काठमाडौं । अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले ग्रामिण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत नियमित सडक मर्मत सम्भार र रुख विरुव रोप्ने काममा अनियमिमता गरेको भन्दै ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ३ जना सरकारकी कर्मचारी र ३ जना ठेकेदारविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले कुमार गोईत र इन्जिनियर उग्रानन्द पाठकविरुद्ध जनही ६६ लाख ६४ हजार ६९२ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै, लेखापाल छत्र बहादुर श्रेष्ठविरुद्ध २ लाख ५४ हजार ७१० रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारले माँ जाकी निर्माण सेवाका सञ्चालक भुपेन्द्र यादवविरुद्ध २१ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ। यस्तै, एभरेस्ट निर्माण सेवाका सञ्चालक विजय कुमार यादवविरुद्ध २६ लाख ५४ हजार र अन्नपूर्ण कन्सट्रक्सनका सञ्चालकविरुद्ध १९ लाख १० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
साविकको जिल्ला प्राविधिक कार्यालय, सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाइ गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याइ काम गरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
उजुरीका सम्बन्धनमा अनुसन्धान गर्ने क्रममा तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ।
वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरी, सोही गलत विवरण समेतलाई समेटी झुटा बिल भरपाइ ६६ लाख ६४ हजार ६९२ रुपैयाँ बराबरको रकम हिनामिना गरेको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
उनीहरुले ठेकेदार कम्पनी माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा आफुलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।