• मंसिर ८ २०८१, शनिबार

विद्यालयमा दुई दिन बिदाबारे सरकार नै अन्योल : शिक्षा मन्त्रालय के भन्छ ?

बैशाख २७ २०७९, मंगलवार

काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ ।

यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् ।

विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले शिक्षण संस्था सातामा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनु आफूहरूको कर्तव्य भएको जनाएको छ ।

मन्त्रालय दुई दिन बिदा हुँदा विद्यार्थीको सिकाइमा पर्नसक्ने असरलाई कसरी पूर्ति गर्ने विषयमा पनि छलफल भइरहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।