• फाल्गुन २६ २०८२, मंगलवार

रुस विरुद्ध लड्ने मोर्चा बनाउन बेलायतका प्रधानमन्त्री फिनल्याण्ड भ्रमणमा

बैशाख २८ २०७९, बुधबार

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सन रुस-युक्रेन युद्धबारे छलफल गर्न स्विडेन र फिनल्यान्डको भ्रमणमा गएका छन् । अहिले ती दुवै मुलुक आफैं पनि नेटोको सदस्यता लिने वा नलिने भन्नेबारे गम्भीर छलफलमा जुटिरहेका छन् ।

बुधबारबाट भ्रमण सुरु गरी जोन्सनले २४ घन्टाभित्रै दुवै मुलुकका नेताहरूलाई भेटिसक्ने कार्यक्रम रहेको छ । उनले युक्रेनमा जारी रहेको रुसी फौजको आक्रमणबारे युरोपको प्रतिक्रियाका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

जोन्सनका प्रवक्ताले यो भ्रमण युरोपको थप बहत् सुरक्षाबारे केन्द्रित हुनाले प्रधानमन्त्रीले यी बृहत् सुरक्षा विषयहरूमा छलफल गर्ने बताएका छन् ।

ती दुई मुलुकले नेटोको सदस्यता लिने सम्भावनाबारे पनि छलफल होला त ? भन्ने प्रश्नको जवाफमा प्रवक्ताले नेटोको सदस्यता जस्तो विषयमा निणर्य गर्नका लागि प्रजातान्त्रिक क्षमतालाई समर्थन गर्ने बताए ।

जोन्सनले स्वदेश फर्किनुअघि दुवै मुलुकमा पत्रकार सम्मेलन गर्ने भएका छन् । रुसका विरुद्ध फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल गराउने उद्धेश्यले जोन्सन ती देशको भ्रमणमा गएको अन्तराष्ट्रिय विश्लेषकहरले बताउने गरेका छन् ।

दोश्रोे विश्वयुद्धको समाप्तिसँगै गठन भएको नेटोमा हाल ३० वटा राष्ट्र सदस्य रहेका छन् । ब्रसेल्समा प्रधान कार्यालय रहेको नेटोमा अमेरिकाको बृहत् सेना र आणविक क्षेप्यास्त्र शक्तिको हावी रहेको छ ।