• मंसिर ८ २०८१, शनिबार

आज रातिदेखि मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?

बैशाख २७ २०७९, मंगलवार

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ । यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

‘मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ ।’

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ । सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोष्ट वा सेयर गर्न गराउन आयोगले रोक लगाएको छ ।

पौडेलका अनुसार निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ । एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

अस्पतालका चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावशक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।

मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय आयोगले गरेको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।