• असार २५ २०८१, सोमबार

चुनावी चटारोका नेता : बहस गर्न बोलाएको त बोल्दै जुरुक्क उठ्दै जाँदै !

बैशाख २४ २०७९, शनिबार

तुलसीपुर, २४ बैशाख ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिबार घोराहीमा स्थानीय निकायको निर्वाचनमा उठेका उम्मेदवारहरुसँग चुनावी एजेण्डा सम्बन्धी बहस कार्यक्रम आयोजना गर्यो । त्यहाँ विभिन्न पार्टीका मेयर पदका उम्मेदवारहरु झिमझिम् पानी पर्दापनि कार्यक्रस्थलमै बसिरहे ।

आफ्ना कुराहरु कसैले पढेर कसैले बोलेर खुरुखुरु राखेका थिए । सुरुमा मंगोल नेश्नल अर्गनाइजेशनका घोराहीको मेयर पदका उम्मेदवार कल्पना थारुले आफ्ना चुनावी एजेण्डा राख्नुभयो । उहाँले मंगोलाई मूलवासी बनाउने र भ्रष्टाचार मुक्त, सुशान युक्त नगर बनाउने बताउनुभयो ।

त्यसपछि राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोकाले आफुले चुनाव जितेपछि तलबभत्ता तथा पारिश्रमिक नलिने घोषणा गर्नुभयो र आफूले तयार पारेको घोषणापत्र पढेर सुनाउनुभयो । त्यसपछि राष्ट्रिय प्रजातनत्र पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार सरिता देवकोटाले मन्तव्य राख्नुभयो ।

घुस लिने र दिने आमाको रगत खाए सरह हो भनेर घोषणा गर्दा धेरैले रुचाए । उहाँले घोराही उपमहानगरपालिकाको भ्रष्टाचारले शिर निहुराउनु परेको र लज्जाबोध भएको बताउनुभयो । तरकारी निर्यात गर्ने स्तरमा उब्जाउने, महिलालाई सिप सिकाएर डलरमा कन्भर्ट गर्ने स्तर उकास्ने, विदेशबाट बाकसमा आउनेलाई सहयोग गर्न राहतकोष खडा गर्ने, जथाभावि प्लटिङ रोक्ने र खोलाका ढुंगा गिट्टी वालुवा गैह्रकानुनी हिसावले उत्खनन् गर्न नदिने जस्ता प्रिय कुरा सुनाउनुभयो ।

एकिकृत समाजवादीका रामप्रसाद चौधरीले भने खास्सै व्याख्या गर्नुभएन । उहाँले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क बनाउने, समाजवाद उन्मुख समुन्नत राष्ट्र निर्माण गर्ने जस्ता कुरा राख्नुभयो ।

आफ्ना कुरा राखिसकेपछि उहाँहरु सबैजना अलिकति अगाडि पछाडि गरेर बाहिरीनुभयो । दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिनुभएका नेकपा एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले लामै व्याख्या गर्नुभयो ।

उहाँलाई उहाँका राजनीतिक सल्लाहकार अरुणकुमार शर्माले अत्याई रहनुभएको थियो । उमेदवार चौधरीले भने पाँच वर्षका सबैजसो काम व्याख्या गर्न भ्याउनुभयो । उहाँले आगामी योजना भनेर नयाँ भन्दा निरन्तरतामा जोड दिनुभयो ।

सबैभन्दा धेरै समय बोलेका चौधरीपनि भाषणपछि छोटै समय रोकिनु भएन । अन्तमा गठबन्धनका मेयरका उम्मेदवार हेमराज शर्मा डाएमण्डको मन्तव्य थियो । उहाँ बोल्दा प्रतिस्पर्धी उमेदवार एकजना पनि थिएनन् ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् दाङ जिल्ला सहइन्चार्ज शर्माले घोराहीलाई आत्मनिर्भर, समृद्ध र जनताका आवश्यकता प्रत्यक्षरुपमा पुरा गर्ने नगर बनाउन आफ्नो साझा उमेदावारी भएको बताउनुभयो ।

यसैगरी शैक्षिक हव बनाउन विभिन्न अनुसन्धान केन्द्रहरु स्थापना गर्ने, सबै बस्तीहरुमा व्यवस्थित बाटाहरु पुर्याउने, गौरवका आयोजनाहरु अघि बढाउने, दीगो विकास स्तरीय भौतिक पूर्वाधार, कृषि पेशामा आकर्षण बढाउने, बजारीकरण र मल र बीऊको सुविधा दिने लगायत व्याख्या गर्नुभयो ।

