• मंसिर ८ २०८१, शनिबार

कांग्रेससँग माओवादी-एकीकृत समाजवादी सशंकित, स्थानीय नेता-कार्यकर्ताले बागी उम्मेदवारी दिएर अन्य दललाई सहयोग गरेको गुनासो

बैशाख २७ २०७९, मंगलवार

काठमाडौं । सत्ता गठबन्धनले विभिन्न पालिकामा तालमेल गर्दै साझा उम्मेदवारी दिए पनि कांग्रेसको पूरै मत आफ्ना उम्मेदवारलाई आउनेमा सहयात्री दल माओवादी र एकीकृत समाजवादी ढुक्क देखिएका छैनन् ।

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनपछि गठबन्धन टुट्ने दाबी गरिरहेकाले पनि सत्तारूढ दलहरू आपसमा सशंकित देखिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभामा स्थानीय प्रसंग उठाएर कांग्रेसका तर्फबाट अपेक्षाकृत सहयोग नभएको संकेत गरेका छन् । ‘गठबन्धन अझै प्रस्ट भएको देखिनँ ।

यहाँ (कैलारी गाउँपालिका) का हाम्रो पार्टीका उम्मेदवारलाई जुनसुकै रूपमा भए पनि जिताउन अपिल गर्न चाहन्छु,’ दाहालले भनेका छन्, ‘यहाँ कांग्रेसको कसैले उम्मेदवारी दिएको छ, यो खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । हाम्राविरुद्ध कुनै खालका धोका, बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।’

पाँच दलीय गठबन्धनको आइतबार पोखरामा आयोजित चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको भूमिकामाथि प्रश्न उठाए । ओलीले प्रधानमन्त्री पद गुमाएको उदाहरण दिँदै उनले दम्भ राख्ने दल र नेताको भविष्य नहुने भएकाले कांग्रेसलाई इमानदारी देखाउन आग्रह गरेका थिए ।

‘धेरै दम्भी हुँदा ओलीले प्रधानमन्त्री गुमाए । हामीले पनि दम्भ पाले त्यस्तै नियति भोग्नुपर्ने हुन्छ,’ नेपालको भनाइ थियो, ‘कहिलेकाहीं कांग्रेसमा दम्भ देखिन्छ । दम्भ पाले केपीकै हालत हुन्छ । ठूलो सानो नभनौं र सबैको अस्तित्व स्विकारौं ।’

सभामा माओवादी अध्यक्ष दाहालले ओलीको अभिव्यक्ति र कांग्रेसको असन्तुष्ट समूहतर्फ लक्ष्य गर्दै भनेका थिए, ‘गठबन्धन टुटाउने प्रयास र षड्यन्त्र चलिरहेको छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।