• मंसिर ११ २०८१, मंगलवार

तपाईंले सुन्दर चराहरुको बारेमा यति रोचक जानकारी लिनु भएको छ ! ?

जेष्ठ ४ २०७९, बुधबार

विश्वमा अनेकौं थरिका चराहरु पाइन्छन् । आकारका हिसाबले, रंगका हिसाबले, आवाजका हिसाबले र वासस्थानका हिसाबले चराहरु विभिन्न प्रकारका छन् । चरा अध्ययन गर्ने संस्थाहरुका अनुसार विश्वमा ११ हजार प्रजातिका भन्दा पनि बढी प्रजातिका चराहरु पाइन्छन् ।

नेपालमा गरिएको तथ्याङ्कका अनुसार यहाँ ८९० प्रजातिका चराहरु पाइन्छन् । विश्वमा भएका चराहरुमध्ये झन्डै ४० प्रतिशत चराहरु नियमित रुपमा हावापानी अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्दछन् ।

चराले आफ्नो प्रजनन क्षेत्रमा सहजरुपमा जिउनको लागि चरन क्षेत्रसम्म हरेक वर्ष नियमित रुपमा यात्रा गर्ने गर्दछन् । चराहरुको यही यात्रालाई चराको बसाइँ सराई भनिन्छ । चराले बसाइँ सराई गर्दा कुनै एक ठाउँबाट अर्को ठाउँमा, एक देशबाट अर्को देशमा अथवा एक महादेशबाट अर्को महादेशसम्म वा एक गोलार्द्धबाट पृथ्वीको अर्को गोलार्द्धसम्म पनि बसाइँ सराई गर्दछन् ।

चरालाई सुरक्षित वासस्थान, चरनको लागि सुविधा, प्रजननको लागि शान्त वातावारण, अनुकूल मौसम, बच्चा कोरल्नको लागि उपयुक्त तापक्रम आदि सुविधा अथवा अनुकूलताको लागि बसाइँ सराई गर्दछन् ।

चराहरुले बसाइँ सराई गर्दा एकैखालको बाटो प्रयोग गर्दछन् । जसलाई चराविदहरुले ‘उडान मार्ग’ भन्दछन् । विश्वमा यस्ता उडान मार्ग करिब नौ वटा पहिल्याएका छन् । नेपालमा पनि एउटा उडान मार्ग ‘एसियाली उडान मार्ग’ पर्दछ ।

बसाइँ सराई गर्दा चराहरुले आफ्नो लक्षित स्थानमा पुग्न सूर्य तथा अन्य ताराहरुको अवस्थिति, प्राकृतिक रुपमा रहेका पहाड पर्वत, खोलानला आदि भौगोलिक चिजबिजहरुलाई आधार मानेर बाटो पहिल्याउँछन् ।

चराविदहरुले यसबारे अझै थप विषयवस्तु पनि पत्ता लगाएका छन् । चराहरुको आफ्नै वंशाणुगत गुण तथा चुम्बकीय दिशा र ऋतु अनुसारको हावाको बहावहरुले पनि आफ्नो उडान मार्ग पत्ता लगाई बसाइँ सराई गर्दछन् ।

हरेक वर्ष अंग्रेजी महिनाको मेको दोस्रो शनिबारलाई विश्व बसाइँ सराई चरा दिवसको रुपमा मनाइन्छ । यो दिवस मनाउनुको तात्पर्य बसाइँ सराई गर्ने चराको संरक्षणको लागि हो ।

तिनीहरुको आहार, वासस्थान र उडान मार्गको लागि विश्वव्यापी रुपमा हातेमालो गरी बसाइँ सराई गर्ने चराहरुको सहजताको लागि सचेतना अभिवृद्धि गर्ने मूल उद्देश्यले नै यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि झन्डै १५० भन्दा बढी प्रजातिका चराहरु हिउँदयाममा पनि उत्तरी भूगोलको अत्यधिक चिसो र भारी हिमपातबाट बच्न रुस, चीन, मंगोलियाका साथै युरोप, कोरिया र छिमेकी तिब्बतबाट बर्सेनी नेपालको तल्लो हिमाली भेग, पहाड र तराईमा हजारौं चराहरु बसाइँ सराई गरी आउने गर्दछन् । यहाँ रहेका सिमसार, ताल, तलैया नदी र जंगलहरुमा बसोबास गर्दछन् ।

