• मंसिर ८ २०८१, शनिबार

विप्लवको पार्टी फुट उन्मुख, धर्मेन्द्र र हेमन्तप्रकाश नयाँ पार्टी खोल्ने तयारीमा

बैशाख २२ २०७९, बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा विवाद चुलिएको छ । पार्टीभित्रको एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने र पार्टीबाट निष्कासन गर्नेक्रम एकपछि अर्को हुँदा पार्टी फुटको संघारमा पुगेको छ ।

चितवनको पर्सामा बुधबार सुरु भएको पार्टीभित्रको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवबाट विप्लवलाई नै हटाएको छ । महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निष्कासन गरेको उक्त पक्षले जनाएको छ ।

केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले बताए । भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारीसमेत विद्रोही नेताहरूको छ ।

स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारबाही गर्नेसम्म पुगेको हो । पार्टीको नीतिविपरीत गएको भन्दै विप्लवले यसअघि नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।