काठमाडौंको गोंगबुँ क्षेत्र काठमाडौँको अन्न भण्डारको रुपमा रहेको थियो । एक जमानामा यस क्षेत्र झोर, साङ्गलादेखि कालिमाटीसम्म विष्णुमतिको दायाँ बायाँ किनारा फैलिरहेको थियो । त्यसैगरी काठमाडौँको पूर्वको अन्न भण्डारको रुपमा मनहरा फाँटलाई सकिन्थ्यो । ती लोभ लाग्दा प्रसस्त अन्न उत्पादन हुने क्षेत्र हिजो आज कंक्रिटको जंगलको रुपमा परिणत भैसकेका छन् ।
त्यसैगरी पवित्र बागमती र विष्णुमति नदीहरु ढल बग्ने ढलमतिमा परिणत भैसकेका छन् । यसैलाई हिजोआज विकास भन्न थालिएको छ । प्रकृति र खेतीयोग्य जमीन नष्ट गरेर घर ठड्याइनुलाई विकास भनिएपनि त्यो विकसित भनिएका देशहरुले गर्ने परिभाषा हो । विदेशी मल अर्थात् देशीमल नै नआएको बेलामा जमिन भित्रको कालीमाटी निकालेर यहाँका पुर्खाहरुले आफ्नो पसिना बगाई काठमाडौँ बासीलाई मात्र नभई वरपरका ससाना शहरहरुमा समेत पुग्ने गरी अन्न र तरकारी उत्पादन गर्दथे । ती सबै कुराहरु एकादेशमा बनी सकेको छ ।
गोंगबुँ क्षेत्रमा पहिला काठमाडौँ शहरका ठमेल, ठहिटी, असन, ज्याठा, नरदेवी, किलागल, यटखा आदि क्षेत्रका मानिसहरुका खेतबारी थिए । ती नै क्षेत्रका देवीदेवता, मठमन्दिर, पाटीपौवाका गुठीका जग्गा जमिनहरु थिए । तिनै क्षेत्रका नेवार दाजुभाईहरु सबै भन्दा पहिले यस क्षेत्रमा बसाई सरे । पछि विस्तारै नेपाल राज्यभरिका मानिसहरु आई खेतीयोग्य जमिनमा घर बनाई बसोबास गरे ।
हाल यसक्षेत्रमा अव्यवस्थित शहरको रुपमा परिणत भैसकेको छ । बिना योजना, बिना उद्देश्य आ आफ्नो इच्छाले बनाइएका बसोबासका कारण खानेपानीको समस्याभएको हो । बाटोघाटोको समस्या हुँदाहुँदै पनि दिनप्रति यस क्षेत्रमा जग्गाको कारोबार भैरहेको पाईन्छ । यहाँका मौलिक स्थानीय क्षेत्रको नामहरु समेत मेटिंदै गईरहेको हामी पाउँछौँ ।
हिजो काठमाडौँ भित्रैका जनताहरुले सानोतिनो छाप्रो र टहराहरु खेति किसानीको लागि सुविता होस् भनेर वस्ती बसालेको हो । आज अनियन्त्रितरुपमा घनावस्तीको रुपमा परिवर्तन भएको छ । राज्य गतिलो र प्रकृतिमैत्री नीति नहुँदा आज यस्तो अवस्था आएको हो । काठमाडौंका उपत्यका भन्दा बाहीरबाट आएका शासकहरुले नै यहाँ जथाभावी घर बनाउने बद्मासी गरेकाले यस्तो अवस्था आएको हो भन्दा खासै फरक पर्दैन । हिजो विष्णु मतिमा एउटा पनि पुल थिएन ।
आज सयौँ पुलहरु बनिसकेका छन् । नदीलाई नियन्त्रण गर्न नदिको दायाँबायाँ पर्खालहरु उठाई सकेका छन् । अझ नदीको दायाँ बायाँ दुई किनारामा सडकहरुको विस्तार भैसकेको छ । हिजो पुलै नभएको बेलामा यहाँका परिश्रमी र धर्ममा अस्था राख्ने हाम्रा पुर्खाहरुले आफ्नै सीप र बुद्धिले भ्याएसम्मको उपाय निकालेर नदी तर्न उपायहरु निकालेका थिए । उपायहरुमध्ये एउटा उपाय हो, काठको साँघु बनाउने तरिका ।
