हान्दा केपी शर्मा ओलीको पार्टी पछारिन पुग्यो । जसले केही हदसम्म लिङ्देनलाई सन्तुष्टि मिल्यो । लिङ्देन जसरी पनि एमाले अध्यक्ष ओलीलाई बाच्छोको तागत देखाउन चाहन्थे ।
सोही अनुसार नै ३० वैशाख २०७९ मा भएको स्थानीय तहको चुनावमा लिङ्देनले एमाले अध्यक्ष ओली हराउने गरी झापाको दमक नगरपालिकामा ६ दलीय गठबन्धन बनाए । गठन्धनकै बलमा झापामा एमालेलाई राप्रपाले पछार्यो । एमाले उम्मेदवार गीता अधिकारीलाई ९८९ मतले पराजित गर्दै दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा विजयी भए । थापाले १७ हजार ९२५ मत ल्याए। पराजित एमालेकी गीताले १६ हजार ९३६ मत ल्याइन् ।
त्यसैगरी उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मतसहित विजयी भइन । पराजित एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत पाए ।