काठमाडौं । सरकारले सार्वजनिक बिदा कटौती नगरी सातामा दुई दिन बिदा दिन लागेको छ । सरकारको यो निर्णय आज आइतबार (जेठ १) देखि लागु हुँदैछ ।
अब २०७९ मा सार्वजनिक बिदा मात्रै १ सय ४७ दिन हुनेछ । यसबाट सेवाग्राही मारमा पर्नेछन् भने सरकारले उठाउने राजस्वमा समेत नकारात्मक प्रभाव पर्नेछ । यो समाचार नागरिक दैनिकमा छ ।
२०७८ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा कटौती गरी सातामा दुई दिन बिदा दिने र यसका लागि एउटा कार्यविधि बनाउने निर्णय गरेको थियो । तर सार्वजनिक बिदा नगरी सरकारले सातामा दुई दिन बिदा दिन लागेको हो ।
नेपाल आयल निगमको सिफारिसमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । सातामा दुई दिन बिदा दिँदा इन्धन कटौती हुने आयल निगमको बुझाइ छ ।
सरकारी कर्मचारीहरूलाई वर्षभरि दिइने सार्वजनिक बिदामा थप शनिबार र आइतबार जोड्दा उनीहरूले वर्षभरि १ सय ४७ दिन सार्वजनिक बिदा पाउँछन् । यसबाहेक सरकारी कर्मचारीहरूले थप बिदा सुविधा पाउँछन् ।
निजामती सेवा नियमावलीअनुसार नेपालमा सरकारी कर्मचारीले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन् ।
यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधा समेत उनीहरूले पाएका हुन्छन् । यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ ।
सरकारले यो वर्ष दशैं बिदा थप एक दिन बढाएको छ । यसअघि दसैं बिदा पाँच दिन हुने गथ्र्यो भने यो वर्ष ६ दिन हुनेछ । यो वर्ष फूलपातीदेखि टीकाको पर्सिपल्ट द्वादशीसम्म सरकारले बिदा दिने भएको छ ।
यसैगरी यस वर्ष तिहार बिदा पनि थप गरिएको छ । राजपत्रमा निकालिएको सूचनामा यो वर्ष पाँच दिन तिहार बिदा दिइएको छ ।
जेठ १ गतेदेखि दिन लागिएको सातामा दुई दिन बिदा दिने प्रथा परीक्षणकालका रूपमा मात्र भएको बताइएको छ । सातामा दुई दिन बिदा दिने यो निर्णय पहिलोपटक गरिएको भने होइन ।
२३ वर्षअघि २०५६ सालमा आइतबार र शनिबार बिदा दिन थालिएको थियो । तर ६ महिनाकै अन्तरालमा सातामा दुई दिन बिदा दिने निर्णयबाट सरकार पछि हटेको थियो ।
२०४७ सर्वोच्च अदालते अदालतमा सातामा दुई दिन बिदा दिने निर्णय लागु गरेको थियो । तर त्यो निर्णय पनि धेरै लामो समय टिकेन ।