त्यसबेलासम्म केहि पत्रकार र कार्यकर्ता मात्रै थिए । बहस गर्ने अवस्थै रहेन । आफ्ना कुरा गर्ने गुनासा नसुन्ने भनेर केहि मर्मुरिएका थिए । आपसमै गुनगुन गरे । बहसको अर्थ बुझेनन् वा चुनावी कार्यक्रमले समय मिलाउन सकेनन् । वा कार्यक्रमको मर्म अनुसार गरेनन् । यहि विषयक कार्यक्रम शुक्रबार तुलसीपुर उपमहानगरपालिकामा भएको थियो ।

शुरुमै पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदीले आचार संहिता भित्र रहेर कुरा राख्न भन्नुभएको थियो । अरुलाई आक्षेप लगाउने, आलोचना गर्ने, व्यक्तिगत गाली गर्ने होइन आफ्ना एजेन्डा सुनाउनु भनिएको थियो ।

त्यहाँ पनि साना दलका उमेदवारबाट शुरुवात गरियो । जसपाका मेयरका उम्मेदवार टोपबहादुर महतराले भ्रष्टाचार अन्त्य गर्ने, स्वास्थ चौकीका पूर्वाधारहरु वडावडामा बनाउने विकास र निकासका लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभयो । उहाँ पछि गठबन्धन तर्फका एकिकृत समाजवादीका नेता जोगबहादुर रानाले आफ्ना एजेण्डा सुनाउनुभयो ।

सबै वडामा खेलकुद मैदान बनाउने, किसानका परिचय पत्र दिने र गैह किसानले अनुदान लिने अवस्था अन्त्य गर्ने लगायत बताउनुभयो । समयमै किसानका लागि मल र बीऊको व्यवस्था हुनेछ । उहाँको मन्तव्यमा प्रश्न गर्न लायक शंकास्पद आश्वासन थिएन ।

यसैगरी नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार टिकाराम खड्काले सडकलाई मापदण्ड अनुसारको फराकिलो बनाउने, शहरलाई ग्रिनसीटी बनाउन विशेष जोड दिने, विद्युत तथा केवलका तार भूमीगत राख्ने र नगर सुन्दर बनाउने, औषधोगिक शहर बनाई रोजगार सिर्जना गर्ने, एरपोर्टमा ४२ सिट माथिका प्लेन नियमित बस्ने व्यवस्था मिलाउने, गरीब र दलितको शिक्षामा सुनिश्चतता गर्ने, सामुदायीक सुरक्षा भत्ता घर घरै पुर्याउने, बबईबाट लिफ्ट खानेपानी तथा सम्भावित ठाउँहरुमा बोरीङहरु खन्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी मध्यपहाडी राजमार्गसँग दाङलाई जोड्ने र विकासको केन्द्रविन्द बनाउने, दुर्घटना राजमार्गलाई सुरुङमार्ग बनाएर दुर्घटना मुक्त बनाउने, एक गाउँ एक खेलकुद, एक गाउँ एक रोजगारी, १० हजार सुकुम्वासीलाई जमिन, सबै कामकाजलाई पारदर्शी गर्न डिजिटल प्रणालीमा लैजाने, मठ मन्दिर मश्जिद, गुम्बा र चर्च लगायतका संरचनाको उचित व्यवस्थापन गर्ने लगायतका चुनावी प्रतिबद्धता रहेको खड्काको भनाई थियो ।

सामान्य पोषकमा नपत्याउँदो गरी र सबै उम्मेदवार भन्दा ढिलो प्रवेश गर्नुभएकी एमालेको तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले धेरैको ध्यान खिच्नुभयो । उहाँले जापान पुगेर नेतृत्व केहो र कसरी गर्नुपर्छ भन्ने सिकेँ, डेभलपमेन्ट (विकास) बारे फिलिपिन्समा, सुशासन र क्वालिटी शिक्षा बारे अमेरीकामा शिक्षा लिएको छु भनेर आफ्ना मन्तव्य शुरु गर्नुभयो ।

वडावडामा दुईदेखि पाँच सय क्षमताका तालिम हल बनाउने र कृषि तालिम दिने, म्युजियम बनाउने, सडक बालबालिका लागि ठूलो क्षमताका आश्रम बनाउने, पानी खाने बोतल त्यहि छोड्नेलाई उचित सन्देश दिई सरसफाइ गर्ने, सबै १८ वर्ष सम्मका बालबालिकालाई अनिवार्य विद्यालय जाने व्यवस्था मिलाउने, कक्षा १२ सम्म निःशुल्क र अनिवार्य शिक्षा लागु गर्ने, ठूलो उमेर भएकालाई उमेर अनुसारको शिक्षा दिने बताउनुभयो ।

