• मंसिर ८ २०८१, शनिबार

झडप र विवादका कारण निर्वाचन स्थगित भएका १४ स्थानमा मतदान कहिले हुँदैछ ?

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । राजनीतिक दलहरूबीच विवाद हुँदा स्थगित भएको ८५ मध्ये १० मतदान केन्द्रको पुनः मतदान हुने मिति तय भए पनि अन्यको अझै अनिश्चित छ ।

पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले स्थगित भएको स्थानमा मिति तय गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ । आयोगमा अबेरसम्म १४ मतदान केन्द्रको मात्रै प्रस्तावित मितिबारे जानकारी गराएको छ । तीमध्ये १० वटामा ३ गतेभित्रै निर्वाचन गर्न मिति तय भइसकेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको क र ख मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका १ भगवती मावि, कालिकोटकै पचालझरना गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका–७ सुनीपीपलचौर मावि क र ख मतदान केन्द्रको निर्वाचन आइतबार हुँदै छ ।

आयोगका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि क, ख र गमा सोमबार निर्वाचनको मिति तय गरिएको छ । रामेछापको खाँडादेवी नगरपालिकामा पनि सोमबारै निर्वाचन हुँदै छ । कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको थियो ।

बझाङको केदारस्युँ गाउँपालिका–४ जगनाथ माविको क र ख मतदान केन्द्र, बझाङको सुर्मा गाउँपालिका–७ कृष्ण प्रावि मतदान केन्द्र र सुर्मा–८ को आधाबगर माविको क र ख मतदान केन्द्रको निर्वाचन पनि सोमबारलाई तय भएको आयोगले जनाएको छ ।

आधारबगरमा एउटै व्यक्तिले दोस्रो पटक पनि मतदान गर्न खोज्दा विवाद भएपछि मतदान अवरुद्ध भएको थियो । यस्तै काभ्रेको पाँचखाल नगरपालिका–१३ श्रीराम मावि कोसीदेखाको क र ख मतदान केन्द्रमा मंगलबार निर्वाचन हुने भएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका शंकर माविको मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास विजय मावि क र ख मतदान केन्द्र, रौतहटको फतवाविजयपुर नगरपालिका ७ स्वास्थ्यचौकी क र ख मतदान केन्द्र, देवाही गोनाही नगरपालिका २ जनप्रिय प्रावि क र ख मतदान केन्द्रको निर्वाचन जेठ ३ भित्रै गराउन गर्न प्रस्ताव आए पनि अझै निर्णय भइसकेको छैन ।

आयोगले ५० प्रतिशतभन्दा कम मतदान भएको स्थानबाट उजुरी परेमा पुनः मतदान गराउने रणनीति लिएको छ । आयोगले साँफेबगरमा १६ प्रतिशतमात्रै मत खसेको मतदान केन्द्रको पुनः मतदान गराउने निर्णय गरेको छ ।

मतदान स्थगित भएका स्थानमध्ये बाराको पचरौता, रौतहटको देवाही गोनाही नगरपालिका–२ को मतदान केन्द्रमा मतपत्र नपुग्ने जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

त्यस्तै, रौतहटको यमुनामाई, गढीमाई, बोधीमाई, गरुडा नगरपालिकामा स्थगित भएको मतदान केन्द्रमा पनि मतपत्र फेरि छाप्नुपर्ने भएको छ । यस्तै, रौतहटको गरुडा नगरपालिका, सिराहाको गोलबजार नगरपालिकामा स्थगित भएको मतदान केन्द्रको पनि पुनः मतपत्र छाप्नुपर्ने भएको छ ।

बाजुराको बूढीगंगा नगरपालिकाको पनि मतपत्र छाप्नुपर्ने भएको छ । पुनः मतदान हुने सबै स्थानमा मतदान अधिकृतलगायत सबै कर्मचारी परिवर्तन गरिने आयोगले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।