• बैशाख ६ २०८२, शनिबार

यसरी ज्यानको बाजी लगाएर विद्यालय पुग्छन् बालबालिका

बैशाख २५ २०७९, आईतवार

मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलामा पढ्न जानका लागि बालबालिकाले प्राणको बाजी लगाउनु पर्छ । बाँदर लड्ने भीर, भिरालो पहिरो लडेको बाटो हरेक दिन साँझ–बिहान हिँड्छन् उनीहरू !

अबोध बालबालिका सामूहिक रूपमा लहरै लाम लागेर विद्यालयदेखि घरसम्म पुग्दा हजारौँ काल, गौँडा तथा गल्छेँडाहरू पार गर्दछन् । दैनिक विद्यालयसम्म पुग्दा र घर फर्कंदा उनीहरूले निर्दोषिताका साथ यस्ता अनगिन्ती जोखिम मोलिरहेका हुन्छन् ।

विद्यालय पुग्दा र फर्कंदा ७० जना विद्यार्थी जाँदा ३० मिटरसम्म निरन्तर भिरालो र फर्कंदा ठाडो उकाले साँघुरो बाटो भएर विद्यालय आउजाउ गर्न बाध्य छन् । कक्षा १ देखि ५ सम्म पढाइ हुने यो विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न आउने गर्दछन् ।

यस्ता बाटाहरू पानी परेका बेला निकै कष्टप्रद हुन्छन् । तर पनि विद्यार्थीका लागि यसको विकल्प नै छैन । वर्षा हुँदा बाटो निकै बिग्रन्छ ।

बाटो बिग्रदा विद्यालय जान र आउन निकै सास्ती हुने त्यहाँ अध्ययनरत बालिका चाउली तिरूवा बताउँछिन् । छायानाथ–रारा नगरपालिकामा बाटो निर्माणका लागि पहल भइरहे पनि यी बालबालिकाका लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तो हुन गएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर विक बाटो निर्माणको काम हुन नसकेको स्वीकार गर्छन् । त्यसो त मालिका आधारभूत विद्यालयमा खानेपानीको पनि समस्या छ ।

‘सडक मर्मत गर्ने क्रममा खानेपानीको पाइप काटिदिएकाले करिब पाँच महिनादेखि विद्यार्थीलगायत शिक्षकले विद्यालयको धाराको पानी उपभोग गर्न पाएका छैनन्’, अध्यक्ष विक बताउँछन् ।