नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेपछि नबिल बैंक मुलुककै दोस्रो ठूलो वाणिज्य बैंक बन्ने भएको छ । यी दुवै बैंकले आगामी ७ जेठका लागि विशेष साधारण सभा बोलाएका छन् ।
नबिल बैंकको एक कित्ता सेयर बराबर बंगलादेश बैंकको ०.४३ अनुपात हुने गरी प्राप्ति हुन लागेको हो । अर्थात् अब नेपाल बंगलादेशको एक सय कित्ता सेयर हुनेले नबिलको ४३ कित्ता सेयर पाउने छन् ।
नेपाल बंगलादेशलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नबिल बैंक नै रहनेछ । यो प्राप्तिपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ । हाल नबिलको १८ अर्ब ४९ करोड चुक्तापुँजी छ भने नेपाल बंगलादेशको १० अर्ब ८ करोड रूपैयाँ छ ।
चुक्तापुँजीको आधारमा अब बन्ने नबिल दोस्रो ठूलो वाणिज्य बैंक बन्नेछ । खुद ब्याज आम्दानी, कुल सञ्चालन आय, सञ्चालन आम्दानी, नाफा लगायतका आधारमा भने निजी क्षेत्रको पहिलो बैंक भएको कम्पनीको दाबी छ ।
हाल सबभन्दा धेरै चुक्तापुँजी (२३ अर्ब ७९ करोड रूपैयाँ) सहित ग्लोबल आइएमइ देशकै ठूलो बैंक हो ।
मर्जर समिति सदस्य नबिल बैंकका प्रमुख वित्तीय अधिकृत मनोज ज्ञवालीका अनुसार प्राप्तिपछि नबिलको शाखा संख्या दुई सय ४८ पुग्नेछ । हाल नबिलका एक सय ४८ र नेपाल बंगलादेशका करिब एक सय शाखा छन् ।
नेपाल बंगलादेशमा निक्षेप खाता खोलेका वा कर्जा लिएकाहरू अब नबिल बैंककै ग्राहक हुने छन् । प्राप्तिपछि नबिल बैंकको निक्षेप संकलन ३ खर्ब १६ अर्ब रूपैयाँ र कर्जा लगानी २ अर्ब ९७ करोड रूपैयाँ पुग्नेछ ।
प्राप्तिपछि नबिल बैंकमा कुल ७ सदस्यीय सञ्चालक समिति हुनेछ । यो सञ्चालक समितिमा नेपाल बंगलादेश बैंकबाट एक जनाले प्रतिनिधित्व गर्ने सम्भावना छ । त्यस्तै हाल नेपाल बंगलादेशका सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगाना अब बन्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना रहेको स्रोतले बताएको छ ।
यता नबिल बैंकका हालका प्रमुख कार्यकारी अधिकृतको चार वर्षे पहिलो कार्यकाल पनि लगभग अन्त्य हुन लागेको छ ।
नेपाल बंगलादेश बैंकमा रहेको आइएफआइसी बैंक, बंगलादेशको सेयर यसअघि नै नबिल बैंकका प्रवर्द्धक तथा अर्बपति विनोद चौधरीकी श्रीमतीको नाममा खरिद गरिसकिएको छ । आइएफआइसी बैंकको नेपाल बंगलादेश बैंकमा ४०.९० प्रतिशत सेयर थियो । हाल नबिल बैंकमा विनोद, उनकी श्रीमती शारिका र छोरा निर्वाणको २.२८ प्रतिशत सेयर छ ।
चौधरी समूहको कम्पनी एनबी (इन्टरनेसनल) लिमिटेडको नामबाट पनि ४८.६९ प्रतिशत सेयर छ । प्राप्तिपछि नेपाल बंगलादेश र नबिल दुवैतर्फको सेयर स्वामित्व मिलाएर चौधरी समूहको करिब ४८.८८ प्रतिशत हुने भएको छ ।