त्यसैगरी नेपालको बाटोहुँदै मध्यएसियाली उडान मार्ग प्रयोग गरी झन्डै १५० भन्दा बढी प्रजातिका चराहरु भारतका विभिन्न स्थनपाकिस्तान, श्रीलंका र अफ्रिकासम्म पनि बसाइँ सराई गर्दछन् ।

नेपालमा आउने आगन्तुक चराहरु विशेष गरी पानीमा रहने पानी चराहरु जस्तै सिकारी चरा, बगेडी, चाँचर । साना फिस्टा अर्जुनक, झ्याप्सी, भद्राई जस्ता चराहरु हुन्छन् । यी आगन्तुक चराहरु आउनेक्रम भदौ महिनाको शुरु वा मध्यदेखि पुस महिनाको मध्येसम्म जारी रहन्छ ।

यिनीहरु चैत महिनाभित्र आफ्नो वासस्थानमा फर्कन्छन् । तिनीहरुले आफ्नै वासस्थानमा प्रजननको लागि फर्कंदा अर्को समूह गृष्मकालीन आगन्तुक चराहरु भारत श्रीलंका र अरिकाबाट बच्चा कोरल्न नेपालमा आउँछन् ।

यसरी चराहरुको आवागमन नेपालमा श्रृंखलावद्ध रुपमा चलिरहन्छ । नेपाल एउटा हिउँदे आगन्तुक र गृष्मकालीन आगन्तुक चराहरुको लागि स्वर्ग भूमि हो । नेपालमा करीव ६२ प्रजातिका गृष्मकालीन आगन्तुक चराहरु नेपालमा आउँछन् ।

यो बेला आउने चराहरु विशेष गरी कोइली प्रजातिका र मुरलीचरी, सुनचरी, स्वर्गचरी, पिट्टा, कटुस टाउके आदि पर्दछ् ।

यी गृष्मकालीन आउने चराहरु नेपालमै बच्चा कोरली हुर्केर असोजसम्ममा आफ्नो वासस्थान फर्कन्छन् ।

जुरे कोइली अफ्रिका महादेशमा पाइने चरा हो । यो चरा करिब पाँच हजार भन्दा बढी किलोमिटर दुरी पार गर्दै हरेक वर्ष गृष्म ऋतुमा नेपाल बसाइँ सराई गर्द । चराहरुको बसाइँ सराई चाख लाग्दो हुन्छ ।

सन् २०२६ चीनका चराविदहरुले बेइजिङबाट कुक्कु कोइलीलाई स्याटेलाइट ट्याग जडान गरेर अध्ययनको लागि पठाएका थिए । पछि ती चराविदहरुले उक्त कुक्कु कोइलीलाई पछ्याउँदै जाँदा एक वर्षमा १६ राष्ट्र हुँदै झन्डै २७ हजार किलोमिटर दुरी पार गर्दै अफ्रिकासम्म पुगेको पत्ता लगाएका थिए ।

झन्डै आधा संसार घुमेर सो चराले रोचक यात्रा गरेको थियो । त्यसैगरी नेपालमा गृष्मयाममा आउने खैरो गौंथलीले पनि १० महिनासम्म आकाशमा उडेको उड्यै गर्न सक्ने कुरा चराविदहरुले बताएमा छन् ।

नेपालमा बसाई सराई गरेर आउने चराहरुलाई हामीले न्यानो स्वागत गर्न सके चराको संसार बचाउन नेपालले पनि योगदान गरेको ठहरिन्छ । यसको लागि उनीहरुलाई उपयुक्त वासस्थानलाई दिनुपर्दछ ।

उनीहरुको बस्ने वातावरण बिगारिदिनु हुँदैन । कृषि कर्ममा जथाभावी रुपमा रासायनिक किटनाशक औषधिहरु प्रयोग गर्नु हुँदैन । प्राकृतिक रुपमा रहेका जलस्रोतहरुलाई विषादीयुक्त बनाउनु हुँदैन । सिमसार क्षेत्र वन, अतिक्रमण गर्नुहुँदैन ।

वनमा हुने आगलागी र चराको चोरी सिकार गर्ने जस्ता कार्यहरु बन्द गर्नुपर्दछ । चराको बसाइँ सराई गर्दा उडान मार्गलाई बाधा अड्चन पुर्याउनु हुँदैन । हामी जस्तै यो सुन्दर धर्तीमा उनीहरुलाई पनि बाँच्न दिनुपर्दछ । मानिसको साथी चराको लागि पनि यो संसारको सुन्दरता बचाइराखौं ।