• माघ १७ २०८१, बिहीबार

यस्ता छन्, विप्लवलाई कारवाही गरी बनेको नेकपा बहुमत पार्टीका प्रतिवद्धता र माग

बैशाख २६ २०७९, सोमबार

काठमाडौं । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएको नेकपा बहुमत पार्टीले आज आफ्नो पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन मार्फत् सो पार्टीले आफ्नो पार्टीको आगामी रणनीति तथा कार्यनीति सार्वजनिक गरेको हो । पार्टीको नीति सार्वजनिक गर्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने बताए ।

कार्यक्रमा वितरित प्रेस विज्ञप्तिमा सो पार्टीको कार्यक्रम, कार्यदिशा र कार्यनीति क्रमशः वैज्ञानिक समाजवाद, एकीकृत जनयुद्ध र स्वाधीन संयुक्त सरकार हुने उल्लेख छ । यस्तै पार्टीको कार्यनीतिक कार्यक्रम राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधीनता हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

मुल पार्टी नेकपाभित्र विवाद भएपछि वैशाख २१ देखि २३ गतेसम्म चितवनमा चलेको राष्ट्रिय भेलाले नयाँ पार्टी नेकपा बहुमत गठनको निर्णय गरेको थियो ।

भेलामा उपस्थित शिर्ष नेताहरुले आफ्नो पार्टीका पूर्वमहासचिव विप्लव स्थानीय चुनावमार्फत् संसदीय व्यवस्थामा गएको बताका थिए । भेलामा बोल्ने नेताहरुले विप्लवले गत चैत्रमा भएको नेकपाको केन्द्रीय समिति बैठकको निर्णय उल्लंघन गरेर केन्द्रीयहरुलाई नै चुनावमा पठाएको दावी गरे ।

केन्द्रीय समिति बैठकमा विप्लवले पार्टीले चुनावमा भाग लिने प्रस्ताव गरेपनि बैठकमा उपस्थित बहुमत केन्द्रीय सदस्यहरुले अस्वीकार गरिदिएका थिए ।

त्यसपछि नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीको पहलमा तत्काल पार्टी चुनावमा नजाने बरु कोही जान चाहेमा पार्टीबाट राजिनामा दिने र स्वतन्त्ररुपमा उमेदवारी दिएका देशभक्त र एमसीसी विरोधीहरुसित चुनावी तालमेल गर्न सकिने निर्णय भएको थियो ।

तर पार्टीको बहुमत केन्द्रीय सदस्यहरुले पास गरेको यो निर्णयलाई विप्लव र प्रकाण्डले मिचेर केन्द्रीय सदस्यहरुलाई नै चुनावमा उठाउन पठाएपछि उनीहरुसित बास्तोला पक्षको विवाद बढेको थियो । विवाद बढिरहँदा विप्लवले बास्तोला र हेमन्त वलीलाई कारवाही गरेको बताइएको थियो भने लगत्तै विप्लवलाई नै उनीहरुले कारवाही गरेका थिए ।

बास्तोलाले विप्लवले राखेको संसदीय चुनावमा जाने प्रस्तावलाई बहुमत केन्द्रीय सदस्यले खारेज गरिदिएका कारण सोही बहुमतको आधारमा विप्लवलाई कारवाही गरिएको पार्टीलाई निरनतरता दिएको बताए । उनले संगठनात्मक संख्याको आधारमा नभई विचारधारात्मक बहुमतको आधारमा आफूहरुले पार्टीलाई निरन्तरता दिएको बताए ।

आजको पार्टी घोषणासभामा विशेष राष्ट्रिय भेलाले पारित गरेको ७ बुँदे समसामयिक प्रस्ताव पनि सार्वजनिक गरियो । जसमा सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको छ । यस्तै घोषणापत्रमा संसदीय व्यवस्थामा नअल्झिने तथा महँगी, भ्रष्टाचार तथा एमसीसीको विरोध गरिएको छ ।

यस्तै सो पार्टीले जनतासामू ८ बुँदे प्रतिबद्धता पनि जनाएको छ । जनतामाथि फेरि पनि धोका नहोस् भनेर राष्ट्रिय भेलाबाट ८ बुँदे प्रतिबद्धता जनाइएको संयोजक धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

साथै घोषणापत्रमा आफ्नो पूर्वपार्टी र सरकारका बिचमा भएका ३ बुँदे सहमतिहरु पलना गर्न माग गरिएको छ । जसमा जेलमा रहेका बन्दीको रिहाइको माग प्रमुख रहेको छ । जनतालाई संसदीय वयवस्थाको भ्रममा नपरी भ्रष्टाचार र महँगीका विरुद्ध सडक संघर्षमा आउन अपील गरिएको छ ।

त्यस्तै अमेरिकाकै कारण रुस र युक्रेन बिच युद्ध भएको भन्दै नेपाल सरकारले युक्रेनलाई दिएको समर्थन फिर्ता लिन पनि माग गरिएको छ । साथै घोषणापत्रमा सहिदका सपना पूरा गर्ने बाचा पनि गरिएको छ ।

त्यस्तै आज जारी गरिएको प्रेस विज्ञप्तिमा संसदीय संशोधनवाद विरुद्ध संघर्ष गर्ने प्रथितवद्धता पनि गरिएको छ । आजैदेखि साँस्कृतिक क्रान्तिलाई अघि बढाउने भनिएको सो विज्ञप्तिमा राजनीतिक कार्यदिशाको रुपमा एकीकृत जनयुद्ध, तत्कालीक कार्यनीतका रुपमा स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता र सामाजिक रुपान्तरणका लागि प्रतिवद्धता जनाइएको छ ।

साथै विज्ञप्तिमा पार्टीलाई विचलनबाट रोक्नका लागि सामूहिक नेर्णय प्रणाली र व्यक्तिगत उत्तरदायित्व सहितको मोलमावादी संगठनात्मक मान्यतालाई पालना गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।