काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् ।
उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो, राम्रो रहेको दाबी गर्दै आफूलाई मतदान गर्न सर्वसाधारणसँग अपिल गरिरहेका छन् । वैशाखको चर्को गर्मीबीच उनीहरूले बिहान र साँझको समयमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
आफू आबद्ध पार्टी र उम्मेदवारले घोषणा गरेको प्रतिबद्धतापत्र बोकेर उनीहरू सर्वसाधारणको घरमा पुगिरहेका छन् । आफू विजयी भए गर्ने विभिन्न काम’को जानकारी दिँदै मतदाता रिझाउने काममा अहिले उनीहरू लागिरहेका छन् ।
पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट सिर्जना सिंह र एमालेबाट पूर्व मेयर एवं बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत काठमाडौं महानगरको मेयरका उम्मेदवार रहेका छन् ।
यस्तै, पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ र एमालेबाट सुनिता डंगोललगायतका नेता उपमेयरका उम्मेदवार रहेका छन् ।
बलियो र पुरानो पार्टीबाट मेयरमा उम्मेदवारी दिएका नेतामाथि स्वतन्त्र उम्मेदवार रहेका बालेन शाह चुनौतीका रूपमा देखा परेका छन् । स्थानीयहरूले काठमाडौंमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।