‘म अन्त उपचार जाने छैन’ उहाँले भन्नुभयो, ‘ठूला डाक्टर सुरक्षित तरिकाले बस्ने अवस्था सिर्जना गरी सबै रोगको उपचार यहिँ हुने व्यवस्था मिलाउने छु ।’ उहाँले आफ्नो योजनाहरु खरर्र सुनाउनुभएको थियो । महाभारतको जस्तो कथा सुनाउन नचाहेको पाँच दलीय गठबन्धनको तर्फका मेयरका उमेदवार गेहेन्द्र गिरीले बताउनुभयो ।

नेपाली कांग्रेस नेता गिरीले यस पालिको नगर सरकारले नियन्त्रणमा लिएका ठेला आफूले जित्ने बित्तिकै जस्को हो त्यसलाई फिर्ता दिने घोषणा गर्नुभयो । खनखोसर गर्ने हिलो धुलोमा मेहनत गर्ने किसानले अनुदान नपाएको उम्मेदवार गिरीको भनाई थियो ।

चर्चेकै घर जग्गामा सुकुम्वासीलाई जग्गा दिइने, जमिनमा स्वामित्व दिलाएर बैंक र साहु कार्न सजिलो बनाइदिने, नगर सरसफाई गर्ने, खाल्टा पुर्ने, ग्रीनसिटी बनाउने र खाली जमिनमा चरीचरण बन्द गरी वृक्षारोपण गर्ने लगायतका एजेण्डा रहेको सुनाउनुभएको थियो ।

यसैगरी संस्कृतिको जगेर्ना गरेर नेपाली भाषा, संस्कृति, संस्कार समाप्त हुन नदिने, किसानलाई हलो, उन्नत बीऊ, मल र कृषि तालिम दिएर उत्पादन बढाउने, तुलसीपुर एयरपोर्टको स्तर उन्नती गर्ने र इन्धन डिपो स्थापना गर्ने बताउनुभयो ।

उहाँले बाटो, विजुली, सिचाई र सञ्चारका क्षेत्रमा काम गर्ने र गर्न सकिनेमा मात्रै बोल्ने बताउनुभयो । सय वर्षछि पनि पुरा हुने सपना नबाँड्ने भनाइ थियो । उहाँका अनुसार बालबालिका भुईंमा बसेर पढ्छन, सरकारले निःशुल्क दिने भनेका ३७ औषधि पाइँदैन, फुसका छाना प्रशस्तै छन् हटाउनु छ , खोलामा पानी खोस्रेर खान्छन्, खेतमा उत्पादन भएका तरकारीले बजार पुगेका छैनन् । यातायात नपुगेका बस्ती धेरै छन् , डोका र खटौलीमा बिरामी अस्पताल ल्याइन्छ ।

उहाँ बोलिरहँदा साथमै बसेका एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्कालाई संकेत गरिरहनुभयो । हाँस्दै बोलेपनि दुवै उम्मेदवारले पटक पटक सवाल जवाफमा उत्रिन खोज्नुहुन्थ्यो । कार्यक्रम सञ्चालक पत्रकार महासंघका सचिव आरके सित्तलले विषयमा मोडिन संकेत गर्नुभयो । बोल्दा बोल्दै फेरि आपसी बहसमा उत्रिन थाल्ने काम पटक पटक भयो ।

उक्त बहसमा पत्रकारले खासै प्रश्न गरेनन् तर, मेयरका उमेदवारका बिचमा भने मन्तव्यकै क्रममा सवाल जवाफ भए । एउटा बोल्दा अर्काले कुरा काट्ने र आफ्नो पुष्ट्याईदिने अधैर्यता देखाएका थिए । यहि यस्तो गर्नेले फिल्डमा कति आचार संहिता उल्लंघन गरे होलान् भनेर टिप्पणी गरिएको थियो ।

आफैले दिएको समय भन्दा निकै ढिलो गरी उपस्थित भएका थिए । निर्धारीत समयमा कार्यक्रम गरिएन । तुलसीपुर उपमहानगरपालिका नजिकै रहेको द पार्क क्याफेमा बहस कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रमको अध्यक्षता दुर्गालाल केसीले गरेका थिए ।