यसलाई नेवारीमा ताँ भनिन्थ्यो । बटुवा तथा खेतीकिसानी गर्नेहरुलाई सजिलो होस् भनेर यस्ता काठका साँघुहरु ठाउँ ठाउँमा राखेको हुन्थ्यो । ती साँघुलाई व्यवस्थित गर्न गुठीको व्यवस्था समेत गरिएको हुन्थ्यो ।
साँघु राख्ने गुठीलाई ताँ गुठी भनिन्थ्यो । वर्षको एक पटक गुठीयाहरु चोभारको जलविनायक अथवा क्वयाना गणेघ मा गई नदीले नबिगारोस् भनेर पुजा गरी प्रसादको रुपमा भोज खाई आउँथे । वर्षभरिलाई साँघु बनाउन खर्चको हिसाब किताब तथा एक आपसमा चन्दा उठाउने अथवा आआफूले स्वइच्छले राख्ने गरिन्थ्यो ।
हरेक वर्षमा विष्णुमति नदीमा बटुवा तथा किसानहरुलाई विशेषगरी जाडो मौसममा आवत जावत गर्न सजिलो होस् भनी काठको साँघु राख्ने वर्षात्को समयमा बाढीले साँघुलाई नाबगायोस् भनेर गुठीका गुठीयारहरुले निकालेर राख्ने व्यवस्था गरिएको हुन्थ्यो । हरेक वर्ष तिहारको गोवद्र्धन पुजा नेवारी भाषामा म्ह पुजा वा नयाँ वर्षको शुरु दिनमा काठको साँघु राखिन्थ्यो ।
जब गर्मी चढ्न शुरु हुन्छ, अनि हरेको वर्षको वैसाख १ गतेको दिनदेखि कोतको साँघुलाई निकालेर गुठीयारहरुको घरमा सुरक्षित साथ राख्ने गरिन्थ्यो । ताँ गुठीको पुजा हरेक वर्षको मङ्सिर महिनाको पूर्णिमा गर्ने चलन चलाएको थियो । गुठीयारहरुले धान अन्न उत्पादन गरी गुठी पुजा संचालन गर्न जग्गा दाताले जग्गा समेत दिइराखेको हुन्थ्यो । यसको उदारारण दिवंगत रामकृष्ण महर्जनले जग्गा प्रदान गरेको कुरा सेवा दर्पण पत्रिकामा उल्लेख गएको गएको छ ।
हाल विष्णुमति नदी माथि पक्की पुलहरुको धमाधम निर्माण कार्यले गर्दा उक्त गुठी लोप हुँदै गइसकेको छ । एउटा सामाजिक कार्यको निमित्त नेवार समुदायमा एक आपसमा मिलेर गुठीको व्यवस्था समेत गरी राखेको हुँदो रहेछ भन्ने यो एउटा सानो प्रमाण हो । मानव सभ्यता एकै चोटी यो अवस्थामा आएको होइन ।
विभिन्न कालखण्डमा विभिन्न समुदायहरुले आफ्नो तर्फबाट बुद्धि विवेक प्रयोग गरी आजको दिनसम्म आइपुगेका हौँ । यसैक्रममा नेवार समुदायभित्र प्रचलनमा आएका अनगिन्ति यस्ता राम्रा, समाजका लागि नभई नहुने कार्यहरु आज दिन प्रतिदिन लोप हुँदै गइरहेका छन् । हाम्रा भावी पुस्ताहरुलाई सिकाउँदै जानु पर्ने सामाजिक उत्तरदायित्वमा कार्यहरु बचाई राख्नु आजको आवश्यकता र अपरिहार्यता हो ।
हिजो पक्की पुल नहुँदा कोतको साँघु राखेको गुठी आज पक्की पुल भएपछि चुप लागेर अथवा गुठी नै समाप्त गर्नुको साटो उक्त गुठीले नदी वरपर सरसफाईमा ध्यान दिन सके सुनमा सुगन्घ हुन्थ्यो ।
समयको क्रममा मानिसहरुलाई आवतजावत गर्नका लागि बनाइएका यस्ता टाँड वा काठेपुलहरु आज विकासका नाममा विस्थापित भएका छन् । यी चीजको विस्थापनसँगै समाजमा विकसित भएका यी वस्तुहरु पनि लोप भएका छन् ।
यी चीजहरु लोप भएपनि तिनीहरु सित जोडिएर आएका संस्कारहरुलाई जोगाउन आवश्यक छ । तर जोगाउने नाममा अन्धविश्वासले जकडिएका मान्यताहरुलाई भने फालेर नयाँ कुराको बीऊ रोप्न सके समाजलाई नयाँ गति दिन सकिन्थ्यो ।