• मंसिर २० २०८१, बिहीबार

चुनाव : एक पटक खर्च गर्ने पाँच वर्ष कमाउने गजबको मेसो !

बैशाख २७ २०७९, मंगलवार

म भोकले छटपटाइ रहेको थिएँ । भोकले हिंड्न नसकेर बाटो नजिकको चौतारीमा बसेको थिएँ । बाटोको किनारामा कुकुरहरू पुच्छर हल्लाई हल्लाई आची खाइरहेका थिए । एउटा कुकुर भन्दै थियो,‘आहा मैंले खाएको आची त क्या गजबको रैछ ।

यो आची गर्ने मान्छेले बेलुका पक्कै चिकन खाएको हुनु पर्छ ।’ यो सुनेर एउटा कुकुर दौड्दै गयो र भन्यो,‘साले.. अघि नै भन्नु पर्दैन ? मैले खाएको आची त कस्तो सुख्खाराम थियो । सायद त्यो आची गर्ने मान्छेले पानी र सातु खाएको थियो कि ?’

ऊ धमाधम आची खान थाल्यो । तेश्रो कुकुरले चिच्याउदै भन्यो,‘आहा….मैंले त खप्परमै लेखेर ल्याएको रहेछु । मैंले खाएको आची हग्ने मान्छेले त बेलुका मटन खाएको हुनु पर्छ । त्यो पनि बोनलेस । अझ पक्कु लगाएको । दिसा जस्तो पनि छैन । क्या स्वादिलो । क्या बास्नादार ।’
यो सुनेर अघिल्ला दुई कुकुरहरू त्यतै दौडिए र भने,‘साला अवसरवादी, भन्नु पर्दैन ? एक्लै घिच्ने मिठो मसिनो ?’

म ट्वाल्ल परेर हेरिरहें कुकुरहरूको गतिविधि । म लम्पसार परेको देखेपछि एउटा कुकुरले सोध्यो,‘मान्छे दाई, मान्छे दाई तपाईं किन निरास हुनुहुन्छ हँ ?’ मैंले आफूलाई बेस्सरी भोक लागेको कुरा सुनाएँ । कुकुरले मलाई जिस्काउँदै भन्यो,‘अर्को विकल्प नहुन्जेलसम्म हामीसँगै आची खाने पो हो कि दाई ?’

मलाई कुकुरको कुरा मन परेन । मैंले सोचें म त मान्छे पो हुँ त । भोक लाग्यो भनेर बाघले घाँस र मान्छेले आची त खाँदैन नि । फेरि झल्याँस्स चुनावको रन्को सम्झें । देशमा ऐले चुनावको रन्को छ । यो ब्यवस्थामा जसलाई भोट हाले पनि केही हुंदैन भन्ने सबैलाई थाहा छ ।

चुनावमा गरेको खर्च ब्याजको स्याज उठाउँछन् भन्ने पनि थाहा छ तर मान्छे तातो घाममा झण्डा बोकेर कुदेको छ । लाठा बोकेर कुदेको छ । जिन्दावाद र मुर्दावाद भन्दै कुँदेको छ । पाँच वर्षसम्म ठग दुईजिब्रे पक्षपाती भ्रष्टाचारी भनेर गाली गरेकै मान्छेलाई काँधमा बोकेर गधा बनेर कुँदेको छ । उसलाई ए….साथी यसरी नकुँदे हुँदैन ? भनेर सोध्यो भने उल्टै प्रश्न तेस्र्याउँछ,‘ विकल्प के छ ?’

ए साथी चुनावमा भोट नहाल्दा हुँदैन ? भन्यो भने तात्तातै जवाफ फर्काउँछ,‘विकल्प के छ ? अरेयार विकल्प नै विकल्प छन् नि ।

यो ब्यवस्थामा जसलाई भोट हालेर जिताए पनि जनताका आधारभूत आवश्यकताहरु पुरा हुँदैनन् भन्ने कुरामा तपाईं विश्वस्त हो भने ठूलो तहल्का मच्चाउन सक्नु भएन भने पनि म मेरो भोट कुनै एउटा चोर छान्ने प्रयोजनको लागि दिन्न भनेर त बस्न सक्नु हुन्छ नि ! क्रान्तिकारी परिस्थिति निकै अनुकूल छ भने निर्वाचनलाई खारेज गर्ने गरी गतिविधि गर्न पनि सकिएला ।

हैन परिस्थिति कमजोर छ भने जनतालाई भोट नहाल्न अपील गर्दै सामान्य गतिविधि पनि गर्न सकिएला । जे गरे पनि क्रान्तिकारीहरूले बुर्जुवाहरुको उत्सवमा भाग लिने भन्दा त्यसलाई खारेज गर्न भण्डाफोर गर्ने कुरा मुख्य हो ।

विभिन्न बहानामा (दश बुँदे व्याख्यात्मक टिप्पणी जस्तै) गरेर चुनावमा चोपलिनु भनेको बुर्जुवाहरूको उत्सवमा सहभागि हुनु हो ।

कुकुरले आची खायो भनेर विकल्प नभएको बहानामा आची नै खाएर पेट भर्ने र अन्ततः कुकुरसँगै मिसिने कि बरु भोक खप्ने भन्ने त हुन्छ होला नि ?

अब जजस्लाई बुर्जुवा भोक प्यास लागेको छ, संसदीय फोहोर मैला देख्दा घिन हैन मजा लाग्छ, जाल झेल षडयन्त्र गर्नु राजनीतिको अनिवार्य शर्त हो भन्ने लाग्छ, जसलाई कम्युनिष्ट पार्टीको झण्डा केवल जनता ठग्न प्रयोग गर्नु परेको छ र भित्र भित्र अरु नै धन्दा गर्नु परेको छ, तिनीहरूको लागि भने चुनाब एक पटक खर्च गरेर पाँच वर्ष कमाउने गजबको मेसो भएको हुनाले उनीहरु जे सुकै गरुन् ।